नेकपा एमाले अहिले इतिहासकै कठिन परिस्थितिका बीचमा छ । यसका पछाडि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति मात्र नभई एमाले नेतृत्वको असफलता पनि मुख्य कारण हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले जुन संघर्षबाट उठेर आफूलाई नेतृत्वमा स्थापित गरे त्यो अनुभवका आधारमा परिपक्वता देखाउनुपर्दथ्यो । तर, उनको अपरिपक्वताले एमाले उचाइबाट एकैपटक फेदमा झर्ने अवस्थामा पुगिसकेको छ ।

दुई तिहाइको बहुमतको साथ पाएर प्रधानमन्त्री हुँदा उनले देशको कायापलट गर्ने कदम चाल्न सक्थे । तर, उनी धोकाधडी र षड्यन्त्रको राजनीतिमा रुमल्लिए । निषेध र निष्कासनको राजनीति गरेर आफ्ना गलत गतिविधिको विरोध गर्नेलाई सिध्याउनतिर लागे । देशकै बलियो संगठन भएको दलका नेता आफ्ना आसेपासेबीच नै सीमित हुन थाले ।
अहंताले उनलाई बेलुन जस्तै उक्सायो मात्र । सत्तारूपी बेलुन उस्केरै फुट्यो । ओलीले आफूसँगै एमालेलाई पनि पतनको खाडलतर्फ लगे । हालैमात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोभियत संघ विघटनमा तत्कालीन कम्युनिस्ट नेताहरुको गलत सोच र नीति दोषी रहेको बताएका छन् । कसैले केही गर्न नसक्ने, सबैभन्दा बलियो छु भन्ने भ्रम र अहंताले सोभियत संघ विघटनमा पुगेको स्मरण गराउँदै कुनै पनि शक्तिले त्यस्ता भ्रम नपाल्न सुझाव दिए ।
पूर्वी यूरोपमै कम्युनिष्टहरुको पतनको कारण विश्वमा आएको राजनीतिक उथलपुथलसँगै नेतृत्वको असक्षमता पनि एउटा कारण थियो । नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा कुनैबेला कम्युनिस्टहरूले दुई तिहाइको बहुमतको शासन गरेका थिए । अहिले पश्चिम बंगालको लोकसभातर्फ कम्युनिस्टहरू शून्य सिटमा झरेका छन् ।
विधानसभामा पनि उनीहरू केही सिटमा सीमित भइसके । अहिलेको नेकपा एमाले र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी पश्चिम बंगालमै स्थापना भएको हो । एमालेले अहिलेकै असफल नेतृत्वलाई लिएर अगाडि बढ्न खोज्ने हो भने बंगालको हालत नेपालमा पनि हुन्छ । त्यस अवस्थामा नेपालमा कम्युनिस्टहरुको पतनको कारण एमाले अध्यक्ष ओली नै बन्नेछन् ।
ओलीले तत्कालको राजनीतिक लाभका लागि कतिपय कदमहरू चालेका छन् । त्यसले उनलाई केही समय त लोकप्रिय बनायो होला तर देशले ठूलो मूल्य चुकाउनुप¥यो । विश्व सम्बन्धका मामलामा उनले दिने हल्काफुल्का अभिव्यक्तिले विवाद ल्यायो । ओलीको पछिल्लो प्रधानमन्त्रीकालमा नेपालको विश्व सम्बन्ध कमजोर बन्न पुग्यो । देशको भूराजनीतिक यथार्थलाई बिर्सिएर उनले चालेका कदमहरू राजनीतिक अस्थिरता ल्याउने मुख्य कारण बन्न पुग्यो ।
आफ्ना गल्तीहरू छोप्ने तर जनतासामु माफी माग्न तयार नहुने प्रवृत्ति उनमा पनि देखियो । ओलीले महत्त्वपूर्ण भूमिका खेलेर भएको महाकाली सन्धिबाट देशले वार्षिक खरबौँ आम्दानी गर्छ भनी दिएको अभिव्यक्तिप्रति उनले कहिले आत्मग्लानि देखाएनन् । बरु आफूले जे गरे ठिक गरेँ भनेजस्तो गरे ।
ओलीको पछिल्लो प्रधानमन्त्रीकालमा देशभित्र जेनजी प्रदर्शन भयो । २४ घन्टाभित्र संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत जलाइएको घटनाको जिम्मेवार लिएनन् । राजीनामा दिन उनले गरेको ढिलाइले देशले ठूलो मूल्य चुकाउनुप¥यो । देशमा भ्रष्टाचार, बेरोजगारी, बेथिति र विसङ्गतिको पहाड बनिसक्दा पनि ओलीले बालुवाटारमा बसेर देखेनन् । उनी आसेपासेकै गलत सूचना सुनेर केही समस्या छैन र आउने छैन भने जसरी बसे । यसबाट पनि उनमा राजनीतिक अपरिपक्वता छर्लङ्ग हुन्छ ।
उनले राष्ट्रलाई केन्द्रमा राख्न छाडेर आसेपासे, चाकडीवाजलाई केन्द्रमा राखेर काम गर्दा आफ्नो दललाई मात्र नभई देशलाई नै कमजोर बनाए । जसका कारण २४ घन्टाभित्र देशका ऐतिहासिक धरोहर खरानी बनाइए । उद्दोग व्यवसाय ध्वस्त पारिए र देशलाई अरबौँ कर तिर्नेहरू रातारात लुटिए । अर्को दश वर्षसम्म ठूला उद्योग व्यवसायी लगानी गर्न तर्सनुपर्ने अवस्था बन्यो । यस्तो परिस्थिति ल्याउन जिम्मेवार ओली फेरि पनि एमालेको नेतृत्वमा आउँछन् भने एमाले चाँडै बंगालको कम्युनिस्ट पार्टीको हालतमा पुग्नेछ ।
जेनजी प्रदर्शन सत्ताबाट कसलाई खसाल्ने र कसलाई पु¥याउने भन्नका लागि मात्र थिएन । दलहरूभित्र असफल साबित भइसकेका नेतृत्व परिवर्तनको आकांक्षासहितको थियो । तर, पुरानै नेतृत्व हालीमुहाली हुन खोज्दा कार्यकर्तामा निराशा र दलहरूमा समस्या बढ्दै गएको छ । त्यो समस्या सबैभन्दा बढी एमालेले भोगिरहेको छ ।
मदन भण्डारी जस्ता विचारकले एमालेमा आकर्षण बढाएको थियो भने मनमोहन अधिकारीको सदगीपनले लोकप्रीयता हासिल गरेको थियो । तर, ओलीले एमालेको साख नै घटाइदिएको छ । नयाँ पुस्तामा एमालेप्रति आकर्षण छैन । न त एमालेमा रहेका युवाहरूमा कुनै उत्साह छ । ओलीको नेतृत्वमा एमाले जनतासामु जानु अर्को धक्का खानु हो भन्ने दुरदराजसम्मका एमालेका कार्यकर्ताहरू जानकार छन् ।
ओलीले आफूपछिको नेतृत्व विकास गरेका छैनन् । यसकारण उनी जटिल परिस्थिति बनिसक्दा पनि नेतृत्व हस्तान्तरणका लागि तयार छैनन् । ‘म नै एमाले हुँ र एमाले नै मै हुँ’ भन्ने अहंकार ओलीमा देखिन्छ । जटिल स्वास्थ्य अवस्थाबीच पनि एमाले कार्यकर्ताले ओलीलाई अध्यक्ष स्वीकारेका थिए । तर, उनले सिंगो देशलाई बिरामी बनाइदिए । उनी प्रधानमन्त्री हुँदा नीतिगत भ्रष्टाचारले कीर्तिमान तोड्यो ।
ओली कार्यकालमा भूमाफिया सबैभन्दा बढी सलबलाए । अर्बाैंका भ्रष्टाचारहरू भए । जनतामा असन्तुष्टि व्याप्त भयो । एमाले कार्यकर्ता नै नेतृत्वप्रति यो हदसम्मको असन्तुष्टि सायदै कहिले भएको थियो । त्यही असन्तुष्टिको आगोले कुनै पनि बेला एमालेलाई नै खरानी बनाउन सक्छ ।











