एजेन्सी । बङ्गलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सत्ता विद्यार्थी नेतृत्वको आन्दोलनबाट अन्त्य भएको १८ महिनापछि पहिलो संसदीय चुनाव सम्पन्न भएको छ ।

हसिनाको अवामी लिग पार्टी प्रतिबन्धित भएकाले चुनावमा सहभागी हुन पाएन ।
बीबीसीका अनुसार चुनावमा मुख्य प्रतिस्पर्धा दक्षिणपन्थी बङ्गलादेश नेशनलिस्ट पार्टी बीएनपी र इस्लामवादी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनबीच रहेको छ । नतिजा भोलिसम्म आउने अपेक्षा गरिएको छ ।
संसदीय सिटका लागि २ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । देशभर १२ करोड ७७ लाख मतदाता रहेका थिए । मतदाताले संविधान परिवर्तनसम्बन्धी जनमत सङ्ग्रहमा पनि मतदान गरेका छन् ।
मतदानपछि अन्तरिम प्रधानमन्त्री तथा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले देशले “नयाँ सपना शुरू गरेको” प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।
मतदानका क्रममा विभिन्न स्थानमा झडपका घटना भएका छन् । खुलनाको एक मतदान केन्द्रबाहिर जमात–ए–इस्लामीका कार्यकर्तासँग भएको झडपमा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ । मुन्सीगञ्ज र गोपालगञ्ज सदर क्षेत्रका मतदान केन्द्रबाहिर भएका झडपमा तीन जना घाइते भएका छन् ।
प्रतिनिधिसभाका कुल ३०० मध्ये २९९ सिटमा मतदान भएको छ । एक उम्मेदवारको निधनपछि शेरपुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित गरिएको छ । चुनावका लागि झन्डै १० लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो ।











