Logo
Logo

नयाँ बाबु, नयाँ छोरा


378
Shares

मान्छेको भाग्य र उसले पाउने अवसरहरूको नक्सा कहाँ लेखिएको हुन्छ, मलाई थाहा छैन । सम्बन्ध र प्रेमको भविष्यवाणी पनि कता लेखिएको हुन्छ, त्यो पनि थाहा छैन । कहिल्यै नचिनेका मान्छे र स्थानबाट ममाथि प्रशस्त प्रेम बर्सिरहेको थियो त्यो गाउँमा । अहिले भने गाउँकै नाम पनि बिर्सिसकेछु । र त्यति माया गरेर मलाई घरैमा निम्त्याउने परिवारका कुनै सदस्यको नाम पनि सम्झना छैन ।

त्यो बेलाको डायरीको कुना काप्चामा कतै भेटिन्छ कि भनेर खोजें पनि । अहँ भेटिएन । त्यो घरकी सुन्दर छोरीको पत्र पोष्ट कार्डहरू आइरहन्थे पछिसम्म नै । म पनि ढिलो नगरी जवाफ दिन्थें । कृतज्ञता व्यक्त गर्थें । तर अहिले भने न त्यो नाम भेट्छु, न उनका पत्रहरू नै । तर त्यो परिवारको माया र सिंगो गाउँको तस्बिर भने मनमा जताततै अझै टाँसिएको रहेछ र त यी कुराहरू लेख्न सकिरहेकी छु ।

त्यसलाई अब एउटा स्वप्न गाउँकै नाम दिनुपर्ने भयो । अहिले त त्यो गाउँ भव्य सहर नै बनिसकेको पनि हुनसक्छ । मैले त्यहाँ भेटेका पात्रहरू पनि के के भए, क–कसले सम्झेका होलान् कुन्नी ! कति त बिती पनि सके होलान् । साढे तीन दशकको अवधिमा संसारमा ठुलठुलै परिवर्तन भइसकेका छन् ।

त्यो गाउँ पुगेको भोलिपल्ट बिहानै बाबु–छोरी मिलेर मलाई गाउँको मेला देखाउन लगे । मेलामा परम्परागत भेष–भुसामा नाचगान पनि चलिरहेको थियो । ज्यादै मन तान्ने अचम्मको कुरा त जिउँदा बोटमै फुलिरहेका रङ्गीचङ्गी फुलैफूलहरूको विशाल ‘गलैँचा’ थियो । बयानै गर्न नसकिने जस्तो सुन्दर थियो त्यो फूलको गलैंचा । कति मान्छेको परिश्रम, माया र धैर्यले सृजना भएको होला त्यो अद्भूत कला ! जापानीहरूको कला र परिश्रमलाई संसारभरी सबैले प्रशंसा नै गर्छन् । म मुग्ध नहुने कुरै भएन । बारम्बार “आहा !’’ भनिरहेँ ।

मैले बुझें, यस्तै मौलिक मेला देखाउनलाई पो साथीहरूले मलाई यो गाउँमा पठाएका रहेछन् भन्ने कुरा । गाडी हाँक्ने ती भलाद्मी त मेरा निम्ति बाबु सरह नै भए । उनकी छोरीको एउटा सानो बच्चा पनि थियो । हिंडिरहेको बेला मलाई पनि बच्चा बोक्न मन लाग्यो । मैले पनि उसलाई बोकें । नचिनेको भए पनि मसँग पनि मान्यो बच्चा । ज्यादै हिस्सी परेको बच्चा थियो, मात्र दश महिनाको । मेलामा घुम्दा घुम्दै नै उनीहरूको परम्परागत खानेकुरा पनि किनेर खुवाए । ती सबैको अर्थ बुझाउँदै । म एकजना मात्र विदेशी पाहुना भएकी थिएँ । सिंगो गाउँकै निम्ति विशेष ।

नजिकै अर्को एक ठाउँमा मलाई विशेष आसनमा बसाएर त्यहाँ भइरहेको ‘टि सेरोमनि’मा सामेल गराए । परम्परागत किमोनो लगाएकी एक सुन्दर महिलाले एकदमै विनम्रता र धैर्यपूर्वक पाहुनालाई चिया अर्पण गरिने कलाको प्रदर्शन गरिन् ।

मलाई पनि सानो कलात्मक कचौरामा चिया राखेर खान दिइन् । त्यो भव्य सत्कार र मेरो हैसियतबिच वास्तवमा त्यहाँ तालमेल मिलिरहेकै थिएन । सबै कुरा मेरा निम्ति बढि नै लागिरहेको थियो । त्यहाँ बस्दाबस्दै जापानी भाषामा कृतज्ञता व्यक्त गर्ने थोरै शब्द सिकेकी थिएँ । उनीहरूले जस्तै राम्रैसँग झुकेर ’आरिगातो गोजाईमस्’ भनें ।

फर्केर त्यो साँझ त्यहीं बस्नु थियो– “युरोपियन स्टाइल’’को होटल जस्तो कोठामा । बेलुकीको डिनर अलि छिट्टै खाएपछि फेरि अर्को एउटा कार्यक्रममा जाने कुरा सुनाइन् नयाँ साथीले । घरकै वरिपरी नजिकै एउटा घरमा लगे । त्यहाँ गाउँको चलनअनुसार एकजना महिलाले नयाँ पाहुनालाई फूलको सजावट– इकेबाना– देखाइन् ।

धेरै किसिमका फूलहरूलाई फूलदानीमा कलात्मक ढंगले सजाउने शीप प्रायः सबैजसो महिलाले युवावस्थामा नै सिक्दा रहेछन् । सबैले नै कुनैबेला त्यो शीपलाई बिधिवत् प्रदर्शन गरेर देखाउने चलन रहेछ । त्यो साँझ मेरो निम्ति विशेष कार्यक्रम राखेका रहेछन् । हेर्दै गएपछि कति सुन्दर चलन रहेछ भन्ने मनमा लागिरह्यो ।

त्यही ठाउँमा भेटेको एउटा ७ वर्ष जतिको सानो बच्चाले मलाई उसको नजिकैको घरमा जान अनुरोध ग¥यो । भर्खरै बनेकी मेरी नयाँ साथीले उसको मनको कुरा सुनाइन् र जाऔं भनिन् ।
केही नसोची म पनि पछि लागेँ । हाम्रो बिचमा धेरै कुराकानी त हुन सक्ने थिएन– भाषा नै तगारो बनेको थियो । तर त्यो बच्चाको पवित्र पारदर्शी मन र उसले परिवारभित्र पाएको शिष्टताको संस्कार स्पष्ट झल्किन्थ्यो– उसका हरेक व्यवहारमा । मनको भाषा बुझिन्थ्यो ।

मलाई उसकै भाषाले के के भन्यो भन्यो । उसको हार्दिकताले मेरो मन प्रफुल्ल भएको थियो । मेरो मनले पनि उसलाई साथी बनाउँदै थियो । उसको नाम हिरोशी रहेछ । उसलाई मैले हिरोशी भनेर जिउमा थप्थपाएँ । हात मिलाएँ । उसले मलाई अर्को कोठामा लिएर गयो । अनि उसका गनिनसक्नु खेलौनाहरू देखाउँदै र भन्यो, “यो तिमीलाई दिन्छु, लिएर जाउ…।’’

खेलौना बाजाहरू कुनै मुखले बजाएर, कुनै हातले बजाएर देखायो । म पनि बच्चा जस्तै भएर रमाएँ । मैले भन्न जानेका थोरै शब्दहरु दोहो¥याइरहें । आफ्नी आठ वर्षकी प्यारी छोरीलाई उसको बाबुसँग नेपाल पठाएपछि लामै समय मलाई गाह्रै भईरहेको थियो । हिरोशीले मलाई मातृत्वको नयाँ पाठ सिकायो र म एकछिन फेरि आमाकै मन लिएर उसँग खेलेँ । आफ्नो बच्चालाई झनै सम्झँदै । त्यतिबेला हाम्रो सानो परिवारको सानो संसार तीनवटा देशमा तीनतिर छरिएको बेला थियो । छोरी नेपालमा । उसको बुवा छोरीलाई घरमा छोडेर फेरि चीनमा । म भने जापानमा अरुकै बच्चासँग खेल्दै थिएँ ।

बेलुकी फर्किने बेला उसले मलाई नजाउ भन्यो । जाने भए उसका खेलौनाहरू लिएर जाउ भनी खेलौनाको थुप्रो मेरो अगाडि राखि दियो । मैले उसको पवित्र त्यो मायालाई देख्दा एकछिन खुसी पनि लाग्यो । एकछिनका निम्ति ऊ मेरै छोरा भयो । उसले दिएको सबै खेलौना लिने कुरा भएन । उसको मन बुझाउन एउटा मुखले बजाउने सानो जापानी बाजा लिएँ । उसलाई अँगालो मारेँ ।

फर्केर कोठामा आएपछि मैले मेरो डायरीमा लेखेकी रहिछु – “यो जापानी गाउँमा मैले अर्को एउटा बाबु बनाएँ । एउटा छोरा पनि” । त्यो गाउँको नाम बिर्से पनि माया भने हृदयमा गाडिएर बसेको रहेछ – कहिल्यै नमेटिने गरि ।

प्रतिक्रिया दिनुहोस्