काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त गरेको छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी रु.७५,६०,००,००० बराबरको प्रति शेयर रु.१०० अङ्कित दरका ७५,६०,००० कित्ता साधारण सेयरको १: ०.६ (अर्थात् विद्यमान १ कित्ता साधारण सेयर बराबर नयाँ ०.६ कित्ता साधारण सेयर) को अनुपातमा रु.४५,३६,००,००० बराबरको प्रति सेयर १०० अङ्कित दरका ४५,३६,००० कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नकोे लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाडौं स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री रामशरण तिमल्सिनाज्यू तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेज्यूले हस्ताक्षर गरेका हुन् ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालको कृषि क्षेत्रको व्यावसायिक विकासका लागि कृषक र उपभोक्ताहरूलाई जोड्न संस्थागत मूल्य शृङ्खला व्यवस्थापकको रूपमा कार्यरत अग्रणी कम्पनी हो । कम्पनीले कृषकहरूको लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरूको विकास र उपभोक्ताहरूलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरू उपलब्ध गराउने सम्बन्धी व्यवसाय गरिरहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।











