काठमाडौं । कोशी प्रदेश सरकारका मन्त्रीहरू हेरफेर गर्ने भएको छ । कोशी प्रदेश सरकारले आज मङ्गलवार मुख्यमन्त्रीबाहेक सबै मन्त्रीहरू फेरबदल गर्न लागेको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की पार्टी केन्द्रीय कमिटीको सचिवालय पुगेर फर्किए लगत्तै मन्त्रीहरूको नाम टुङ्गो लगाएपछि आजै शपथ ग्रहण गराउने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मन्त्रीहरूको आजै साँझ साढे ४ बजेतिर शपथ ग्रहणको तयारी भइरहेको छ । नयाँ नियुक्त हुन लागेका मन्त्रीहरूमा झापाका चिन्तन पाठक, धनकुटाका इन्द्रमणि पराजुली, सङ्खुवासभाका विदुर कुमार लिङ्थेप र सुनसरीका रामप्रसाद मेहता मन्त्रीमा नियुक्त हुँदै छन् । त्यस्तै मोरङका उमाकान्त गौतमलाई राज्य मन्त्री बनाउन लागिएको हो ।
एमालेबाट सरकारमा जाने नयाँ अनुहारमा लिङथेप आर्थिक मामिला तथा योजना, पाठक खानेपानी सिँचाइ तथा ऊर्जा, पराजुली आन्तरिक मामिला तथा कानुन, र रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी मुख्यमन्त्रीको छ । उमाकान्त गौतम राज्य मन्त्री बनाउने तयारी भइरहेको छ ।
त्यस्तै नेपाली कांग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार, मोरङका मानबहादुर लिम्बू, र भीम पराजुली, सुनसरीका इस्राइल मन्सुरी मन्त्री बन्न लागेका हुन् । त्यस्तै शोभा चेम्जोङलाई नेपाली कांग्रेसले राज्यमन्त्रीमा नियुक्तको लागि मुख्यमन्त्रीलाई सिफारिस गरेको छ । सुनुवारलाई भौतिक पूर्वाधार, लिम्बु स्वास्थ्य, मन्सुरीलाई कृषि, पराजुलीलाई पर्यटन वन तथा वातावरण मन्त्री बन्न लागेका हुन् । राज्यमन्त्री चेम्जोङलाई पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ । नव नियुक्त मन्त्रीहरूलाई आजै शपथको लागि अनौपचारिक जानकारी आएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।












