
काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाबारे अनुगमन गर्न सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ । प्रहरी मुख्यालयले ७ वटा प्रदेशको निर्वाचन सुरक्षा चुनौतीबारे बुझ्न एआईजी खटाएको हो ।
प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा कार्यरत एआईजी हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेशको सुरक्षा चुनौती बुझ्न खटिएका छन् । मधेस प्रदेशका सबै जिल्लामा पुगेर एआईजी डम्बर बिक काठमाडौँ फर्किएका छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेश सबैभन्दा संवेदनशील मानिएको छ । चुनाव भन्दा दुई दिन अघि हुने होलीका कारण निर्वाचन प्रभावित हुने आकलन गरिएको छ ।
गण्डकीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी डा. मनोज केसी, बागमती प्रदेशमा शिद्धी बिक्रम शाह, कर्णालीमा सुशिल सिंह राठौर र कोशी प्रदेशमा राजन अधिकारीलाई खटाउने निर्णय गरिएको छ ।
लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमा प्रसाद चतुर्वेदी खटिने भएका छन् । एआईजीहरूले निर्वाचन सुरक्षामा हालसम्म भएको तयारी, साधन स्रोतको अवस्था र संवेदनशीलताबारे अध्ययन गर्नेछन् । उनीहरुले दिएको प्रतिवेदनको आधारमा सुरक्षा रणनीति तय गरिने छ ।











