Logo
Logo

पोखरामा आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान


882
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी र तोडफोड गर्ने रास्वपाका नेतासहित चार जना कारागार चलान भएका छन् ।

आन्दोलनका क्रममा पोखरा मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोड गरेको किटानी जाहेरीका आधारमा पक्राउ परेका रास्वपा पोखरा १० का सभापति चन्द्रबहादुर थापासहित चार जनालाई जिल्ला अदालत कास्कीले थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा थापासहित बिना मल्ल भनिने विमला सापकोटा, चिनबहादुर खवासलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

सोही घटनामा अर्का एक नाबालकलाई पनि पुर्पक्षका लागि सुधार गृह पठाइएको कास्की प्रहरीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए । घटनामा संलग्नताको आधारमा पक्राउ परेका चन्द्रका भाइ हरिबहादुर थापालाई भने २ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ ।

आन्दोलनको दोस्रो दिन उनीहरुले सरकारी सम्पत्तिसँगै मेयर आचार्यको घरमा आगजनी र तोडफोड गर्दै गरेको फोटो, भिडियो सार्वजनिक भएका थिए । आगजनी र तोडफोडको भिडियो र फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रास्वपाले थापालाई पक्राउ पर्नुअघि नै निलम्बन गरेको थियो ।

उनीसँगै मादी ६ का सभापति भोजराज पौडेल पनि निलम्बनमा परेका छन् । आन्दोलनको मौका छोपेर सरकारी र निजी सम्पत्तिमाथि क्षति पु¥याउनेलाई कास्की प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्