Logo
Logo

मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता र सहमति आवश्यक छः अध्यक्ष प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकता र सहमतिको आवश्यक भएको बताउनु भएको छ । चितवनको खैरहनीमा बिहीबार कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नु भएको हो । उहाँले शिक्षा नै विकास र समृद्धिको आधार भएको भन्दै शिक्षामा गुणात्मक रुपले प्रगति र सुधार सुनिश्चित नभई एउटा राष्ट्रमा समृद्धिको कल्पना गर्नु निरर्थक हुने धारणा राख्नुभयो ।

अध्यक्षले भन्नुभयो, ‘उच्चस्तरीय शिक्षा आयोगको तर्फबाट भर्खरै एउटा प्रतिवेदन तयार पारेर अब त्यसलाई विधेयकमा परिवर्तन गर्ने र संसदबाट त्यसलाई पारित गरेर शिक्षा क्षेत्रमा सुधारको प्रयासमा सरकार लागेको छ । सबै शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने लक्ष्य पूरा गर्ने दिशामा हामी छौं ।’
निजी क्षेत्र र सामुदायिक क्षेत्रबीच शिक्षाको सन्तुलन कसरी मिलाउने भन्नेमा पार्टी र सरकारको ध्यान केन्द्रित भएको उहाँको भनाई छ । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र निजी क्षेत्रलाई नियमन गर्दै लैजानेतर्फ पार्टीको ध्यान गएको उहाँले जानकारी दिनुभयो ।
‘राजनीतिक स्थिरताको वातावरण बनाइएको छ । अहिले समृद्धि र विकासको निम्ति सबै क्षेत्रमा हामीले संविधानमा व्यवस्था गरे अनुसार शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता जनताका आधारभुत क्षेत्रहरुलाई मौलिक अधिकारको रुपमा कानुनतः व्यवस्था गरिएको स्थिति छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कानुनमा व्यवस्था भए अनुसार यो क्षेत्रमा प्रभावकारी कार्यान्वयनतिर जाने चुनौती हाम्रो अगाडि छ । त्यसले राष्ट्रिय एकता र सहमतिको माग गरेको छ । हामी त्यो दिशातिर अगाडि बढ्ने संकल्पमा छौँ ।’

प्रतिक्रिया दिनुहोस्