काठमाडौं, २७ पुस । श्रीलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट अध्यक्षमा ओमप्रसाद उप्रेती, उपाध्यक्षमा इन्द्रप्रसाद गुरागाईं, सचिवमा होमनाथ दंगाल, कोषाध्यक्षमा ध्रुवराज बराल, सदस्यहरुमा चेतराज खतिवडा, ज्ञानप्रसाद चौलागाईं र मीना पोखरेल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, लेखा समितिको संयोजकमा जगन्नाथ खनाल, सदस्यहरुमा बद्रीनाथ न्यौपाने, पुष्पराज दंगाल निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक ठाकुरप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सचिव ठाकुरप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक न्युरोड शाखा प्रमुख रमा घिमिरे, नेपाल चेम्बर अफ कमर्सका सदस्य भीमप्रसाद पौडेल, द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द श्रेष्ठलगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संस्थाका सचिव होमनाथ दंगालले सञ्चालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष छविलाल तिमिल्सिना र लेखा समिति संयोजक जगन्नाथ खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सेयर पुँजी ३ करोड १५ लाख ३१ हजार रहेको संस्थाले आर्थिक वर्ष २०८१/८२ मा १९ करोड २७ लाख ९० हजार १२९ बचत संकलन गरी १३ करोड ४२ लाख ७८ हजार ६७६ लगानी गरेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य हरिलाल कँडेल, जमुना पौडेललाई सम्मान गरिएको थियो भने उत्कृष्ट कारोबार गर्ने सदस्य घनश्याम सापकोटा र सुन्दर तामाङलाई पनि सम्मान गरिएको थियो ।
मुलुकको विषम परिस्थिति, सहकारी क्षेत्रमा देखिएको समस्याका कारण सहकारी संस्थाहरुप्रति जनमानसमा देखिएको अविश्वासको समयमा पनि सेयरधनीहरुको मन जित्न सफल भएको श्रीलाभले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।











