Logo
Logo

२१ प्रतिशत लाभांश पारित गर्दै सकियो नेपाल लाइफको साधारण सभा


693
Shares

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष गोविन्द लाल संघइको अध्यक्षतामा शनिबार होटल भिष्वा, बीरगंज पर्सामा आयोजना गरिएको साधारणसभाले आ.व.२०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

त्यस्तै आ.व. २०८१/८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रु. ९,०२,८७,६३,२०९ को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम रु. १,९०,०७,९२,२५५ (अक्षेरुपी एक अर्ब नब्बे करोड सात लाख बयानब्बे हजार दुई सय पचपन्न मात्र) शेयरधनीहरुलाई लाभांशको रुपमा प्रदान गर्ने, जसमा १६.०५ प्रतिशत नगद लाभांश (लाभांशको कर सहित) र ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

साधारणसभाले संस्थापक समूह अन्र्तगत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि शनिबारै बसेको संचालक समितिको ४०७औं बैठकले गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षको रुपमा चयन गरेको छ ।

अध्यक्ष गोविन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई चुनौतिहरु बीच अझै थप उचाइमा पु¥याउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले वर्तमान म्याक्रो इकोनोमिक परिस्थितिले गर्दा बीमा व्यवसायको आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा सम्पूर्ण सरोकारवालाहरू एक ढिक्का भएर कार्यसम्पादन गर्न आग्रह गरे । आर्थिक स्थायित्व नै राष्ट्रको चौतर्फी स्थायित्वको आधारस्तम्भ रहेको र सो स्थायित्व कायम गर्न सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने अवस्था सृजित भएको उनले बताए ।

२६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संघर्षरत अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धीहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे ।

आर्थिक स्थिति सहज नभएको अवस्थामा पनि लाभांश वितरण गर्न पाउँदा गौरवान्वित महसुस भएको उनले बताए ।
लगानी विविधिकरणलाई केन्द्रबिन्दुमा राख्दै कम्पनी अगाडि बढिरहेको र सो लाई नै मूर्तता प्रदान गर्न विभिन्न कार्यहरु भइरहेको बताए ।

२०८२ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २४५ अर्ब रुपैयाँ र शेयरधनी कोष रु. १३ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यसका साथसाथै कम्पनीले हालसम्म रु.३२६ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने रु. १०३ अर्ब जम्मा दावी भुक्तानी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्