काठमाडौं । अहिलेको नेपाली राजनीतिमा बालेन्द्र शाह उर्फ बालेन ‘हटकेक’का रूपमा देखा परेका छन् । उनी कुनै ठूलो दलका अध्यक्ष होइनन्, न त राष्ट्रको कार्यकारी प्रमुख नै ।

संवैधानिक रूपमा हेर्दा उनी केवल काठमाडौं महानगरपालिकाका मेयर मात्र हुन् । तर राजनीतिक प्रभावको दृष्टिले उनी आज सामान्य पदमा सीमित छैनन् । उनका ढोका ढकढक्याउनेहरू सामान्य छैनन् । देश हाँकिसकेका पूर्वप्रधानमन्त्री, सुरक्षा र प्रशासन चलाइसकेका पूर्वगृहमन्त्री, बहालवाला मन्त्री, स्थापित दलका शीर्ष नेतादेखि परिवर्तनको भाषामा विश्वास गर्ने नयाँ शक्ति जेनजीसम्म सबैको साझा गन्तव्य बालेन बनेका छन् ।
बालेनको आकर्षण उनको पदमा होइन, उनको प्रतीकात्मक शक्ति र प्रतिनिधित्व गर्ने विचारधारामा छ । उनी कुनै संगठनात्मक संरचना प्रतिनिधित्व गर्दैनन् । उनले लामो समयदेखि जमेको असन्तोष, दलहरूको घोषणापत्रमा हराएका वाचा र सत्ता गठबन्धनको स्वार्थी गणितबाट थाकेको समाजको प्रतिनिधित्व गर्छन् । बालेनले आफूलाई कम बोल्ने तर नझुक्ने/नबिक्ने नेतृत्वको रूपमा प्रस्तुत गरेका छन्।
भेटघाट र छलफलहरू
बालेनको राजनीतिक संवादको केन्द्र बनेको छ ललितपुरको ज्वागलस्थित कुमार व्यञ्जनकारको घर । बिहीबार मात्रै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, शिशिर खनाल, उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंह, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र सुनिल शर्मा, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी, राप्रपा का ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउत, जेनजी अभियानका प्रतिनिधि रक्षा बम, सागर ढकाल, केपी खनाल र कलाकार निश्चल बस्नेतसँग छलफल गरे ।
उनले बिहान ७ बजे ऊर्जा मन्त्री कुलमान घिसिङसँगको भेटबाट राजनीतिक संवादको सुरुआत गरेका थिए । करिब १४ घण्टा निरन्तर छलफलपछि जेनजी प्रतिनिधिसँगको अन्तिम भेटवार्ता गरेर निस्किए ।
संसदीय राजनीतिमा प्रवेश
बालेन संसदीय राजनीतिमा आफ्नो उपस्थिति मजबुत बनाउने तयारीमा छन् । कुपण्डोलमा भेट्न आउने सबै नेताहरूलाई उनले अब सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखेका छन् । भेटवार्तामा उनले सबै नयाँ शक्तिहरू एकीकृत भएर आगामी निर्वाचनमा भाग लिनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
विभिन्न व्यक्तिहरुसँगको भेटवार्ताँमा उनले भनेका थिए, “कुलमानजी हामीसँगै हुनुहुन्छ । उहाँको बारेमा चिन्ता गर्नुपर्दैन, हामी एकै हौं।” यसैगरी, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग पनि मिलेर अघि बढ्ने तयारी भएको बताएका छन् ।
प्रधानमन्त्रीको टार्गेट
बालेन–रवि लामिछाने भेटको क्रम लगातार भइरहेका छन् । बिहीबारको छलफलमा बालेनले सम्भावित प्रधानमन्त्रीको परिस्थितिमा एकताको सहज मार्गबारे प्रस्ताव राखेका थिए ।
यसअघि कमलपोखरीमा दुई दिनअघि छलफल गरेका रवि–बालेनबीच पहिलो चरणमा बालेन समेत प्रधानमन्त्री बन्न सक्ने कुराकानी भएको थियो । तर बाहिर आएर रविले त्यसभन्दा भिन्न अर्थ लाग्ने गरी बोलेको भन्दै बालेन बिच्केका थिए । रास्वपासँग एकता संवादको अध्याय अघि नबढ्ने सम्भावना रहेको भन्दै बुधबार र बिहीबार बिहान उनले विभिन्न पक्षसँग परामर्श गरेका थिए ।
बिहीबारको वार्तामा बालेनलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन रवि तयार भएको भन्ने अड्कलबाजी चलिरहेको छ । रविले निकटस्थसँग यसबारे स्पष्ट बताएका छैनन् ।
बालेनले जेनजी विद्रोहको नयाँ राजनीतिक ऊर्जा र रविको सांगठनिक शक्ति बीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीलाई महसुस गरेका छन् । रास्वपा केन्द्रीय सचिवालय सदस्य सोबिता गौतमले भनेकी छन् कि संवादको निरन्तरता स्वागतयोग्य छ र जनता नयाँ शक्तिहरूको एकताबाट आशावादी छन्।
पुराना दलहरूको टार्गेटमा
बालेन, पुराना राजनीतिक दलहरूको निशाना परेका छन् । सामाजिक सञ्जालमार्फत पुराना नेताहरूमाथि तीव्र प्रहार गर्ने बालेन, जेनजी आन्दोलनपछिको आन्दोलनलाई प्रतिनिधित्व गर्ने व्यक्तित्व बनेका छन् ।
पुराना दलको नेताहरुले जेनजी आन्दोलनको नाममा बालेनले देश ध्वास्त पारेको आरोपलगाउने गरेका छन् । केहीले उनलाई ‘लुसिफर’को ट्यागसम्म दिएका छन् । यही कारणले उनी पार्टी निर्माणमार्फत आफ्नो शक्ति सुनिश्चित गर्ने तयारीमा छन् ।
जेनजीलाई एकजुट गर्ने प्रयास
बालेनले जेनजी अभियानका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर साझा रणनीति बनाउने प्रयास पनि गरिरहेका छन्।
बिहीबार जेनजी प्रतिनिधिहरुसँगको सामूहिक छलफल गर्दै पहिले सबै मिलेर आउन आग्रह गरेका थिए । बालेनको भनाइ उल्लेख गर्दै एक जेनजी अभियन्ताले भने– ‘तपाईंहरू एक ठाउँ आउनुहोस्, एकता त्यहाँबाट सुरु हुन्छ ।’
राजनीतिक केन्द्र
भ्रष्टाचार, ढिलासुस्ती र झोलाप्रवृत्तिबाट असन्तुष्ट जनमत बालेनको स्पष्ट, कडा र नडराउने आवाजको खोजीमा थियो । सडकदेखि सामाजिक सञ्जालसम्मको आक्रोशलाई उनले राजनीतिक एजेन्डामा परिणत गर्न सक्ने क्षमताका कारण बालेन आज सबै भेटघाटको केन्द्र बनेका छन् ।
जेनजीहरूको दृष्टिमा बालेन ‘सिस्टम च्यालेन्जर’ हुने । उनको शैली, भाषाशैली र जोखिम लिने साहसले उनीहरूलाई प्रेरित गरेको छ । विघटित संसद्, अस्थिर गठबन्धन र विश्वास संकटले वैकल्पिक राजनीतिक अक्षको खोजी बढाएको छ । बालेन त्यही सम्भावनाको प्रतीक बनेका छन् ।
अहिले बालेन पदभन्दा प्रभाव, भाषणभन्दा काम र दलभन्दा जनमतको प्रतिनिधि बनेका छन् । यही कारणले देश हाँकिसकेका पूर्वप्रधानमन्त्रीदेखि नयाँ शक्ति जेनजी सबैका लागि बालेन साझा गन्तव्य बनेका छन् ।
तर, बालेनमाथि पनि प्रश्न उठिरहेको छ– यो लहरलाई उनीले कहाँसम्म लैजान्छन् ? के सबै नयाँ शक्तिलाई एक ठाउँमा उभ्याउलान् ? जसकारण पनि यस्ता शक्ति निर्माणको जग बलियो राजनीतिक बाटो हुन आवश्यक छ ।












