Logo
Logo

‘बुढो भयो’ भन्नेलाई प्रचण्डको चुनौती- मसँग दौडिने कोही छ ?


819
Shares

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो उमेर र सक्रियतामाथि प्रश्न उठाउनेलाई कडा चुनौती दिएका छन् ।

सोमबार विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू युवाहरूसँग प्रतिस्पर्धा गर्न शारीरिक र मानसिक रूपमा पूर्ण तयार रहेको दाबी गरेका हुन् ।

आफ्नो सम्बोधनको अन्त्यमा प्रचण्डले भने, ‘मसँग दौडिने कोही छ ? मर्निङ वाक कति गर्ने हो, म तयार छु । हेभी एक्सर्साइज कति गर्ने हो, म युवाहरूसँग गर्न चाहेको छु ।’

उनले आफूलाई बुढो भयो भनेर टिप्पणी गर्नेलाई ‘भुईंफुट्टा, इतिहासविहीन र विचारविहीन’को संज्ञा दिए । प्रचण्डले १६ वटा पार्टी मिलेर बनेको नयाँ कम्युनिस्ट शक्तिले नै अब मुलुकमा वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारीको नेतृत्व गर्ने दाबी समेत गरे ।

प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अब सेना र प्रहरीको भर मात्र पर्न नहुने बताए । विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न ३ करोड नेपाली जनताकै ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने उनको भनाइ छ ।

‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ,’ प्रचण्डले भने, ‘अहिले तत्काल ठूला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउन सक्ने तागत हामीसँग छैन । तर, ३ करोड नेपाली जनताको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ । यदि त्यस्तो भयो भने दुनियाँको कुनै पनि शक्तिले नेपाललाई हराउन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्