काठमाडौं । प्रेम सोनी सुनारको निर्माणमा बनेको नेपाली कथानक चलचित्र गुरुआमा को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो।

शिक्षक पेशाको गरिमा, त्याग र समाज निर्माणमा उनीहरूको भूमिकालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्र २०८३ साल वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
नयाँ वर्ष २०८३ को अवसर पारेर प्रदर्शन मिति तय गरिएको निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले जानकारी दिएका छन्। उनका अनुसार चलचित्रले शिक्षकको अदृश्य तर अत्यन्त महत्वपूर्ण भूमिकालाई कलात्मक ढंगले पर्दामा उतार्ने प्रयास गरेको छ।
सोनी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा कथा तथा निर्देशन प्रेम सोनी सुनारकै रहेको छ। निर्माता सुनार भन्छन्, “यो चलचित्र केवल मनोरञ्जनका लागि मात्र होइन, विद्यार्थी, शिक्षक, अभिभावक र समग्र समाजका लागि एक महत्वपूर्ण सन्देश बोकेको कथा हो।”
चलचित्रमा मिथिला शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशील पोखरेल, धुर्व कोइराला र टिका सानुको मुख्य भूमिका रहेको छ। अतिथि कलाकारका रूपमा गौरी मल्ल र पूजा शर्माको विशेष उपस्थिति छ।
यसैगरी उत्तम केसी, राधिका हमाल, बालचन्द्र बराल, गिरीप्रसाद पुन, उषा कार्की, पदम थापा, केपी बागदश, टंक मरासिनी, जस्मिन मगर, सदिक्षा शर्मा, आदर्श गहतराज, अर्नब घिमिरे, सफल पौडेल, विश्वास नेपाल र कमला परियार लगायत कलाकारहरूको अभिनय रहेको छ।
निर्माण पक्षका अनुसार चलचित्रले शिक्षक–विद्यार्थी सम्बन्ध, त्याग, संघर्ष र सम्मानका भावनात्मक कथाहरूलाई मार्मिक ढंगले प्रस्तुत गर्नेछ।
शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु, अनुभवी कलाकारको सहभागिता र सशक्त सन्देशका कारण ‘गुरुआमा’ अहिले नै दर्शकमाझ प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ।












