Logo
Logo

रूकुम पूर्वले प्रचण्डलाई काँध थाप्ला कि पाखा लगाउला ? (भिडिओ रिपोर्ट)


504
Shares

चुनबाङ अर्थात रुकुम पूर्व ! यो केवल एउटा भूगोल मात्र होइन, जनविद्रोहको जग पनि हो । २०६२ असोजमा आयोजित माओवादीको ऐतिहासिक चुनबाङ बैठकले नै बन्दुकको नालबाट राज्यसत्ता कब्जा गर्ने सोचलाई त्यागेर ‘लोकतान्त्रिक गणतन्त्र’का लागि संसदवादी दलहरूसँग सहकार्य गर्ने साहसिक निर्णय गरेको थियो । त्यसबेलाको चुनबाङ बैठकले अघि सारेको ‘लोकतान्त्रिक गणतन्त्र’को कार्यदिशा माओवादीका लागि एउटा ठूलो वैचारिक फड्को थियो । ‘बुलेट’बाट ‘ब्यालेट’ तर्फको यात्राको खाका यहीँ नै कोरिएको थियो । त्यसैले चुनबाङ केवल माओवादीहरूको स्मृतिमा मात्रै सीमित छैन, नेपालको समग्र राजनीतिक संक्रमणको साक्षी हो । फेरि यही भूमी नेपाली राजनीतिक वृतमा चर्चामा छ । यसको मुख्य कारण भनेको सशस्त्र विद्रोह ‘सुप्रिमो’ प्रचण्ड आसन्न निर्वाचनको लागि पुग्नु हो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौंबाट सुरु भएको उनको संसदीय यात्रा २०७० मा सिराहाको मधेशी माटोमा पुग्यो । २०७४ को निर्वाचनमा प्रचण्ड चितवन ३ बाट भारी मतान्तरले विजयी भएका थिए । त्यसबेला प्रचण्डले ४८ हजार २ सय ६९ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार नौ सय ४२ मत मात्र पाएका थिए । २०७९ मा पनि प्रचण्ड गोरखा २ बाट भारी मतान्तरले विजयी भएका थिए । प्रचण्डले २६ हजार एक सय ३ मत पाउँदा उनका प्रतिद्धन्द्धी रास्वपाका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाएका थिए ।

२०६४ सालमा भएको पहिलो संविधानसभामा रोल्पा–२ र काठमाडौं–१० बाट उम्मेदवार बनेका प्रचण्ड दुवै क्षेत्रबाट विजयी भएका थिए । २०७० सालमा भएको दोस्रो निर्वाचनमा प्रचण्ड काठमाडौं–१० र सिराहा–५ बाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा सिराहबाट जित दर्ता गरेपनि काठमाडौंबाट पराजित हुन पुगे । प्रचण्डसँग एउटा नमीठो विडम्बना छ । जहाँ चुनाव जिते पनि उनले कुनै एक क्षेत्रलाई आफ्नो स्थायी राजनीतिक ‘थलो’ बनाउन सदैव असफल रहे । त्यसैले कतिपय आलोचकले प्रचण्डलाई ‘अस्थिर’ र चुनाव जित्नको लागि सँधै सुरक्षित स्थान खोज्ने व्यक्ति भनेर पनि टिप्पणी गर्छन् । तर प्रचण्ड भने देशैभर आफ्नो लोकप्रियता र स्वीकार्यता परीक्षण गर्न निर्वाचन क्षेत्र बदलिरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्