Logo
Logo

लेखकको रूपमा पाएको इज्जत


504
Shares

जापानमा बस्ने दिनहरु धेरै बाँकी थिएनन् । समयको महत्व झन्झन् बुझ्न थालेकी थिएँ । सरोज नेपालबाट शाङ्हाई फर्केपछि एक्लै हुन पुगेका थिए । हालखबर सोध्नसम्म पनि पाएको थिइनँ । साथीहरुको घरबाट फोन गर्न पनि अप्ठ्यारै लाग्ने । पाइनसक्नु जापानी साथीहरुबाट असीमित सहयोग र प्रेम प्राप्त भइ नै रहे पनि पछिल्ला दिनमा भने समय अलि छिटो बिते हुने जस्तो हुन थालिसकेको थियो ।

कोबेकै पाका मित्र ताजि सानले पनि आफूले सक्ने जति सहयोग मात्र गरेनन्, मैले चिन्दै नचिनेका उनका साथीहरुसँग चिनापर्चि गराइदिइरहेका थिए । कोही उनकै उमेरका धनी किसान थिए, कोही विभिन्न पेशाको अनुभव बटुलिसकेका रिटायर्ड बुढा पाकाहरु थिए । एकदिन त परम्परागत जापानी भेषभुषामा केही पाका मान्छेहरु र मेरै केही साथीहरु समेत संलग्न एउटा पिकनिक पार्टीकै आयोजना गरेछन् ।

नेपालबाट गएको म सानो मनुवाको भाउ बढिरहेको थियो । जहाँपनि चिनाउँदा ’उनी लेखक हुन्’ है भन्थे । ’लेखक’ हुनुको भाउ त धेरै नै हुँदो रहेछ भन्ने देख्दै थिएँ त्यतिबेला । सबै साथीहरुको केन्द्रबिन्दु जस्तो भएकी थिएँ । कुन जन्मको नाता र कर्मले गर्दा त्यो हाई–हाई प्राप्त भएको हो, बुझ्न सकिरहेकी थिइन । उनीहरुको अगाडि म आफूलाई सानै देख्थेँ ।

लेखक साहित्यकारको रुपमा मेरा लेखहरु प्रचार गरिदिने साथीहरु पनि उनीहरु नै थिए । त्यति बेला सम्म देशमै निस्किने गरेका संकल्प, झिसमिसे र अन्य प्रगतिशील साहित्यिक पत्रिकाहरुमा छापिएका फुटकर लेख–रचना र चीनमा बस्दा नै बनेका साथीहरुको सहयोगमा विभिन्न देशमा छापिएका लेख बाहेक सिङ्गो कृतिको रुपमा केहीपनि प्रकाशित भएको थिएन । केही भएकै थिएन भनुँ भने म विदेशमै भएको बेला साथीहरुले नेपाल भाषामा लेखेको मेरो एउटा लामो लेख ’कर्मया भोग धैगु छु ?’ लाई पुस्तिका बनाएर प्रकाशन र प्रचार गरेका रहेछन् । तर त्यसमा लेखकको नाम पनि थिएन । र यी कुनैपनि कुरा मैले जापानी साथीहरुलाई भनेकी थिइन । तर उनीहरुले भने मलाई ’लेखक’कै रूपमा प्रस्तुत गरिरहेका थिए ।

आशाहीले आफ्नो घरमा लान कोशिस गर्दै थिइन् । पहिल्यैदेखिको योजना थियो । एकरात त्यहाँ बस्न जाने भएँ । सहर भन्दा अलि टाढा एउटा डाँडामाथि रहेछ उनको घर । तर डाँडामाथिको घरमा पुग्न डाँडा चढ्नै पर्ने बाध्यता रहेनछ । दश मिनेट जति एउटा लामो एस्केलेटर चढेपछि उनको बस्तिमा पुगिने रहेछ । त्यतिबेलासम्म मैले केबलकार पनि देखिसकेको थिइन । अचम्म लाग्यो ।

आफ्नो घरजान आउन हरेक दिन २० मिनेटको समय एसकेलेटर चढ्नुपर्ने ! त्यहाँमाथि अफिस पुग्न रेल चढ्नु पर्ने त छँदैछ । एक–दुई घण्टा त बाटोमै समय खर्च हुने रहेछ । त्यस्ता अचम्म लाग्ने धेरै कुरा सुनाएर मात्र होइन अनुभव नै गर्न लगाएर अप्रत्यक्ष रुपमा शिक्षा दिइरहेका थिए साथीहरुले । जब डाँडामाथी पुग्यौं उनको घर भनेको त त्यहाँ बनेको नयाँ अपार्टमेन्ट रहेछ । सुन्दर डाँडामाथिको घरबाट तलतिरको सडक मात्र होइन, राती परपरसम्म पनि झिलिमिलि बत्ती बलेको देख्दा मेरो बच्चा मन अझै खुसी भयो । म खुसी भएको देखेर उनीहरु झन् खुसी भए ।

आशाहीकी आमाले बनाएको मीठो डिनर खाएपछि नेपालबारे धेरै कुराहरु सोधे आमा–बा दुबैले । छोरीले उल्था गरिदिइन् । मज्जा लाग्यो त्यो क्षण । एकरात बसेपछि भोलिपल्ट बिहानै ब्रेकफाष्ट खायौं । अनि साथी अफिस जाने समयमा मलाई सँगै लिएर इसिजुका पर्खिबसेको ठाउँमा मलाई पुर्याइदिइन् र आफ्नो काममा हिंडिन् “बाइ–बाइ“ भन्दै । इसिजुकाले “आज कोबेकै अर्को एउटा गाउँमा निम्तो छ तिमीलाई“ भनेर सुनाईन् । “ म जान भ्याउँदिन, तिमी एक्लै होस्टसँग जानुपर्छ है!“ भनिन् । अलिकति असजिलो त लाग्यो, तर साथीले भने पछि जहाँ जान पनि तयार नै थिएँ ।

जानु पर्ने त्यो गाउँपनि डाँडामै रहेछ । अहिले नाम बिर्सेँ । मैले पहिले कहिल्यै नचिनेका एकजना पाका भलादमी चिटिक्क परेको कारमा मलाई लिन आएका रहेछन् । उनको नाम–गाम काम केही थाहा थिएन । भाषा नबुझ्नुको कारण सोध्न पनि सकिन ।

म जापानी नबोल्ने । उनी अङ्ग्रेजी नबोल्ने, अलि अलि बुझ्ने मात्रै । उनी हाम्रो पाका साथी ताजि सानको साथी रहेछन् , त्यसैले उमेर त्यस्तै मेरो पनि बाबु भन्न सुहाउने थियो । ताजि सानकै कारण त्यहाँ पुग्ने निम्तो पाएकी रहेछु । हँसिला गोरा भलाद्मि अनुहारका मान्छेसँग गाडीमा डाँडाको उकालो चढियो ।लामो बाटो तर कुराकानी केही छैन । गन्तव्य पनि थाहा छैन । गाडीमा दुईजना मात्र अपरिचित व्यक्तिहरु – एक पाका पुरुष, अर्की म । त्यो बेलाकी युवा महिला । मेरो एउटा जिज्ञासा सोध्न प्रयत्न गरें, त्यहाँको विकास देखेर यहाँ कहिले देखि बिजुली बत्ती आएको होला ? उनले पनि मेरो प्रश्नको आशय बुझेर आफ्नो जन्म हुनुभन्दा अगाडि देखिनै … उत्तर दिए ।

कुनै कुनै यात्रा अचम्मैका हुँदा रहेछन् ! आफूले नसुनेको ठाउँ र नचिनेको मान्छेसँग उकालो चढ्दै गर्दा मनमा एक किसिमको डरजस्तो पनि लाग्न थाल्यो । तर साथीहरुप्रतिको विश्वासले जितिरहेको थियो । उकालो सकिएपछि उनले संकेत दिए अब पुग्यो भनेर । एउटा गाउँको घर अगाडि गाडी रोकियो । हातको इशाराले अब पुग्यो यहाँ नै बस्ने हो भन्ने संकेत बुझें मैले ।
गाडीबाट ओर्लें । तुरुन्तै एउटी मेरैजस्तो उमेरकी देखिने सुन्दरी मलाई स्वागत गर्न आइपुगिन् । उनी भने अंग्रेजी बोल्दिरहिछन् । “वेलकम सुलो’’ भनिन् । उनले पनि मेरा साथीहरुले जस्तै सुलो नामले सम्बोधन गर्दा अलिकति अनौठो लागे पनि डर भने एकैचोटी हरायो । उनी पनि मेरो एक नियमित पाठक रहिछन् भन्ने कुरा अलि पछिमात्र थाहा पाएँ । “जाऔं अब घरमा ! “मलाई यो ठाउँसम्म पु¥याउने पाका भलाद्मीलाई देखाएर “म उहाँकी छोरी’’ भनेर हाँसेर आफ्नो परिचय दिइन् । गाउँको घर भएपनि भव्य थियो । घर भित्र भिन्दै खालको सम्पन्नता देखिन्थ्यो । वातावरण न्यानो थियो । एकछिन् उनीसँग कुराकानि गरेपछि मैले अनुमान गरेँ यो ठुलै मान्छेको घर हुनुपर्छ भनेर । धनी किसान होलान् भन्ने पनि अनुमान गरें ।

मेरो निम्ति विशेष परिकार पाकेको रहेछ । यहाँ दुईदिन बस्नु पर्छ भनिन् उनले । मेरो भन्नु केही थिएन । त्यही दुईदिनको निम्ति कोठा रोज्न लगाइन् – “जापानी स्टाइलको कोठामा बस्ने कि युरोपियन स्टाइलको कोठामा ? “एकछिन् के भनुँ भनुँ भयो । जापान आएदेखि नै जापानी स्टाइलको कोठामा त बस्दै आएकी थिएँ । “युरोपियन स्टाइलकै’’ कोठामा बस्छु भनेँ । कोठा कुनै होटेलको जस्तो थियो…।

प्रतिक्रिया दिनुहोस्