Logo
Logo

समग्र देश विकासका लागि प्राविधिक शिक्षा : एनआरएनए


- दृष्टि न्युज/संवाददाता


लण्डन, २४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनका क्रममा शुक्रबार आयोजित प्राविधिक तथा व्यवसायिक शिक्षा विषयक कार्यक्रममा विभिन्न विद्याका विज्ञले आफ्नो धारणा राखे । प्राविधिक तथा व्यवसायिक शिक्षाको उपलब्धताले सम्मानजनक रोजगारी सिर्जनामा भई समग्र देश विकासमा टेवा पुग्ने उनीहरुको धारणा थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले प्राविधिक तथा व्यवसायिक शिक्षाको महत्वलाई मनन् गर्दै आयोगले यो विषयलाई प्राथमिकताका साथ लिएको बताइन् । ‘सरकारले पछिल्लो समय प्राविधिक शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । हामी पनि यो विषयमा निकै संवेदनशील छौँ,’ उनले भनिन् ।
नेपालले योजनाबद्ध विकासको लक्ष्य अघि सारेकाले यसमा प्राविधिक तथा व्यवसायिक शिक्षाले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले समग्र विश्वको विकास पनि प्राविधिक शिक्षा बिना सम्भव नरहेको उल्लेख गरिन् ।
कार्यक्रममा लक्ष्मी बैंक तथा प्राइमलाईफ इस्योरेन्सका अध्यक्ष समेत रहेका नेपाल ब्रिटेन चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रिजका अध्यक्ष राजेन्द्र खेतानले प्राविधिक तथा व्यवसायिक शिक्षा निकै सान्दर्भक भएको बताएका छन् । सैदान्तिक शिक्षाको तुलनामा व्यवसायिक तथा प्राविधिक शिक्षाले सीप विकास गरी आत्मनिर्भर बन्न मद्धत गर्ने बताउँदै उनले भने, ‘यदि तपाइँले कसैलाई तालिम दिनुभयो भने त्यो तालिम काम खोजिरहेकाहरुका लागि मात्रै महत्वपूर्ण हुँदैन, यो समग्र उद्यमीहरु तथा राष्ट्रका लागि महत्वपूर्ण हुन्छ ।’ सीपयुक्त जनशक्तिबाट हुने गुणस्तरीय उत्पादनले समग्र क्षेत्रको विकासमा टेवा पुगि मुलुक आर्थिक उन्नतीतर्फ अग्रसर हुने उनको भनाइ थियो । नेपालमा पनि प्राविधिक शिक्षाले विस्तारै स्थान पाउँदै गएपनि अध्ययन, अनुसन्धान, पहुँच तथा अनुगमनको अभावमा गुणस्तरीय हुन नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कोलम्बो प्लान स्टाफ कलेजका डिरेक्टर जनरल डा. रामहरी लामिछानेले विश्व श्रम बजारमा नयाँनयाँ फरक किसिमका सीपहरुको माग बढेको बताए । तर, नेपालका पाठ्यक्रम सैदान्तिक शिक्षामा आधारित रहेकाले पाठ्यक्रम नै संशोधन गर्न आवश्यक रहेको उनले औँल्याए । नेपालमा स्रोत तथा साधनको अभावका कारण प्राविधिक तथा व्यवसायीक शिक्षामा पनि फड्को मान नसकेको भन्दै यसका लागि बजार क्षमता तथा तात्पर्यता बढाउन पर्नेमा उनले जोड दिए ।
यस्तै, साउद एशिया ह्युमन एण्ड सोसल डभेलपमेन्ट डिभिजन बैंक तथा एशिएन डेभलपमेन्ट बैंक (एडिबी)का निर्देशक डा.साङ्गस्युप राईले एसियामा सीप विकासका चूनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै एशियामा अनुसन्धान तथा व्यवस्थापनको अभावका कारण प्राविधिक शिक्षाको विकास हुन नसकेको औँल्याए । बेमेल, औद्योगिक साझेदारीको अभाव, कमजोर संस्थागत क्षमता, नवप्रवद्र्धनका लागि कमजोर समर्थन तथा छुट्टै रणनीतिको अभावका कारण नेपालसहित समग्र एशियामा प्राविधिक तथा व्यवसायीक शिक्षाको विकासमा चुनौती खडा भएको उहाँको भनाइ थियो । पछिल्लो समय एशिया प्राविधिक क्षेत्रमा विस्तारै फड्को मार्न थालेको बताउँदै उनले प्राविधिक तथा व्यवसायिक शिक्षाको विकासका लागि अध्ययन, अनुसन्धान तथा साझेदारीमार्फत छुट्टै रणनीति बनाएर अगाडी बढ्नुपर्ने उल्लेख गरे ।
यस्तै, डा. उत्तम गौलीले सञ्चालन गरेको कार्यक्रमको पहिलो सेसन अन्तर्गतको कार्यक्रममा अमेरिकन एशोसिएसन अफ कम्युनिटी कलेजका पूर्वसिइओ डा.जर्ज बक्स, अमृता शर्मा पिएचडी स्टुटेन्ट इन डेभलपमेन्ट स्टडीज काठमाडौं युनिभर्सिटी लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्