नेपाली जनताले ७५ वर्षदेखि पटकपटक आन्दोलन गरेर नयाँ संविधान ल्याए पनि संविधान कार्यान्वयन नहुँदा कुनै पनि संविधानले जनताको आधारभूत समस्यालाई सम्बोधन गर्न सकेन । जसका कारण गत भदौ २३ र २४ गते जनविद्रोह जन्मियो ।

त्यो जनविद्रोहबाट जनता कति आक्रोशित रहेछन् भन्ने कुरा बुझियो । भदौ २४ गतेको आन्दोलन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र शीतलनिवासजस्ता संवेदनशील क्षेत्रमा आगो लाग्दासमेत सरकारले संविधानले दिएको अधिकार प्रयोग गरेन । त्यसैले अहिले देश अत्यन्तै गम्भीर मोडमा छ । देशै नरहने हो कि भन्ने चिन्ता व्यापक भएकोले हामी नेपालीले देश जोगाउन गम्भीर हुनुपरेको छ ।
उपरोक्त भनाइ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको हो । पद्मरत्न लुमति गुठीद्वारा हिजो आइतबार आयोजित समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै श्रेष्ठले त्यत्रो ‘जनयुद्ध’बाट स्थापित संविधानसभाबाट निर्मित अहिलेको संविधान व्यवहारमा कागजको खोस्टो भएको बताए ।
उनले भने– ‘संविधानले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र त भन्यो तर समाजवादसम्म पुग्ने आधार तयार गरेन । मौलिक हक संविधानमा मात्र सीमित भयो, जनताले उपभोग गर्न पाएनन् । त्यसैले संविधान जनतालाई झुक्याउनका लागि मात्र होइन, देश र जनताको सर्वोपरी हितका लागि हुनुपर्छ । दुर्भाग्य, देशमा दूरगामी सोच भएका नेता नै भएनन् ।’
पूर्वप्रधाधनन्यायाधीश श्रेष्ठले अगाडि भने– ‘संविधान संशोधन गर्ने नाममा दुई ठूला पार्टीको सरकार त बन्यो, तर संविधान संशोधनलाई प्राथमिकता नै दिइएन । हाम्रो संविधानमा संविधान संशोधन गर्न दुईतिहाइको प्रावधान राखेको छ, तर दुईतिहाइ कुनै पनि दलको नपुग्ने समानुपातिक प्रणाली छ । त्यसैले यो प्रणाली रहेसम्म राजनीतिक अस्थिरता रहन्छ, संविधान संशोधन हुँदैन । अर्को महत्वपूर्ण कुरा, जसलाई समेट्न समानुपातिक प्रणाली भनिएको छ, त्यही वर्ग आफ्नो अधिकारबाट वञ्चित छ । यो भनेको समानुपातिक प्रणालीको दुरुपयोग हो ।’
उनले थपे– ‘संविधानले दिएको अधिकार कार्यान्वयन नहुनु सामन्ती सोच र केन्द्रिकृत व्यवहार हो । जसका कारण प्रहरी, निजामती ऐनमात्र होइन, संविधान कार्यान्वयन गर्न आवश्यक अरु थुप्रै ऐन बन्न सकेको छैन । शासनसत्तामा रहने नेताहरुको सोच परिवर्तन नहुँदासम्म संविधान कार्यान्वयन सम्भव छैन । त्यसैले अब संविधान सुधार र रुपान्तरण गर्ने बेला आएको छ ।’
गुथीका अध्यक्ष डा. केशवमान शाक्यकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नरेशवीर शाक्यलगायतका नेवार समुदायले आ–आफ्नो विचार राखेका थिए ।












