Logo
Logo

किम जोङ उनले १३ वर्षीया छोरीलाई उत्तराधिकारी बनाएको दाबी


756
Shares

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी १३ वर्षीया छोरी किम जू ऐलाई आफ्नो उत्तराधिकारीका रूपमा चयन गरेको दाबी दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) ले गरेको छ । बिहीबार सांसदहरूलाई दिइएको ब्रिफिङमा एनआइएसले जू ऐको बढ्दो सार्वजनिक उपस्थितिलाई आधार मानेर यस्तो निष्कर्ष निकालेको जनाएको हो ।

एजेन्सीका अनुसार पछिल्ला महिनाहरूमा किम जू ऐ विभिन्न उच्चस्तरीय सरकारी तथा सैन्य कार्यक्रममा आफ्ना बुवासँग प्रमुख रूपमा सहभागी हुँदै आएकी छन् । सेप्टेम्बरमा बेइजिङ भ्रमणका क्रममा पनि उनी किम जोङ उनसँगै देखिएकी थिइन्, जुन उनको पहिलो सार्वजनिक विदेशी भ्रमण मानिएको छ ।

दक्षिण कोरियाली सांसद ली सोंग-क्वेनका अनुसार एनआइएसले यसअघि जू ऐलाई ‘उत्तराधिकारीका लागि तयारी गरिरहेकी’ बताएको थियो । अहिले भने उनी औपचारिक रूपमा उत्तराधिकारी घोषणा हुने चरणमा पुगेको आकलन गरिएको छ । उनले किम जू ऐ कोरियाली पिपुल्स आर्मी स्थापना दिवस लगायत महत्त्वपूर्ण कार्यक्रममा सहभागी भएको र केही सरकारी नीतिमा उनको धारणा झल्किएको सङ्केतसमेत देखिएको बताए ।

यसैबीच, उत्तर कोरियामा यसै महिनाभित्र हुने पार्टी सम्मेलनलाई पनि चासोका साथ हेरिएको छ । हरेक पाँच वर्षमा हुने उक्त सम्मेलनमा आगामी पाँच वर्षका लागि विदेश नीति, सैन्य तयारी र आणविक कार्यक्रमसम्बन्धी प्राथमिकता तय गरिन्छ ।

किम जोङ उनले आफ्नो परिवारबारे कडा गोपनीयता अपनाउँदै आएका छन्। किम जू ऐ सन् २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन्, जब उनले आफ्ना बुवासँग अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण अवलोकन गरेकी थिइन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार किमका तीन सन्तान छन्, जसमा जू ऐ सबैभन्दा बढी सार्वजनिक रूपमा देखिएकी सन्तान हुन् ।

प्रतिक्रिया दिनुहोस्