Logo
Logo

चुनावी ‘डिजिटल अस्त्र’: गगनको रक्षात्मक ‘मटन वर्ल्ड’, रविविरुद्ध ‘सहकारी डट मनि’


2k
Shares

काठमाडौं । नेपाली राजनीतिमा नेताहरूलाई उनीहरूको पेशा, जीवनशैली वा विवादित प्रसंगसँग जोडेर ‘ट्याग’ गर्ने चलन पुरानै हो । आरोप, व्यंग्य र उपनामको यो संस्कृतिले कहिले व्यक्तिको छविमा धक्का दिन्छ, कहिले त्यसैलाई अवसरमा रूपान्तरण गर्ने ठाउँ पनि बनाइदिन्छ ।

यही परिघटनाको पछिल्लो उदाहरण बनेका छन्, गगन थापा । लामो समयदेखि कृषि फर्म र अनुदानको विषयलाई लिएर विपक्षीहरूले गगन थापालाई ‘मटन काजी’ भन्दै व्यङ्ग्य गर्दै आएका थिए । थापाले यसपटक उक्त नकारात्मक टिकाटिप्पणीलाई रचनात्मक प्रत्युत्तर दिँदै ‘मटन वर्ल्ड’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएका छन् । जहाँ उनका भाषण, लेख, मन्तव्य र सार्वजनिक संवादहरूको अभिलेख राखिएको छ ।

पोर्टलको सामग्री हेर्दा थापा स्वयंले चर्चित ‘बाख्रा काण्ड’बारे आफ्नो धारणा स्पष्ट पार्ने प्रयास गरेको देखिन्छ । उनका अनुसार, अनुदानमा बाख्रा फार्म सञ्चालनका लागि निवेदन दिए पनि संसदको कृषि समितिको सभापति बनेपछि सम्भावित स्वार्थको द्वन्द्व देखेर उनले निवेदन फिर्ता लिई सम्झौता रद्द गरेका थिए । थापाको तर्क छ- स्वार्थको द्वन्द्व देखेपछि सम्झौता रद्द गर्नु नै नैतिक उत्तरदायित्वको प्रमाण हो ।

डिजिटल प्रस्तुतीकरणमा पनि पोर्टलले व्यंग्य र ब्रान्डिङको मिश्रण प्रस्तुत गरेको छ । ‘घोषणापत्र’लाई ‘मटनफेस्टो’ नाम दिइनु, अभियान समर्थन बटनमा क्लिक गर्दा बाख्राको ‘म्या’ ध्वनि बज्नुजस्ता तत्वले आलोचनालाई नै सन्देशमा रूपान्तरण गर्ने शैली देखाउँछन् ।

यता, ठ्याक्कै यस्तै ढाँचामा सार्वजनिक भएको अर्को वेबसाइट ‘सहकारी डट मनि’ले भने रवि लामिछाने केन्द्रित सामग्री प्रस्तुत गरेको छ । सुरुमै ‘८१४ चेकमा हस्ताक्षर गर्ने सहकारी ठग को हो ?’ भन्ने शीर्षकमा मुख्य समाचार राखिएको छ ।

समाचारको लिड लाइनमा लेखिएको छ- टेलिभिजन प्रस्तोताबाट राजनीतिज्ञ बनेका रवि लामिछाने नेपालको सबैभन्दा ठूलो सहकारी ठगी प्रकरणको केन्द्रमा छन् । गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा, साधारण नेपाली नागरिकहरूको बचत खाताबाट अनुमानित ८० करोड ३१ लाख रुपैयाँ योजनाबद्ध रूपमा अपचलन गरियो। उनको बचाव ‘‘म केवल एक कर्मचारी थिएँ।’’ भनेर लेखिएको छ ।

साइडमा ‘न्युजरुम देखि अदालतसम्म’, ‘गोर्खा मिडियामा रकम प्रवाह’, ‘हराएको मिसिल’ र ‘जेनजी आन्दोलन’सम्मका घटनक्रम समावशे छ । यी सबै रविको विरुद्धदेखिएको छ । ‘ २०२५ सेप्टेम्बर ९ मा, सरकार विरोधी प्रदर्शनको चरम सीमामा, लामिछाने थुनामा रहेको नख्खु कारागारमा सामूहिक जेलब्रेक भयो। करिब १,५०० कैदीहरू भागे। यो घटनाले कानुनी शासनको पूर्ण विघटनलाई उजागर गर्यो ।’ साइडमा लेखिएको छ ।

साइटमा लामिछानेसँग जोडिएका सहकारी प्रकरण, सञ्चारमाध्यममा आएका समाचार, अनुसन्धानका विवरण र कथित प्रमाणहरूको संगालो राखिएको छ । वेबसाइटको संरचना र प्रस्तुतीकरण शैली ‘मटन वर्ल्ड’सँग मिल्दोजुल्दो देखिए पनि यो डोमेन कसले सञ्चालन गरिरहेको हो भन्ने स्पष्ट जानकारी उपलब्ध छैन ।

उक्त वेबसाइटले लामिछानेमाथि सहकारी संस्थासँग सम्बन्धित आर्थिक अनियमितताका आरोपहरूलाई टाइमलाइन, कागजात र विश्लेषणका रूपमा प्रस्तुत गरेको दाबी गर्छ । विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कतर्फ रकम प्रवाह भएको उल्लेख, चेक हस्ताक्षरका विवरण, बैंक ट्रान्सफरका दाबी तथा अदालती आदेशका अंशहरूलाई ‘मूल प्रमाण’का रूपमा देखाइएको छ । यद्यपि, ती सामग्रीहरूको आधिकारिकता र कानुनी प्रमाणीकरणबारे स्वतन्त्र पुष्टि भने उपलब्ध छैन ।

लामिछानेले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । सहकारी रकम दुरुपयोगमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको र कानुनी प्रक्रियाले सत्य उजागर गर्ने विश्वास व्यक्त गर्दै उनले आरोपहरूलाई राजनीतिक रूपमा प्रेरित भएको संकेत दिएका छन् ।

डिजिटल युगमा राजनीति अब केवल सभामञ्च र नारामा सीमित छैन । वेबसाइट, पोर्टल र सामाजिक सञ्जालले छवि निर्माण र विघटन दुवैका लागि शक्तिशाली माध्यमको रूप लिइसकेका छन् । व्यंग्य, आरोप र ब्रान्डिङको यो नयाँ खेलमा तथ्य, धारणा र प्रचारबीचको सीमारेखा झन् धुमिल बन्दै गएको छ ।

अन्ततः प्रश्न उहीँ उठ्छ- डिजिटल सामग्रीले निर्माण गर्ने छवि कति सत्य, कति रणनीति ? मतदाताले अब शब्दभन्दा पनि स्रोत, प्रस्तुतीकरणभन्दा पनि प्रमाणीकरण हेर्ने समय आइसकेको संकेत यी घटनाक्रमले दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्