मृत्युको मुखमा जनता


Published On : 13 October, 2020

नेपालमा कोरोनाबाट एक लाख ७ हजार ७५५ जना संक्रमित भइसकेका छन् । कोरोना संक्रमणका कारण ६ सय ३६ जनाले ज्यान गुमाइसके । यो तथ्यांक कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको उर्वरथलो चीनको वुहानभन्दा धेरै हो, जबकि चीनमा हालसम्म ८५ हजार ५५७ जनामात्रै संक्रमित भएका छन् । नेपालमा दैनिक संक्रमित बढिरहेका छन् । मृत्यु हुनेको ग्राफसमेत बढ्दैछ । पछिल्लो साता यता दैनिक दुई हजारबढी नयाँ संक्रमित थपिरहेका छन् । तर, सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने आन्तरिक कलहमै व्यस्त छ । नेपालमा कोरोना संक्रमण भित्रिएको ८ महिना भइसक्यो । यो अवधिमा कोरोना नियन्त्रण होइन, भयावह बनेको छ । यो कोरोना नियन्त्रणमा सरकार असफलता हो ।

नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको स्वास्थ्यविज्ञहरुले बताइसकेका छन् । तर, अझै सरकार कोरोना नियन्त्रणमा गम्भीर छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेशन र भेन्टिलेटर भरिभराउ भएको भन्दै ‘अप्ठेरो अवस्था’मा पुगेको बताइसकेको छ । स्वास्थ्य मन्त्रालयको यो भनाइले जनता झनै त्रसित छन् । दुई जनामात्रै संक्रमित हुँदा सरकारले देश लकडाउन गरेको थियो । लकडाउन खुलेसँगै महामारी बन्यो । तर, सरकारले ध्यान दिनुपर्ने कार्यमध्ये सामुदायिक परीक्षणको दायरालाई बढाउन सकेन । अझै सकेको छैन ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको अवस्था छ । स्वास्थ्य सामग्री र पूर्वाधारहरुको अवस्था उ बेलाकै छ, जतिखेर नेपालमा दुई जनामात्रै संक्रमित थिए । ती भएका आइसियु र भेन्टिलेटर भरिएका छन् । त्यसैले दैनिक थपिँदै जाने संक्रमितका लागि आइसोलेन र भेन्टिलेटर अभाव हुने निश्चित छ । संक्रमित बढ्दै जाँदा अस्पतालमा शैया थप्ने, सघन उपचार कक्ष र भेन्टिलेटरको संख्या थप्ने काम जरुरी हुन्छ ।

अर्कोतर्फ व्यापक परीक्षण गरेर धेरैभन्दा धेरै संक्रमितको पहिचान गरेर कन्ट्याक्ट टे«ेसिङमार्फत अन्य सम्भावित संक्रमितसँग पुग्न आवश्यक छ । ती संक्रमितलाई क्वारेन्टिन र आइसोलेसन सुविधा उपलब्ध गराउन सके समुदायमा नयाँ संक्रमण नियन्त्रणमा सघाउ पुग्नेछ । अहिलेकै स्थिति हेर्ने भने काठमाडौं उपत्यकामा भयावह स्थिति टाढा छैन । यसतर्फ बेलैमा ध्यान दिन जरुरी छ । यदि भयावह स्थिति आइहाले अहिलेकै अवस्थामा संक्रमण नियन्त्रण गर्न सरकारका लागि महँगो सावित हुनेछ ।

कोरोना संक्रमण नियन्त्रणमा राजनीतिक नेतृत्वले कमाण्ड लिनुपर्छ । जसका लागि प्रधानमन्त्रीले विज्ञसँग छलफल र सल्लाह गरेर तत्काल गर्नुपर्ने काममा खबरदारी गर्नु आवश्यक छ । यो संकटको अवस्थामा जनताले सरकारसँग अपेक्षा गरेको पनि यति हो । तर, अपेक्षाभन्दा टाडा सत्तारुढ र प्रमुख प्रतिपक्षी दुवै जना घरझगडामै व्यस्त छन् । जसले गर्दा जनतामा निराशा र आक्रोश थपिँदै गएको छ ।

कोरोना संक्रमणले दैनिक मजदूरी तथा ज्यालादारी नगरी हातमुख जोर्नसमेत मुश्किल छ । सरकारले गत चैत ११ गते यता विभिन्न तीन चरणमा लकडाउन गरेर ढुक्क बस्दा श्रमिक तथा मजदूर भोकभोकै भए भने संक्रमित रातारात बढ्दै गए । यो कुरा सरकारले मनन गरेको छ कि छैन ? केन्द्रीयदेखि प्रदेश र स्थानीय सत्ता सञ्चालनसम्म वर्चश्व राख्दै आएको नेकपाले ६ वटा प्रदेश सरकार र चार सय दुई स्थानीय तह हाँकिरहेको छ । यस्तो बेला आफ्ना नेता तथा कार्यकर्तालाई जनचेतनाका कार्यक्रमका साथै राहत दिएर पठाउन सक्नुपर्छ ।

एकातिर कोरोना संक्रमणको महामारी, अर्कोतिर राजनीति खिचातानीले जनता आक्रान्त छन् । सरकारसँग आश्वस्त पार्नेखाले कोरोना संक्रमण नियन्त्रणको रणनीति छैन । त्यसैले जनस्तरमा सन्त्रास बढेको छ । उपत्यकामा जसरी संक्रमण फैलँदै गएको छ । यो अत्यन्त जोखिम अवस्था हो । दशैँ–तिहारलगतै सुरु हुने हिउँदमा संक्रमण झनै बढ्ने डब्लुएचओले समेत चेतावनी दिँदै आएको छ । तर, सरकारसँग तयारी छैन । बन्दाबन्दीमात्रै संक्रमण नियन्त्रणको विकल्प होइन, त्यसबाहेक जनचेतना र स्वास्थ्य संरचना तयारी गर्नु उत्तिकै आवश्यक छ ।

संक्रमण नियन्त्रणमा जनताले पनि आफ्नो भूमिका निर्वाह गर्नैपर्छ । तर, यस्तो बेला जनताले स्वास्थ्य मापदण्ड पालना गरेन भन्दै सरकारले आफ्नो अकर्मण्यता ढाकछोप गर्न मिल्दैन । सामान्य अवस्थामा भन्दा यो संकटको घडीमा जनताले सरकारसँग बढी अपेक्षा गरेको हुन्छ । अहिलेको अपेक्षा भनेको जनस्वास्थ्य नै हो । जनताको जीवन रक्षा गर्नु सरकारको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्