काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा सुदूरपश्चिमका वरिष्ठ राजनीतिज्ञ बलदेव बोहराको आज दिउँसो निधन भएको छ । कम्मरको शल्यक्रियापछि उपचाररत बोहराको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२००८ साल जेठ ६ गते कञ्चनपुरको बेदकोटमा जन्मिएका बोहराले २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । भिमदत्त पन्त र बीपी कोइरालाबाट प्रेरित उनी पाँच वर्ष जेल जीवन बिताएका कांग्रेसका संस्थापक नेतामध्ये एक थिए ।
प्रजातन्त्र स्थापना पछि २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरका सभापति बनेका बोहरा २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका राजनीतिक सल्लाहकार रहे । २०७० सालमा संविधानसभा सदस्य बनेर संविधान निर्माणमा योगदान दिएका उनी राष्ट्रिय सभाका सदस्यका रूपमा पनि सक्रिय थिए ।
उनको निधनसँगै सुदूरपश्चिमले एक निष्ठावान र संघर्षशील राजनीतिक व्यक्तित्व गुमाएको छ ।











