Logo
Logo

सिन्धुलीमा पेट्रोल छर्केर बुहारीको हत्या, सासू र नन्द पक्राउ


567
Shares

सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू र नन्दलाई पक्राउ गरेको छ।

The current image has no alternative text. The file name is: pakrau-1.jpg

६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाडमा जलेको छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट ८८पेट्रोल भरिएका दुई बोतल, जलेको अवस्थामा रहेको पेट्रोलको बोतल, लाइटर तथा बाँसको भाटामा सालको बेरी प्रयोग गरी बनाइएको राँको फेला परेको सिन्धुलीका प्रहरी उपरीक्षक एसपी लालध्वज सुवेदीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ ।

घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले मृतककी ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा बम्जनलाई पक्राउ गरेको हो । प्रारम्भिक सोधपुछका क्रममा मीना लामा बम्जनले सुशीला बम्जनमाथि पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।

यता, मृतकका बुबा प्रेमबहादुर घिसिङ हरिहरपुरगढी गाउँपालिका–४० ले मायारानी बम्जन र मीना लामा बम्जन विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । जाहेरीका आधारमा प्रहरीले ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

“प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आशंकामा सासू र नन्दलाई पक्राउ गरिएको हो । जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप लिएर अनुसन्धान सुरु गरेका छौं,” एसपी सुवेदीले बताए ।

घटनापछि स्थानीयवासीहरूले मृतकलाई न्याय दिनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्