Logo
Logo

मनु महावरले ल्याए दिल्लीको नयाँ मेसेज


डा. दिपेश केसी

0
Shares

नेपालमा जेनजी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारसँग भारतले बलियो सम्बन्ध बनाइराख्ने नीति लिएको देखिन्छ । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरको नेपाल भ्रमणले सकारात्मक सन्देश दियो ।

महावरले प्रधानमन्त्री सुशीला कार्कीका अलावा सरकारका अधिकांश मन्त्रीहरूलाई अलग्गै भेटेका थिए । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिल सिन्हा, सञ्चारमन्त्री जगदीश खरेललाई कार्यकक्षमै भेटेर कार्की सरकारप्रति बलियो सम्बन्ध स्थापित गर्न खोजेको सन्देश दिए । अतिरिक्त सचिव मनुले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि भेटवार्ता गरे ।

भारतले मनुमार्फत छिमेकीसँग निरन्तर संवाद र सम्पर्क कायमै राख्ने सन्देश दिएको छ । तर, नेपालमा चुनावी सरकार रहेकाले यसबीच प्रधानमन्त्री तहमा भारत भ्रमण हुने संकेत देखिँदैन । न त भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने सम्भावना नै देखिन्छ । भारतले नेपालमा लोकतान्त्रिक विधिबाट राजनीतिक स्थायित्व कायम भएर क्षेत्रीय स्थिरतामा समेत योगदानको आशा गरेको छ । ताकि छिमेकमा हुने अस्थिरता र अराजकताको असर भारतमा नपरोस् ।

श्रीलंका, बंगलादेश हुँदै नेपालमा भएको युवा विद्रोह जस्तै घटना भारतसम्म हुने चर्चा नचलाइएको होइन । तर, भारतको बलियो लोकतान्त्रिक प्रणाली र पद्धतिका कारण त्यस्ता प्रयास अगाडि बढ्न सकेन । तथापि, भारतले छिमेकको घटनाको सम्भावित असरबारे गहिरो चासोसँगै सतर्कता पनि अपनाएको देखिन्छ । उसले छिमेकसँगको सम्बन्धलाई जोसुकै सत्तामा आएपनि निरन्तरता दिने अभ्यास चलाइरहेको छ ।

छिमेकमा आफ्नो संलग्नताविना नै सत्ता परिवर्तन भएपनि भारतले सम्पर्क नटुटाउने रणनीति लिएको देखिन्छ । सन् १९९९ नेपालबाट विमान अपहरण गरी कान्दाहार पु¥याएका आतङ्कवादी समूहलाई सहयोग गरेका थिए तालिवानले । सत्तामा पुनः फर्किएका तालिवानसँग समेत भारतले अहिले सम्बन्ध सुधारेको छ ।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्तकीले दुई महिनाअघि भारत भ्रमण गरेसँगै दुई देशबीच निकटता देखिन्छ । बंगलादेशमा मोहम्मद युनुस नेतृत्वको सरकारसँग भारतको सम्बन्ध चिसिएपनि सम्पर्क र संवाद टुटेको छैन ।

श्रीलंकामा राजापाक्षेको सत्ता ढलेपछि बदलिंदो परिस्थितिमा पनि भारतको सम्बन्धले निरन्तरता पाएको छ । उसले श्रीलंकामा हालैको दैवीप्रकोपपछि विदेशी मुलुकमध्ये सबैभन्दा बढी राहत सामाग्री पु¥याइसकेको छ । भारतको सबैसँग साथ र सबैको विकासको कूटनीतिको अभ्यास रहेको छ ।

नेपालमा हुने सत्ता परिवर्तन र विद्रोहका घटनाहरूमा विगतमा भारत मुछिन्थ्यो । सायद, नेपालको जेनजी विद्रोह पहिलो घटना होला जसमा भारत विवादमा तानिएन । तर, तीनतर्फ सीमा जोडिएको निकट मित्रशक्ति नेपालको परिस्थितिप्रति भारतले नजिकबाट नियालिरहेको मात्र छैन सतर्क पनि देखिन्छ ।

भारतीय मिडियाको प्रस्तुतिदेखि राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतको अभिव्यक्तिबाट त्यो बुझ्न सकिन्छ । नेपालको जनेजी विद्रोहको नामै लिएर भागवतले त ध्वंसबाट गर्न खोजिने परिवर्तन दिगो नहुने प्रतिक्रिया दिए ।

हिंसात्मक प्रदर्शनले उद्देश्य प्राप्त नहुने बरु बाह्य हस्तक्षेप निम्तने भन्दै साझा इतिहास र संस्कृति भएको नेपालमा अस्थिरताको खतराप्रति सजग हुनुपर्ने औँल्याए । परिवर्तनका नाममा नेपाललगायत दक्षिण एसियाभर हुने गरेका सांस्कृतिक आक्रमणप्रति भारतको बलियो तप्का सजग र सतर्क रहने गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बने लगत्तै सुशीला कार्कीलाई बधाई दिएका थिए । पूर्वोत्तर भारत पुगेका बखत मोदीले नेपालका युवाहरूको खुलेर प्रशंसा गरे । विद्रोहपछि जेनजी आफैँ सडक सफाइमा लागेर रचनात्मक कार्यको उदाहरण पेश गरेको बताए ।

मोदीले प्रधानमन्त्री सुशीला कार्कीसँग साढे दुई महिना अघि टेलिफोन वार्ता पनि गरेका थिए । उनले नेपाल सरकारको प्राथमिकतामा पूरा साथ र सहयोग गर्ने आश्वासन दिएको पररराष्ट्र मन्त्रालयले १८ सेप्टेम्बरमा विज्ञप्तिमार्फत् जनाएको थियो । यसबाट पनि नयाँ परिस्थितिमा बनेको सुशीला कार्की सरकारसँग पनि सम्पर्क कायमै राख्ने भारतको नीति प्रस्ट देखिन्छ ।

भारतीय अतिरिक्त सचिव मनु महावरको भ्रमणमा भारतले नेपालमा सञ्चालन गरिरहेका विकास परियोजनाबारे पनि चासो देखाएको छ । भारतीय पक्षले महावरले गरेका भेटहरूमा नेपाल र भारतबीच सहकार्यमा भइरहेको स्थिर प्रगतिमाथि प्रकाश पार्नुका साथै यो साझेदारीलाई थप सुदृढ तथा विस्तार गर्ने उपायहरू उपर छलफल भएको उल्लेख गरेको छ । मनु सोमबार लुम्बिनी पुगेर तेस्रो भारत नेपाल सांस्कृतिक महोत्सवमा सहभागी भएका थिए । योसँगै भारतले दुई देशबीचको सांस्कृतिक सम्बन्धप्रति दिने गरेको प्राथमिकतामा पनि उजागर भएको छ ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको भारत आणविक शक्ति पनि हो । दश वर्षमा दसौँ धनीबाट चौथो बनेको उसले चाँडै अर्को फड्को मारेर तेस्रो स्थान बनाउँदै छ । क्षेत्रीय शक्तिबाट विश्व शक्तिको प्रतिस्पर्धामा उत्रन थालेको भारत कुनै एउटा शक्तिको फेरो समात्ने अवस्थाबाट माथि उठिसकेको छ ।

आफैँ छुट्टै शक्ति बन्दै गर्दा कहिले चीन त कहिले अमेरिकासँग भारतको टकराब देखिने गर्छ । योसँगै भारतको निकट छिमेकमा पनि सकारात्मक नकारात्मक दुवै प्रकारका जटिल परिस्थितिहरू देखिइरहने गरेको छ । छिमेकमा हुने घटनाक्रमको असर पर्नसक्ने भएकाले भारतले आफू अनुकूल या प्रतिकूल दुवै प्रकारका परिवर्तनका बाबजुद सम्बन्ध बनाइराख्ने नीति लिएको देखिन्छ ।

शक्तिराष्ट्रका लागि छिमेकको बलियो शक्ति नै प्राथमिक हो । भारतले नेपालको पछिल्लो घटनाक्रमलाई सकारात्मक या नकारात्मक दृष्टिकोणले हेर्ने भन्दा पनि आफ्नो नेपाल नीतिलाई निरन्तरता दिने, विकास परियोजना अगाडि बढाइराख्ने र आफ्नो हितसँग सम्बन्धित क्षेत्रीय स्थिरता बचाइराख्ने उद्देश्यका साथ कार्य गर्दै आएको देखिन्छ । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनुको नेपाल भ्रमण पनि यिनै विषय र चासोमा केन्द्रित भएको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्