काठमाडौं । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाबाट निर्वाचित भएको केही घण्टामै आइतबार राति नै उनले शपथग्रहण गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभले सभामुख यादवलाई शपथ खुवाएका हुन् ।
आज सम्पन्न प्रदेशसभा बैठकमा सातदलीय गठबन्धनबाट उम्मेदवार रहेका यादवले ९६ सांसद उपस्थितमध्ये ७२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । विपक्षमा २४ मत परेको थियो।
यादव धनुषा निर्वाचन क्षेत्र नं २ ख बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् र जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।
यसअघि नेकपा एमालेका रामचन्द्र मण्डल सातदलीय गठबन्धनको असहमति कारण गत मङ्सिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त भएका थिए । त्यसपछि सभामुखको पद रिक्त थियो ।












