
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा २ मा उम्मेदवारी दिएका उनले आज सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलगायतले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेका थिए । त्यसपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
यस्तो छ, उनले उम्मेदवारी फिर्ता लिनुको कारण–
देश विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी, दाजुभाइ र साथीहरू, हार्दिक नमस्कार !
मैले मेरो सारा जीवन नेपाल किन अल्प विकासको दुष्चक्रमा फस्यो ? हामी किन संसारकै सबैभन्दा गरिब देश बन्यौँ ? किन हाम्रा लाखौँ छोराछोरी, नातिनातिनाहरू विदेशमा जान बाध्य भए ? त्यसको निम्ति कसरी नेपाललाई छोटो अवधिमा विकास र समृद्धिको चुचुरोमा पु¥याउन सकिन्छ ? भनेर सारा जीवन चिन्तन मनन गरेँ । र मेरो विद्यावारिधिको विषय पनि त्यही थियो । त्यो सकेपछि दुनियाँ बुझ्ने मात्र होइन, बदल्नु पनि पर्छ भन्ने दार्शनिक मान्यताबाट प्रभावित भएर म दुनियाँ बदल्ने अभियानमा लागेँ ।
र त्यस क्रममा सबैभन्दा पहिले के बदल्ने त भन्दा, देशको जुन राजनीतिक प्रणाली हुन्छ, त्यसलाई पहिले बदल्नुपर्छ भन्ने कुरा मैले बुझेँ । युरोप, अमेरिका, रुस, चीन लगायतका देशहरूको इतिहास पढ्दा, पहिले देशको राजनीति बदलिएर, लोकतन्त्र ल्याएर, लोकतन्त्रलाई पनि समय अनुकूल उन्नत बनाउँदै लगेर मात्रै देश विकसित हुँदो रहेछ भन्ने बुझेँ । र देशमा त्यतिबेला म जन्मिएको र हुर्किएको बेला, आजभन्दा ५०–६० वर्ष पहिलेको बेला, देशमा जुन निरङ्कुश तन्त्र थियो, सामन्तवाद थियो, विभिन्न प्रकारका विभेद थिए, त्यसको अन्त्य गर्न राजनीतिक प्रणाली फेर्नुपर्छ भनेर म लागेँ । त्यस क्रममा कहिले शान्तिपूर्ण संघर्ष, कहिले सशस्त्र संघर्षमा पनि सहभागी हुन हामी बाध्य भयौँ । त्यसैको योगफल स्वरूप हामीले २०७२ सालमा संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी ग¥यौँ र त्यसले नेपाललाई एउटा लोकतान्त्रिकरणको चरण पूरा गर्न मद्दत ग¥यो ।
र लोकतान्त्रिकरणको चरण मूलतः पूरा भएपछि, अब मुख्यतः सुशासन र समृद्धि केन्द्रित नयाँ राजनीति गर्नुपर्छ भनेर मैले नयाँ शक्ति अभियान सुरुवात गरेँ । थुप्रै साथीहरूले साथ दिनुभयो र त्यो विभिन्न बाङ्गोटिङ्गो बाटो हुँदै अगाडि बढ्यो । र अहिलेसम्म आइपुग्दा देशमा पहिले नयाँ शक्ति, पछि रास्वपा र अहिले अन्य विभिन्न दल र प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतका विभिन्न दलहरू अगाडि आइराखेका छन् । र पुराना दलहरूको पनि रूपान्तरणको प्रक्रिया विभिन्न ढंगले अगाडि बढिरहेको छ ।
यसै क्रममा गत भदौ २३, २४ गते, सेप्टेम्बर ८, ९ मा नेपालमा जुन ढंगको जेन्जी विद्रोह भयो, त्यसले मैले १० वर्षदेखि भन्दै आएको कुरालाई नै पुष्टि ग¥यो भन्ने मेरो मान्यता रह्यो । किनकि जबसम्म राजनीतिक परिवर्तनलाई लागू गर्नको निम्ति आर्थिक, सामाजिक परिवर्तन तीव्र गतिले हुँदैन, खासगरी हाम्रा युवाहरूलाई देश भित्रै सम्मानजनक, उत्पादनमूलक रोजगारी सिर्जना गर्न सकिन्न, तबसम्म देशमा लोकतन्त्रको पूर्णता सार्थक हुँदैन भन्ने कुरालाई पुनर्पुष्टि ग¥यो ।
र त्यसपछि नै मैले अब एउटा कुनै राजनीतिक दल विशेषमा मात्र टाँसिएर बस्नुभन्दा पनि, म ७० वर्ष लागिसकेँ, अब नयाँ पुस्ताहरूलाई अगाडि ल्याउनुपर्छ भन्ने सोचका साथ, त्यो मैले पहिलेदेखि नै विकसित गर्दै ल्याएको, हुर्काउँदै ल्याएको पार्टीलाई को नेतृत्व पनि मैले नयाँ साथीहरूलाई सुम्पेर मैले अब एउटा अभिभावकीय ढंगले भूमिका निर्वाह गर्नुपर्छ भनेर म लागेँ ।
अब यसै क्रममा अहिले फागुन २१ गते जुन निर्वाचनको घोषणा भएको छ, त्यसको क्रममा मैले सुरुमा सोचेँ, सायद मैले बाहिर रहेर नै, संसद् बाहिरबाट नै, विभिन्न अग्रगामी सोच राख्ने पार्टी, दल, समूहहरूलाई सल्लाह सुझाव दिने, मार्गनिर्देशन गर्ने ढंगले भूमिका निर्वाह गर्नु र आवश्यक परेको बेलामा उहाँहरूलाई सघाउनु नै उपयुक्त हुन्छ भनेर मैले कुनै कार्यकारी भूमिकामा नरहने र निर्वाचन पनि नलड्ने मैले उद्घोष गरेँ । तर जब निर्वाचनको गतिविधि अगाडि बढ्दै गए र देशमा झन् अन्योलको बादल त्यति फाट्न सकेको जस्तो देखिएन ।
पुराना दलहरू भित्र पनि विभिन्न प्रकृतिका अप्ठ्याराहरू सिर्जना भएको, नयाँ दलहरूले पनि खासै बाटो पहिल्याउन नसकेको, नयाँ नयाँ दलहरू अगाडि आएको, तर देशका जुन आधारभूत समस्या हुन्, तिनलाई समाधान गर्नतिर सायद हामी अझै ध्यान दिन सकेनौँ कि भन्ने बोध भएर र केही प्रश्नहरू, खासगरी नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न, यो भूभागमा जसरी अब संसारको पहिलो अर्थतन्त्र बन्दै गएको चीन, तेस्रो अर्थतन्त्र बन्ने दिशामा अगाडि बढेको भारत र पहिलो अर्थतन्त्र रहेको अमेरिका लगायतका देशहरूको जुन सामरिक चासो छ, त्यो सामरिक चासो यदि हामीले ठिक ढंगले व्यवस्थापन गर्न सकेनौँ भने अर्को द्वन्द्व निम्तिने र त्यसले राष्ट्रिय स्वाधीनता माथि नै खतरा उत्पन्न गर्ने स्थिति पनि आउन सक्छ, त्यसले यस्तो विषयमा फेरि हामीले देशको निम्ति सही परराष्ट्र नीतिहरू निर्माण गर्न संसद्मा रहेर नै भूमिका निर्वाह गर्न उपयुक्त हुन्छ कि भन्ने मलाई एउटा लाग्यो ।
अर्को देशको जुन संविधान हाम्रो बनेको छ, यसका केही त्रुटि छन् भन्ने कुरा मैले पहिले पनि भनेको थिएँ । यसमा सुधार गर्नुपर्छ भन्ने कुरा पनि थियो । त्यसैले संसद्मा रहेर नै म संविधान समितिको सभापति भएको नाताले, त्यसमा पनि केही भूमिका निर्वाह गर्न सक्छु भन्ने मलाई दोस्रो कुरा लाग्यो ।
तेस्रो यो जेन्जी विद्रोह पछि, जुन सम्झौता भएको छ र विगतमा माओवादी शान्ति प्रक्रिया पछि पनि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका कामहरू बाँकी छन्, ती विषयलाई अगाडि बढाउन पनि संसदको भूमिका सायद महत्त्वपूर्ण हुन सक्छ । र देशको विकास र समृद्धिको जुन हाम्रो सबैको साझा चाहना छ, त्यसको कार्यान्वयन गर्नको निम्ति उपयुक्त नीति निर्माण गर्ने, आर्थिक नीति निर्माण गर्नको निम्ति म एउटा राजनीतिक अर्थशास्त्रको विद्यार्थी हुनुको नाताले पनि सायद संसदबाट भूमिका निर्वाह गर्न सक्छु ।
र सँगसँगै म गोरखाबाट लामो समयदेखि प्रतिनिधित्व गरेको र त्यहाँ विकास निर्माणका काममा पनि केही योगदान गर्दै आएको कारणले कतिपय योजनाहरू अधुरा थिए । र ती पूर्वाधारको जगमा एउटा तीव्र आर्थिक विकास गर्ने काम पनि आवश्यक थियो । त्यसलाई तीव्रता दिन पनि सायद मैले भूमिका निर्वाह गर्न सक्छु भनेर मैले संसद्, आगामी संसदको निर्वाचनमा सहभागी बन्ने मैले निर्णय गरेँ र मैले मनोनयन पनि दर्ता गरेँ ।
र त्यसै क्रममा मसँग विभिन्न पक्षका साथीहरू, विभिन्न दलका साथीहरू, नयाँ पुराना दलका व्यक्तित्वहरूले चाहिँ साथमा आएर सल्लाह सुझाव के दिनुभयो भने, तपाईँहरू जस्तो व्यक्तित्वले एउटा साझा व्यक्तिकै रूपमा रहनु उपयुक्त हुन्छ र एउटा सांसदको रूपमा एउटा दल विशेषको मात्रै रहँदाखेरि तपाईँको भूमिका संकुचित रहन सक्छ र फेरि देशको जुन अहिले तरल अवस्था छ, त्यसले अझै निश्चित आकार ग्रहण गरिसकेको पनि छैन ।
त्यसैले तपाईँले चाहिँ चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा राजनीतिक दलहरूलाई, भोलि बन्ने सरकारलाई विभिन्न ढंगले सल्लाह सुझाव दिएर भूमिका निर्वाह गर्दा नै बढी उपयुक्त हुन्छ भन्ने साथीहरूको आग्रह पनि रह्यो, दलहरूको पनि रह्यो, व्यक्तिहरूको पनि रह्यो । र त्यहाँका जनताको पनि, सुरुमा त्यहीँको प्रतिनिधित्व गरिदिए हुन्थ्यो भन्ने जुन सोच थियो, यो तर्क सुनिसकेपछि ठिकै छ भन्ने कुराहरू पनि आयो ।
त्यसै भएको हुनाले मैले मेरो जीवनभरिको जुन एउटा अभीष्ट हो, जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था प्राप्त भएको छ, नेपाली राष्ट्रिय स्वाधीनता हजारौँ वर्षदेखि कुण्ठित रहिरहेको अवस्थालाई हामीले बिस्तारै एउटा नयाँ ट्रयाकमा हामी ल्याउँदै छौँ, चुनौती थपिएका छन्, तिनको व्यवस्थापन गर्नु छ । देशको जुन संवेदनशील हिमाल, पहाड, तराई, मधेसले बनेको जुन आन्तरिक अवस्था छ, त्यसको एकता कायम गर्नु पनि छ । हाम्रा राज्यका अङ्गहरू चाहिँ असाध्यै कमजोर प्रकृतिका छन् भन्ने त गत भदौ २४ को घटनाले पनि देखायो । त्यसले तिनको सुधार गर्ने कामहरू बाँकी छन् । र मुख्य रूपमा देशमा चाहिँ तीव्र आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढ्नु पनि जरुरी छ ।
यस्तो अवस्थामा मैले एउटा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहेर रहनुभन्दा सबै साथीहरूको आग्रह बमोजिम, चाहना बमोजिम, मैले बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्दा एउटा देशकै विभिन्न रूपको अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर मैले आज मैले जुन मनोनयन पत्र दर्ता गरेको थिएँ, त्यसलाई फिर्ता लिने मैले निर्णय गरेको छु । र आगामी दिनमा म देशले चाहेको राजनीतिक दलहरू, अग्रगामी सोच राख्ने दल, समूह, व्यक्तिहरूले चाहेका अनुसार नै म उहाँहरूलाई सहयोग गर्न, यो देशको निम्ति, समाजको निम्ति निरन्तर लागिरहन म आफ्नो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
यस क्रममा मलाई साथ र सहयोग दिनुहुने सम्पूर्ण साथीहरू, खासगरी मलाई प्रस्ताव गर्नुहुने र मलाई समर्थन गर्नुहुने प्रस्तावक, समर्थक साथीहरू र यो अभियानमा विभिन्न ढंगले सघाउने साथीहरूलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु । र आगामी दिनमा म निरन्तर जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु । र जुन राजनीतिक दल, व्यक्ति, समूहहरूले मलाई भनेर अथवा सार्वजनिक रूपमा अपिल गरेर नयाँ ढंगले अगाडि बढ्न मलाई आग्रह गर्नुभएको छ, उहाँहरू सबै साथीहरूलाई, समूहलाई, दलहरूलाई पनि म धन्यवाद दिन चाहन्छु ।
म निरन्तर देशको अग्रगमनको पक्षमा, समृद्धिको पक्षमा, राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा र खासगरी आगामी दिनमा जुन हामीले हिजोदेखि कायम, यो लागू गर्न नसकेको बृहत् शान्ति सम्झौतालाई कार्यान्वयन गर्ने कुरा छ, अहिले जेन्जी विद्रोहपछि जेन्जी समूहसँग राज्यले गरेको सम्झौता छ, यिनीहरूको कार्यान्वयन गर्नको निम्ति मैले आफ्नो तर्फबाट साथ सहयोग गर्ने नै छु । र आवश्यक पर्ने भूमिका म निःशर्त रूपमा, निस्वार्थ ढंगले मैले निर्वाह गर्ने नै छु ।
मैले हुर्काउँदै आएको हिजोको नयाँ शक्ति पार्टी, जो अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीको रूपमा अगाडि बढेको छ, त्यसको सँगसँगै अरू रास्वपा, अन्य उज्यालो नेपाल पार्टी लगायतका जुन नयाँ बनेका पार्टीहरू छन् र पुराना दलहरूका पनि अग्रगामी सोच राख्ने जो साथीहरू हुनुहुन्छ, उहाँहरू सबैसँग सहकार्य गर्ने, सबैलाई सहयोग गर्ने मेरो प्रतिबद्धता रहन्छ । म यही प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि विगतका जस्तै यहाँहरूबाट सद्भाव प्राप्त भइराख्नेछ, म निरन्तर यहाँहरूको सेवामा लागिरहनेछु ।
धन्यवाद, नमस्कार !
डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा प्रलोपाका संरक्षक











