पाकिस्तान । पाकिस्तानको राजधानी इस्लामाबादमा आज प्रार्थनाको समयमा एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी घाइते भएका छन्, बीबीसीले जनाएको छ ।

जिल्ला प्रशासनका प्रवक्ताका अनुसार शहरका तीनवटा अस्पतालमा आपत्काल घोषणा गरिएको छ र घाइतेहरूको उपचार अनुगमन गर्न विभिन्न अस्पतालमा सहायक आयुक्तहरू खटाइएका छन् ।
गृह राज्यमन्त्री तलाल चौधरी गृहमन्त्री मोहसिन नक्वीको निर्देशनमा पीआईएमएस अस्पताल पुगेका छन् र घाइतेहरूसँग भेटवार्ता गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले विस्फोटको निन्दा गर्दै घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्नुभएको छ र पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
यसअघि, गत नोभेम्बर ११ मा इस्लामाबादमा भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।











