एजेन्सी । सुडानको अल-फशेर शहरमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस आरएसएफको आक्रमणमा ३ दिनमै ६ हजारभन्दा बढी मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ को प्रतिवेदनले देखाएको छ।

गत वर्ष अक्टोबरमा शहर कब्जा गर्दा आरएसएफले नरसंहार, यौनहिंसा र मानवअधिकार हनन गरेको प्रतिवेदनमा उल्लेख छ । प्रत्यक्षदर्शी र पीडितहरूको अनुसार शहरभित्र ४ हजार ४०० भन्दा बढी र भाग्ने क्रममा १ हजार ६०० भन्दा बढी मानिस मारिएका थिए ।
तीन वर्षदेखि सरकारी सेना र आरएसएफबीच चलेको गृहयुद्धले १ करोड ३० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
भोल्कर टर्कले सबै पक्षलाई मानवअधिकार हनन तुरुन्त बन्द गर्न अपील गर्नुभएको छ । हालसम्म आरएसएफले प्रतिवेदनबारे कुनै टिप्पणी गरेको छैन ।
सन् २०११ मा गृहयुद्धको कारण सुडानबाट दक्षिण सुडान अलग भएर नयाँ राज्य बनेको थियो । अहिले सुडानको पूर्वी क्षेत्र सरकारी सेनाको नियन्त्रणमा छ भने पश्चिमी क्षेत्रको ठूलो हिस्सा आरएसएफको नियन्त्रणमा छ ।
यसैबीच, आरएसएफ निकट सुडान फाउन्डिङ एलायन्स ले पश्चिमी क्षेत्रमा समानान्तर सरकार स्थापना गर्ने घोषणा गरेपछि अफ्रिका युनियनले त्यसको कडा निन्दा गरेको छ ।












