पोखरा । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२६ सम्पन्न भएको छ । अर्वाड सन् २०२५ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२६ ’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना दिएका थिए ।
उनले छनोट भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिनुहुन आग्रह गरे । बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने उनको भनाइ छ ।
विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा उनीहरु एकदमै सुरक्षित पेशामा रहेको कुरा बताउँदै उनले जीवन बीमाको सचेतना आम नागरिकबीच पु¥याउन आग्रह गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए । नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे । पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता रहेको बताउँदै उनीहरूको अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको बताए ।
पराजुलीले अभिकर्ताहरूको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको बताए । अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गरे ।
कार्यक्रममा कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी वर्ष झन् बढी सङ्ख्यामा एमडीआरटीहरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए । आगामी दिनमा थप ऊर्जाका साथ बीमालाई नेपालीको घर दैलो सम्म पु¥याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरू एक जुट भई लाग्न आग्रह गरे ।
पेसागत बीमा अभिकर्ता महासङ्घका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद ज्ञापन गरे । जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफको बजार हिस्सा अझ बढाउनका निम्ति र बीमितको विश्वासलाई कायम राखी राख्न नेपाल लाइफका सम्पूर्ण अभिकर्ताहरू प्रतिबद्ध रहेको बताए ।











