काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक वार्तामा आफू अप्रत्यक्ष रूपमा संलग्न रहने बताएका छन् । यो बयान जेनेभामा आज सुरु हुने दोस्रो चरणको वार्ताअगाडि आएको हो । पहिलो चरण फेब्रुअरी ६ मा ओमानमा भएको थियो ।

ट्रम्पले भने, ‘म ती वार्ताहरू हेर्नेछु ।’ उनले इरानलाई यसपटक गम्भीर रहेको संकेत गरेका छन् । इरानले कडा अडान लिए पनि गत वर्ष अमेरिकी बम आक्रमणले होसमा आएको उनको भनाइ छ । ट्रम्पले भने,‘मलाई लाग्दैन कि उनीहरू सम्झौता नगरेको परिणाम भोग्न चाहन्छन् ।’
यता अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कन इरान नजिक पुगेको छ । जहाजमा तीन निर्देशित मिसाइल विनाशक, ९० विमान र ५ हजार ६८० कर्मचारी छन् । यो ओमान तट नजिक, इरानबाट करिब ७०० किमी टाढा छ ।
वार्ताको मुख्य विवाद इरानको युरेनियम संवर्द्धन हो । जसलाई अमेरिकाले रोक्न खोजिरहेको छ । अमेरिकाको इरानले आफ्नो समृद्ध युरेनियम (लगभग २ हजार किलो) पातलो पार्न, नष्ट गर्न वा निर्यात गर्नुपर्ने माग छ । बदलामा प्रतिबन्ध हटाउने विषयमा छलफल हुन सक्छ । इरानले प्रतिबन्ध हटाउने मुख्य माग राखेको छ ।
यसैबिच इरानले हर्मुज जलडमरूममा नौसैनिक अभ्यास सुरु गरेको छ। यो अभ्यास गुप्तचर र परिचालन क्षमता परीक्षणका लागि हो। क्षेत्रमा गुज्रने जहाजहरूलाई चेतावनी दिइएको छ।
इरानी उपविदेशमन्त्री माजिद तख्त-रवान्चीले भने, ‘यदि अमेरिका प्रतिबन्ध हटाउने कुरा गर्न तयार छ भने हामी आणविक कार्यक्रमसँग सम्बन्धित धेरै मुद्दामा सम्झौता गर्न तयार छौँ।’अमेरिकी अधिकारीहरूले वार्तामा प्रगति नहुनुको जिम्मेवार इरानलाई ठानेका छन् ।












