Logo
Logo

टाइगर कपमा एनसेलको मुख्य प्रायोजन


189
Shares

काठमाडौँ । खेलकुद विकास र युवा सशक्तीकरणमा निरन्तर योगदान दिँदै आएको एनसेलले पोखरामा आयोजना हुन लागेको छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ।

आज शुक्रबारबाट सुरु हुने यो प्रतियोगिता टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुँदैछ। विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको टाइगर कपमा एनसेल गत वर्ष पनि मुख्य प्रायोजक रहेको थियो। यसपालि पनि आयोजकसँग साझेदारी गर्दै एनसेलले प्रतियोगिताको मुख्य प्रायोजन गरेको हो।

एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले टाइगर कपसँगको सहकार्यले खेलकुद र युवा सशक्तीकरणप्रति एनसेलको प्रतिबद्धता झल्काउने बताए। “यो सहकार्य स्थानीय स्तरमै हुर्किरहेका प्रतिभासँग जोडिएको छ। प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धन गर्नुका साथै स्थानीय युवालाई सशक्त बनाउँदै भविष्यका राष्ट्रिय खेलाडी विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौँ,” उनले भने। खेलकुदले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने पनि दत्ताले उल्लेख गरे।

माघ १७ गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुनेछ। प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले यो वर्ष पनि एनसेलसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे। “खेलकुदप्रतिको निरन्तर प्रतिबद्धतासहित टाइगर कपमा सहकार्य गरेकोमा हामी एनसेलप्रति आभारी छौँ। यस्तै सहकार्य, सहयोग र योगदानकै कारण हामी देशकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता आयोजना गर्न सफल भएका छौँ,” उनले भने।

छैटौँ टाइगर कपमा महिला तर्फ ५ र पुरुष तर्फ ६ गरी कुल ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्। महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड यूथ स्पोर्ट्स क्लब र थाइल्यान्ड क्विन्स सहभागी छन्। पुरुष तर्फ गण्डकी प्रदेश भलिबल सङ्घ पोखरा, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब, पर्वत जिल्ला भलिबल सङ्घ र माल्दिभ्सका टोलीहरू सहभागी हुनेछन्।

प्रतियोगिताका विजेता महिला तथा पुरुष टोलीले समान रूपमा प्रथम पुरस्कार रु ६ लाख ६६ हजार ६६६, दोस्रो पुरस्कार रु ३ लाख ६६ हजार ६६६ र तृतीय पुरस्कार रु २ लाख ६ हजार ६६६ प्राप्त गर्नेछन्।

एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले भलिबल मात्र नभई क्रिकेट, फुटबललगायतका विभिन्न खेलहरूको विकासमा समेत सहकार्य गर्दै आएको छ। साथै, आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणमा पनि सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्