Logo
Logo

सानो छँदा दशैँ खुबै रमाइलो लाग्थ्यो-खुसी थुलुङ, गायिका


- दृष्टि न्युज/संवाददाता


एक कुसल गायिका खुसी थुलुङ । तर, उनको रुचि गायनमा मात्रै छैन, भनेजस्तो अवसर पाए मोडलिङ र अभिनय गर्न पनि तयार छिन् उनी । थिएटर अभिनयसमेत सिक्दै गरेकी खुसी भन्छिन्, ‘म सानो हुँदा खुबै नाच्थेँ, त्योबेला गायिका बन्छु भन्न सोचेकी थिइनँ ।’ इलाम माइपोखरीकी खुसीले संगीतकै विषयमा स्नातक गरेकी छन् । एसएससी उर्तिणपछि गाउने रहर जागेको हो उनलाई । ‘म गाउन सक्छु भन्ने लागेपछि संगीतलाई प्राथमिकता दिएकी हुँ’ खुसीले विगत खोतल्दै भनिन्, ‘अनमीमा नाम निकालेर पनि संगीत मोहले गर्दा छाडेँ ।’ खुसीले पहिलोपटक रेकर्डिङ गरेको गीत थियो, ‘आउन आउ प्रदेशी राजा’, जुन गीत श्रोता÷दर्शकले अत्याधिक रुचाए पनि । हालसम्म खुसीले तीन दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । तीमध्ये ‘सपनी निष्ठूरी त्यो’, ‘देख्न मन लाग्यो’, ‘काली छु कि गोरी’जस्ता गीत चर्चित छन् । संगीतकै विषय लिएर स्नाकोत्तर अध्ययन गर्ने सोचमा रहेकी गायिका खुसी थुलुङसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

गीतसंगीतमै व्यस्त छु । केही दिनअघि मात्रै मेरो एउटा गीतको भिडियो सुट गरेकी छु । ‘राम साइँला’ बोलको उक्त गीतको भिडियो केही दिनमै रिलिज गर्दैछु ।

‘राम साइँला’ कस्तो किसिमको गीत हो ?

पुर्वेली फ्लेवरको लोकशैलीको गीत हो । यो गीत तथा भिडियोबाट आशावादी पनि छु किनकि, भिडियो मैले सोचेभन्दा राम्रो बनेको छ । ‘राम साइँला’को भिडियोमा रुकमान लिम्बू र नायिका वर्षा सिवाकोटीले अभिनय गर्नुभएको छ । उहाँहरुको काम एकदमै राम्रो छ ।

तपाइँले गाउन थाल्नुभएको कति भयो ?

सात वर्ष भयो । ०७१/७२ सालतिर गाउनु सुरु गरेकी हुँ । त्यस यताचाहिँ निरन्तर गायनमै छु ।

गायनमा किन र कसरी प्रभावित हुनुभयो ?

सानोमा म खुबै नाच्थेँ । नाच्न भनेपछि हुुरुक्कै हुने म । तर, एसएलसी दिएपछि स्टेजमा गाउने र नाच्ने दुवै गर्थेँ । स्टेजमा गाउँदा जाँदा गाउन पनि सक्नेरहछु भन्ने लागेर गायन रोजेकी हुँ ।

पहिलोपटक गाउनुभएको गीत कुन हो ?

पहिलोपटक ‘आउन आउ प्रदेशी राजा’ बोलको गीत रेकर्ड गरेकी थिएँ । त्यो गीत दर्शक तथा श्रोताले मन पराए पनि । अहिले पनि त्यो गीत टिकटकमा हिट नै छ ।

नाच्न रुचाउँने मान्छे मोडलिङ वा फिल्मतिर किन लाग्नु भएन ?

रुचि त अहिले पनि छ । तर, गायनमा छु, त्यसैले नाच्ने काम गरेकी छैन । हिजोआज अलि मोटाएकी पनि छु । ज्यान घटाएपछि मोडलिङ गर्ने सोच छ ।

यसको मतलव फिल्ममा आउने सोच छ, होइन त ?

अभिनयमा रुचि छ । त्यसैले भविष्यमा फिल्ममा पनि आउन सक्छु ।

दशैँ लागिसक्यो, योजना के छ ?

यसपालीको दशैँ यतै ललितपुरमा मनाउँदैछु । तिहारमा चाहिँ इलाम जाने सोच बनाएकी छु ।

दशैँ–तिहार कतिको रमाइलो लाग्छ ?

सानो हुँदा खुबै रमाइलो हुन्थ्यो । नयाँ लुगा, दक्षिणा पाइने भएकाले पनि दशैँ रमाइलो हुन्थ्यो । अहिलेचाहिँ खाशै हुन्न ।

सानोमा दशैँको कुनै अविष्मणीय क्षण छ ?

म घरकी एक्लो छोरी हुँ । मेरो एक दाजु र भाई छन् । मेरो दाजु मन थुलुङ पनि गीतकार हुनुहुन्छ । सानो हुँदा बुबाले टिका लगाइदिँदा सुरुमा सबै जनालाई बराबरी दक्षिण दिनुहुन्थ्यो । तर, भरे बाबुले लुकाएर मलाई दक्षिणा थपिदिनुहुन्थ्यो । त्यो सम्झिँदा अहिले पनि रमाइलो लाग्छ ।

तपाइँलाई घर परिवारको सर्पोट छ कि छैन ?

सुरुमा थिएन । आमा–बुबाको मलाई नर्स वा अहेब बनाउने इच्छा थियो । मैले अनमीमा नाम पनि निकालेकी थिएँ । तर, अनमी पढ्न छाडेर संगीतमा लागेँ ।

अन्त्यमा फिल्मकै कुरा, कस्तो फिल्ममा प्रस्ताव आए काम गर्नुहुन्छ ?

फिल्म भनेको स्क्रिप्टको आधारमा काम गर्नुपर्छ । त्यसै स्क्रिप्ट हेरेर आफूलाई सहज लाग्यो भने गर्छु । कल्चरल फिल्मको लागि अफर आएको पनि थियो । तर, आफैँलाई मोटी लागेर गरिनँ । अब ज्यान बनाउने योजना छ । त्यसपछि हेरौँला ।

 

प्रतिक्रिया दिनुहोस्