Logo
Logo

१७ सामुदायिक विद्यालयका १३५ छात्रालाई साइकल


- दृष्टि न्युज/संवाददाता


चितवन, २१ असोज । भरतपुर महानगरपालिकाले पश्चिम चितवनका ५ वटा वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ । जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजना अन्तर्गत साइकल हस्तान्तरण गरिएको हो ।

कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् । भरतपुर २२ को पटिहानीमा रहेको आधारभुत विद्यालयमा एक कार्यक्रम गरी महानगर प्रमुख दाहालले ५ वटा वडाका १७ वटा विद्यालयका १३५ जना विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण गरिन्  । प्रतिवडा २७ साइकलका दरले महानगरका १३, १४, २२, २३, २४ नम्बर वडाका विद्यार्थीलाई साइकल वितरण गरिएको हो ।

महानगरले १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना छ । बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन् । साइकल पाएपछि विद्यार्थीहरु निकै खुसी भएका थिए । श्री आधारभुत विद्यालय सुन्दरबस्तीमा कक्षा ४ मा पढ्ने छात्रा लक्ष्मी लामिछानेले महानगरले आफूलाई साइकल दिँदा निकै खुसी लागेको बताइन् । साइकल पाएपछि विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाईमा पनि निरन्तरता दिन सहज हुने उनले बताइन् ।

श्री शक्ति आधारभुत विद्यालय राधापुरमा कक्षा ८ मा पढ्ने विद्यार्थी सोनी अधिकारीले साइकल दिएकोमा भरतपुर महानगर प्रमुख रेनु दाहाल र महानगर परिवारलाई आभार प्रकट गरिन् । घरबाट स्कुल जाँदा धेरै किताब बोकेर जार्नु पर्ने, घरमा काम गरेर जाँदा ढिला पनि हुने हुँदा अब भने साइकल भएपछि बेलैमा विद्यालय जान सजिलो हुने उनी बताउँछिन् । साइकल पाएपछि पठनपाठनमा पनि निकै सहज हुने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख रेनु दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन् । महानगरका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाई छ । महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको मेयर दाहालको भनाई छ । १ सय २३ वटा सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको उनले बताइन् ।

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरका विद्यालयहरुको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर निकै लागिपरेको र सरकारी विद्यालयहरुलाई विद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्ने गरी महानगर लागेको बताए ।

अबको सिकाई प्रविधिमैत्री बनाउँदै अगाडि बढ्ने योजनाका साथ महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनु पर्ने अवधारणा अगाडि सारेको उनले बताए । महानगरले आफ्नो आन्तरिक स्रोतबाट मात्रै ९ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरी काम थालेको, केन्द्र र प्रदेश सरकारबाट पनि शिक्षामा पर्याप्त बजेट आएको उनले बताए ।  महानगर प्रमुख रेनु दाहालको सोचले नै विपन्न परिवारका छात्राहरुलाई साइकल वितरण कार्यक्रम सफल भएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले पछाडि परेका समुदायका छात्राहरुको शैक्षिक निरन्तरताको दर कम भएकाले विद्यालय तहको शिक्षा पूरा गराउने दायित्व स्थानीय सरकारको भएको र त्यसैका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्