Logo
Logo

पुनम कपालीको अद्भुत यात्राः नृत्यमै जीवन, नृत्यकै पहिचान


पुनम कपाली, डान्सर तथा कोरियोग्राफर

630
Shares

कीर्तिपुरमा जन्मिएकी उनी घरकी सबैभन्दा जेठी छोरी हुन् । सानैदेखि नृत्य भन्नेबित्तिकै औधी रुचाउने उनी ब्यान्डबाजा बज्दा सँगसँगै नाच्न पुग्थिन् । अहिले उनै पुनम कपाली कुशल डान्सर तथा कोरियोग्राफर बनेकी छिन् । उनी सम्झिन्छिन्– ९ कक्षामा पढ्दैगर्दा गुरु वसन्त श्रेष्ठले थाली डान्स सिकाउनु भएको थियो । पछि म थाली डान्समा प्रथम भएँ । त्यसपछि डान्समा झनै हौसिएँ ।’

९ कक्षा पढ्दै गर्दाखेरी नै पुनमले कोरियोग्राफी गर्न थालिन् । २००८ मा ‘मिस नेवाः’बाट मोडलिङ करिअर सुरुवात गरेकी पुनम इमेज च्यानलले आयोजना गरेको ‘प्रतिभा आँगन’मा पनि प्रथम भइन् । तामाङ सेलो, नेवारी झाँगड, थाली डान्स, मगर डान्स, गुरुङ डान्स लगायतमा दख्खल भएकी पुनम हाल ताल नृत्यभूमि नामक संस्था सञ्चालन गर्दै आएकी छिन् । एक सयभन्दा बढी स्टेज शोमा नृत्य प्रस्तुत गरिसकेकी पुनमसँग दृष्टिको जम्काभेट ।

हाल केमा व्यस्त हुनुहुन्छ ?
अहिले म ताल नृत्यभूमिमा डान्स सिकाउँदै आइरहेकी छु । जहाँ म बिहान, दिउँसो र बेलुकी क्लासहरू सञ्चालन गर्दैछु । दरबार हाइस्कुल, रोलिङ स्टोन, ओम एजुकेशन, टोड्लर्स एकेडेमी, सिताला माध्यमिक विद्यालयमा डान्स टिचरको रूपमा आबद्ध छु । साथै, केही प्राइभेट क्लास, वेटिङ फंशन, स्टेज पर्फर्मेन्सहरू पनि गर्दै आइरहेकी छु ।

यस क्षेत्रमा कति समय बिताइसक्नुभएको छ ?

सन् २००८ देखि प्रोफेसनल्ली नै यस क्षेत्रमा आबद्ध छु । यस क्रममा जीवनमा धेरै उताव–चढाव आए पनि मैले यस क्षेत्रलाई छोड्न सकिनँ । नृत्य नै मेरो जीवन हो । आफूसँग भएको प्रतिभा सबैमाझ बाँड्न पाउँदा म आफूलाई निकै भाग्यमानी ठानेकी छु । विभिन्न स्कुलहरूमा डान्स टिचर रहँदै आएकी छु । जहाँ, म मेरा विद्यार्थीहरूलाई हरेक किसिमका डान्सहरू सिकाउँदै आइरहेकी छु । १७ वर्षभन्दा पनि बढी समय यस क्षेत्रमा लगाइसकेकी छु । अझै धेरै गर्नुछ र गर्छु पनि । म आत्मसन्तुष्टि नै नृत्य गरेर पाउँछु । नृत्य मेरो जीवनको अभिन्न अंग बनिसकेको छ ।

समाजले तपाईंको पेशालाई कसरी हेरिरहेको छ ?

हिजोको दिन फर्केर हेर्दा समाजले नृत्य पेशालाई नकारात्मक तरिकाले हेथ्र्यो । तर, आज यसलाई तनावलाई हटाउने, शरीरलाई स्वस्थ राख्ने, आफूलाई तन्दुरुस्त पार्न, थेरापीको रूपमा पनि यसलाई लिँदै आइरहेको छ । आज यो पेशा निकै सम्मानित पेशा बन्न पुगेको छ । शरीरलाई स्फुर्त पार्नलाई नृत्यले निकै ठूलो भूमिका खेलेको हुन्छ ।

तपाईँमा कुन कुन डान्स फर्मको ज्ञान छ ?

एउटा कुशल डान्सर हुनका लागि सबै खालको डान्स फर्मको ज्ञान हुनु आवश्यक छ । म एक नृत्यको विद्यार्थी पनि हुँ । त्यसैले म अहिले पनि सिक्दै छु । अनुभवले पनि ज्ञानलाई बढाउँछ । कल्चरल डान्स, कन्टेम्परी डान्स, साल्सा डान्स, बि–बोइङ, हिपअप लगायत अधिकांश डान्सहरूको ज्ञान राखेकी छु ।

नेपालमा नृत्य संघहरू पनि छन्, कसरी काम गरिरहेको छ ?

नेपालमा नृत्य संघहरू छन्, जुन एकदम राम्रो कुरा हो । यस्ता संघहरूले सबैलाई एकबद्धता बनाउने काम गर्छ । भैपरी आएको खण्डमा अप्ठ्यारोलाई संघले सम्बोधन पनि गर्दछ । कमिकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नु निकै आवश्यक छ । यस क्षेत्रमा लाग्ने सबै व्यक्तिहरूको हकहितका लागि संघ अग्रपंक्तिमा आफूलाई उभ्याउनुपर्छ । संघहरूले सम्बन्धित सबैको समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ ।

राम्रो नृत्यांगना बन्न के कस्तो गुण हुन आवश्यक छ ?

सर्वप्रथम त त्यो व्यक्ति अनुशासित हुनु आवश्यक छ । निरन्तर अभ्यास, मिहेनतका साथै सकारात्मक हुनु आवश्यक छ । कुनै पनि क्षेत्रमा सफल हुनका लागि निरन्तरता पनि दिनुपर्छ । आफूभन्दा अग्रजलाई सम्मान र आफूभन्दा सानोलाई माया गर्न सक्नुपर्छ । सबैलाई समान व्यवहार गर्न सक्नुपर्छ । सिक्ने क्रम सधैँ जारी राख्न आवश्यक छ । नआएको कुरालाई पनि सिक्ने प्रयास गर्नुपर्छ ।

कुन उमेर समूहका व्यक्तिले नृत्य सिक्न सकिन्छ ?

नृत्य सिक्नका लागि कुनै उमेर हकबन्दी छैन । सानै उमेरदेखि नै नृत्य सिक्ने अभ्यासमा लाग्नुपर्छ । नृत्यले आफ्नो स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यसले थेरापीको भूमिका पनि खेल्छ । नृत्यले शरीरमा स्फूर्ति जगाउँछ । सबै खालका उमेर समूहले यसमा रुचि राख्न सकिन्छ । मेरो इन्स्टिच्युटमा पाँच वर्षदेखि ६५ वर्षसम्मको व्यक्तिहरू आउने गर्छन् ।

अन्त्यमा युवा पुस्तालाई के भन्न चाहनुहुन्छ ?

तपाईँ जुनै पनि काम गर्नुहुन्छ भने त्यसमा एकाग्रता, मिहेनत र लगनशील भएर लाग्यो भने जीवनमा सफलता प्राप्त हुन्छ । असम्भव भन्ने केही नै छैन । सकारात्मक सोच र सिक्ने अभिप्राय राख्नु निकै आवश्यक छ । आफूमा भएको प्रतिभालाई निखार्दै अगाडि बढ्न सक्नुपर्छ । कठिनाइलाई सामना गर्दै अगाडि हिँड्न सक्नुपर्छ । सफलतामा मात्तिनु र असफलतामा आत्तिनु हुँदैन । सबैमा दया, माया, प्रेम र सद्भाव राख्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्