Logo
Logo

यी मन्त्रीको विषयमा कुरा मिल्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असोज । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद् पुनर्गठनको विषयमा पटक–पटक छलफल भएर पनि मन्त्रिपरिषद् पुनर्गठन हुनसकेको छैन । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले मन्त्रिपरिषद् गठन गर्दा मापदण्ड बनाउनुपर्ने सुझाव दिइए पनि अहिलेसम्म मापदण्ड पनि बनाइएको छैन । अध्यक्षद्वयले मन्त्रिपरिषद्मा पठाउनुपर्ने सांसदहरुको लिष्ट आ–आफ्नो गोजीमा बोके पनि त्यो लिष्टमा को–को नयाँ अनुहार थपिनेछ भन्ने कुरा नेकपा सचिवालयका सदस्यहरुलाई पनि थाहा छैन । जे होस्, ढिलो चाँडो दशैँको मुखमा केही नयाँ अनुहारहरु मन्त्रीका रुपमा देखिनेछन् भने, धेरै पुरानै अनुहार दोहोरिने सम्भावना पनि छ ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति, भौतिक निर्माण तथा शहरी विकास र जलस्रोत तथा सिँचाइ मन्त्रालय फोड्नेसम्मको छलफलमा केही साता अगाडि अध्यक्षद्वयको सहमति भएको थियो । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भए पनि सरकार भने गठबन्धनजस्तै दुई पार्टीको भागबण्डामा चलेको छ ।

बालुवाटारका एकथरिले हल्ला चलाएजस्तो ओलीले रामबहादुर थापा ‘बादल’, वर्षमान पुन, लेखराज भट्ट र शक्ति बस्नेतलाई हटाउन नचाहेको तर, प्रचण्डले तिनीहरुलाई हटाउन चाहेको कुरामा कुनै सत्यता नभएको बालुवाटार स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार अहिले भएका मन्त्रीहरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, महिला बालिबालिकामन्त्री पार्वत गुरुङ र कानूनमन्त्री डा. शिवमाया तुम्वाहाम्फेलाई यथावत राख्ने कुरामा अध्यक्षद्वयबीच सहमति भएको छ । त्यसमा केही थपघट हुनसक्ने बताइन्छ । अन्य मन्त्रीहरुको हकमा तिनीहरुको कार्यक्षमता मूल्यांकन गर्ने भनिएको छ । नयाँ अनुहारका विषयमा अध्यक्षद्वयबीच छलफल भएको छैन । बालुवाटारमा कोरोना संक्रमण देखिएपछि सचिवालय बैठक पनि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्