काठमाडौं । नेपालमा बैंकप्रति बढ्दो अविश्वास र बैंकविरोधी आवाजकको अपजसको मुख्य भागीदार एनआइसी एसिया बैंक भएको धेरैले बताउँदै आएका छन् । यो असन्तोषको जरो बैंकको आन्तरिक व्यवस्थापन कमजोरी र नेतृत्व संकटसँग गाँसिएको छ । एनआइसी एसिया बैंकमा नीतिगत स्थायित्वभन्दा व्यक्तिकेन्द्रित निर्णयले बैंकलाई निरन्तर विवादको घेरामा पु¥याएको छ ।

अर्थतन्त्र मन्दीमा जाँदा उद्योग–व्यवसायलाई सहज बनाउने दायित्व बैंकहरूको हो । तर पछिल्ला वर्षहरूमा बैंकहरू कर्जा प्रवाहभन्दा कर्जा असुलीमै केन्द्रित भएको देखिन्छ । दैनिक पत्रपत्रिकामा प्रकाशित लिलामी सूचनाको बढ्दो संख्या केवल ऋणीको समस्या होइन, बैंकहरूको जोखिम मूल्यांकन र कर्जा व्यवस्थापन असफलताको द्योतक हो । एनआइसी एसियामा देखिएको तीव्र लिलामी प्रवृत्तिले बैंक र सेवाग्राहीबीचको सम्बन्धलाई विश्वासबाट टकरावतर्फ धकेलेको छ ।
एनआइसी एसियाले आक्रामक रूपमा बजार विस्तार गर्ने रणनीति अपनायो । शाखा संख्या, कर्जा आकार र बजार हिस्सा बढाउने होडमा जोखिमको गहिरो मूल्यांकन हुन सकेन । सस्तो ब्याजदरको प्रचार गरेर ऋणी आकर्षित गर्ने र पछि ब्याजदर बढाउने अभ्यासले धेरै व्यवसायीलाई ऋणको चक्रमा फसाएको गुनासो व्यापक छ । यसले कर्जा गुणस्तर कमजोर बनाउँदै बैंकलाई खराब कर्जाको दबाबमा ल्याएको छ ।
नियामक नेपाल राष्ट्र बैंकले समयमै कडाइ नगर्दा समस्या झन् गहिरिएको छ । मर्जरपछि अझ बलियो हुने भनिएका बैंकहरू भित्रैबाट कमजोर बन्दै गएको चर्चा बैंकिङ वृत्तमै चलिरहेको छ । एनआइसी एसियाले शाखा बन्द गर्न राष्ट्र बैंकसँग अनुमति माग्नुले पनि बैंक स्वयं दबाबमा रहेको सन्देश दिएको छ । यस्तो सूचनाले निक्षेपकर्तामा त्रास फैलनु स्वाभाविक हो ।
व्यवस्थापन तहमा निरन्तर अस्थिरता अर्को गम्भीर समस्या बनेको छ । अघिल्लो सिइओ रोशनकुमार न्यौपाने कार्यकाल नसकिँदै बाहिरिए । राष्ट्र बैंकको कारबाही र आन्तरिक विवादबीच उनको बहिर्गमनले बैंकको नेतृत्व क्षमतामाथि प्रश्न उठायो । त्यसपछि सिइओ बनेका सुजितकुमार शाक्यको पृष्ठभूमि पनि स्थायित्वभन्दा विवादले भरिएको छ । उनी काम गरेका बैंकमा दीर्घकाल टिक्न नसकेको तथ्य बैंकिङ क्षेत्रमै चर्चित छ ।
शाक्यको नेतृत्व शैलीलाई लिएर बैंकभित्रै प्रश्न उठिरहेका छन् । संस्थागत निर्णयभन्दा अध्यक्ष र सञ्चालक समितिको प्रभाव बढी देखिन थालेको गुनासो कर्मचारी तहमा सुनिन्छ । अध्यक्ष अशोककुमार अग्रवालको निर्णायक भूमिकाले सिइओको भूमिका कमजोर बनेको आरोप लाग्दै आएको छ । यस्तो संरचनामा सिइओ रणनीतिक नेतृत्व दिन सक्ने कि केवल आदेश पालकमा सीमित हुने भन्ने चिन्ता बढ्दो छ ।
एनआइसी एसियाको वर्तमान अवस्था हेर्दा समस्या केवल खराब कर्जा वा बाह्य आर्थिक मन्दीमा सीमित छैन । नेतृत्वको अस्थिरता, व्यवस्थापनको कमजोर समन्वय र नियामकसँगको टकरावले बैंकलाई थप जोखिमतर्फ धकेलिरहेको देखिन्छ ।
यही कारण बैंकप्रति असन्तोष बढ्दै जाँदा बैंकविरोधी आवाजहरूलाई सामाजिक समर्थन मिलिरहेको छ । यदि एनआइसी एसियाले आन्तरिक सुधार र सक्षम नेतृत्वमार्फत विश्वास पुनःस्थापित गर्न सकेन भने, आजको व्यवस्थापन संकट भोलिको गहिरो संस्थागत संकटमा रूपान्तरण हुने खतरा टड्कारो देखिन्छ ।












