काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको इपिसेन्टर बनेको छ– झापा पाँच । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका बालेन आमनेसामने भएपछि झापा पाँच राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ ।
इन्डिया–पाकिस्तानबीचको क्रिकेट म्याचभन्दा पनि ओली–बालेनबीचको चुनावी भिडन्त धेरैको प्रतीक्षाको विषय बनेको छ । चिया पसलदेखि ‘टिकटक’का वालसम्म एउटै प्रश्न छ– झापा पाँचमा कसको झण्डा गाडिएला ? एमाले कि रास्वपाको ? इलेक्सनको इपिसेन्टर बनेको यो क्षेत्र अब साधारण निर्वाचन क्षेत्र रहेन । पुरानो शक्ति र नयाँ शक्तिबीचको खुला ‘ब्याटल ग्राउन्ड’ बनेको छ ।
यो लडाइँ ‘बा’ भर्सेस् ‘बालेन’ मात्र होइन, यो स्थापित सत्ता र उदाउँदो शक्तिबीचको लडाइँ हो । एकातिर नेपाली राजनीतिका चतुर खेलाडी र कार्यकर्ताका प्रिय ‘बा’ ओली छन्, अर्कोतिर युवाहरूको ढुकढुकी बालेन । ओलीको पछाडि विशाल पार्टी संगठन छ, जरा गाडेको संरचना छ । बालेनको पछाडि युवाको ‘क्रेज’, आक्रोश र परिवर्तनको चाहना छ ।
के संगठनको बलियो जालोले बालेनको ‘क्रेज’लाई रोक्न सक्ला ? या बालेनको क्रेजले ओलीको ‘ओज’लाई ओझेलमा पार्ला ? बाजी कसले मार्लान् ? बाको अनुभवले कि ‘बालेन’को जोशले ?
ओलीका लागि यो प्रतिष्ठाको अन्तिम लडाइँ हो भने बालेनका लागि आफ्नो राजनीतिक उचाई नाप्ने ‘ब्यारोमिटर’ । ओली पटक–पटक प्रधानमन्त्री भइसकेका छन् । र, फेरि पनि ‘सिंहदरबार’ छिर्ने रेसमा छन् । यता, बालेन भने प्रधानमन्त्रीको प्रोजेक्टसहित चुनावी दौडमा छन् । एउटासँग अनुभवको भारी छ, अर्कोसँग हुटहुटीको आँधी । एकजना इतिहास जोगाउन लड्दैछन्, अर्का इतिहास लेख्न तम्सिएका छन् । ओलीलाई लागेको छ– झापा पाँच मेरो पेवा हो । तर बालेनको हुंकार छ– अब ओलीको सेवा सकियो ।
के छ बालेनको मास्टरप्लान ?
बालेनको टिम झापामा ‘थ्री–लेयर सेक्युरिटी म्यानेजमेन्ट सिस्टम’ लिएर उत्रिएको छ । अर्थात् तीन तहको सचिवालय लागू गरिएको छ । मुख्य सचिवालय दमकस्थित लक्की सिटौलाको घरमा राखिएको छ, जो रास्वपाका स्थानीय नेता हुन् ।
पहिलो घर– द डिजिटल फर प्लेस
सामाजिक सञ्जाल नै बालेनको शक्ति हो भन्ने यो घरले प्रमाणित गर्छ । १५ जनाको विशेषज्ञ टोली २४ सैँ घन्टा खटिएका छन् । यो घर कन्टेन्ट क्रियटर, आइटी विज्ञ र भिडियो एडिटरले भरिएको छ । नेता कार्यकर्तालाई यहाँ प्रवेश निषेध छ । यो घरबाट डिजिटल वारको रणनैतिक तयारी हुन्छ ।
दोस्रो घर– द कमान्ड सेन्टर
यो घरमा बालेन स्वंम बस्छन् । तर सामान्य कार्यकर्तालाई भने प्रवेश निषेध छ । राजनीतिक भेटघाट र निर्णय यहीँबाट हुन्छ । यो सामाजिक सञ्जालको टिम र चुनावी कमान्डरहरूसँग तत्काल रणनीति तय गर्ने केन्द्र हो ।
तेस्रो घर– द इम्प्लिमेन्टेसन हब
यो घर फिल्ड वर्क केन्द्र हो । यहाँ बालेनका निकट नेताहरू र रास्वपाका स्थानीय नेताहरु रहेका छन् । यहाँबाट मतदाताको गोप्य सर्वेक्षण गरिनेछ । युवा, वृद्धा र वैदेशिक रोजगारीमा गएका छान्ने र घरदैलो अभियानको योजना यहीँबाट हुन्छ ।
रास्वपाले झापामा ¥यापिट क्सन टिम पनि बनाएको छ । कुनै अवरोध आए घटनास्थलमा तुरुन्त पुग्ने जिम्मेवारी यो टिमको रहेको छ । तर, फ्रन्टलाइनमा भने बालेनको कोर टिम र झापाका स्थानीइ नेताहरू रहनेछन् । यसले के देखाउँछ भने बालेन रास्वपमाथि पूर्ण निर्भर छैन । आफ्नै बल र रणनीतिले ओली जस्ता पुराना शक्ति धारण गर्ने नेताहरूलाई चुनौती दिन तयार छन् ।
ओलीको ‘राजनीतिक साम्राज्य’
झापा पाँच केवल एउटा भूगोल मात्र होइन, ओलीको ‘राजनीतिक साम्राज्य’ हो । उनको शक्ति, सामथ्र्य र दीर्घकालीन वर्चस्वको मापन गर्ने प्रयोगशाला हो । २०४८ सालदेखि (२०६४ को अपवादबाहेक) उनी यही क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका छन् । यहाँ एमाले संगठन बलियो छ । गत निर्वाचनको मत मरिणामलाई हेर्ने हो भने पनि यहाँ ओली कति बलियो छ भन्ने प्रस्ट हुन्छ ।
गत निर्वाचनको मत परिणाम हेर्ने हो भने ओलीको प्रभाव स्पष्ट देखिन्छ । ओलीले ५२ हजार तीन सय १९ मत पाएका थिए भने रास्वपाका उम्मेदवार सुरेशकुमार पोखरेलले मात्र ११ हजार ७ सय ४८ मत पाएका थिए । समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८ सय ७२ मत ल्याएको थियो भने रास्वपाको मत १८ हजार २ सय ५ थियो । ओलीले झापामा र विकासका काम पनि निकै गरेका छन् । भ्युटावरदेखि सडक सञ्जालसम्म राज्यका अर्बौँ बजेट लगानी गरिसकेका छन् । त्यसैलाई ओलीले चुनावी एजेन्डा बनाएका छन् ।
ओली अहिले झापा–५ का स्थायी बासि समेत हुन् । त्यसैले ओलीलाई चुनौती दिनु भनेको ‘फलामको चिउरा चपाउनु’सरह हो । तर, बालेनलाई पनि कम आँक्न हुँदैन । उनको डिजिटल आर्मी, युवापुस्ताको उत्साह र राणनीतिले ओलीलाई पछार्ने सम्भावना ठूलो छ । झापा पाँच केवल दुई व्यक्तिको प्रतिस्पर्धा मात्र होइन, यो नेपाली राजनीतिको ’परम्परागत गढ’ र ’नयाँ लहर’ बीचको निर्णायक वारपारको लडाइँ हो । ओलीका लागि यो आफ्नो अन्तिम राजनीतिक विरासत जोगाउने युद्ध हुनेछ भने बालेनका लागि यो ‘जादु कि भ्रम’ भन्ने अग्निपरीक्षा हुनेछ ।











