Logo
Logo

युनुसको बिदाइ सम्बोधनले भारत सशङ्कित  


1.5k
Shares

काठमाडौ । बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो १८ महिने कार्यकाल पूरा गरी पदत्याग गर्ने क्रममा दिएको अभिव्यक्ति विवादमा तानिएको छ । उनले प्रस्तुत गरेको दक्षिण एसियाली उप-क्षेत्रीय अर्थतन्त्रको नयाँ खाकाले विवादमा तानेको हो ।

सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै उनले भारतका उत्तर-पूर्वी सात राज्य (सेभेन सिस्टर्स) लाई नेपाल र भुटानजस्ता सार्वभौम मुलुकसँगै एउटै आर्थिक डालोमा राखेर हेर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

उनको अभिव्यक्तिलाई विशेष गरी भारतका राज्यहरूलाई स्वतन्त्र राष्ट्रहरू नेपाल र भुटानसँग एउटै डालोमा राखेर प्रस्तुत गरेको विषयले नयाँ दिल्ली सशङ्कित बनेको छ  । 

युनुसले बङ्गलादेशको वैदेशिक नीति अब कुनै पनि शक्तिको दबाबमा नरहेको दाबी गर्दै नेपाल, भुटान र भारतको उत्तर-पूर्वी राज्यहरू समेटेर आर्थिक समृद्धिको ढोका खोल्नुपर्ने बताएका थिए । 

उनले भनेका छन्, ‘हाम्रो समुद्र केवल भौगोलिक सिमाना मात्र होइन, यो बङ्गलादेशका लागि विश्व अर्थतन्त्रसँग जोडिने खुल्ला ढोका पनि हो । यो क्षेत्र(उप-क्षेत्र) सँगै नेपाल, भुटान र ‘सेभेन सिस्टर्स’ मा ठूलो आर्थिक सम्भावना छ ।’

कनेक्टिभिटी, व्यापार सम्झौता, आर्थिक क्षेत्र तथा बंगलादेशमार्फत सामुद्रिक पहुँच बढाउनुपर्ने बताउँदै उनले उप-क्षेत्रीय आर्थिक सहयोगको प्रस्ताव अघि सारेका हुन् ।

भारतका उत्तर-पूर्वी सात राज्यहरू-अरुणाञ्चल प्रदेश, आसाम, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र त्रिपुरालाई सामूहिक रूपमा ‘सेभेन सिस्टर्स’ भनिन्छ । यी प्रदेशहरू भौगोलिक रूपमा बंगलादेशसँग नजिक छन् । नेपाल र भुटानसँग पनि नजिकै पर्छन् । भारतका यी प्रदेश र दुई सार्वभौम देशलाई व्यापारका लागि बङ्गलादेशका बन्दरगाहहरू ‘उपयुक्त’ हुने उनको भनाइ हो ।

सार्वभौम राष्ट्रहरूसँगै एउटा छिमेकी देशका प्रदेशलाई उही हैसियतमा जोडेर कुरा गर्दा दिल्ली सशङ्कित बनेको हो । सन् २०२४ अगस्टमा शेख हसिना नेतृत्वको सरकार ढलेपछि कार्यभार सम्हालेका युनुसले आफ्नो कार्यकालमा बङ्गलादेशको गुमेको गरिमा फिर्ता ल्याएको दाबी गरेका छन् । उनले बङ्गलादेशको बाह्य संलग्नताको आधारभूत जगलाई पुनस् निर्माण गरेको दाबी गरेका छन् । 

सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनको बलमा शेख हसिना नेतृत्वको १५ वर्षे शासनसत्ता ढलेपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए । युनुसको कार्यकालमा भारत र बंगलादेशबीचको सम्बन्धमा निकै उतारचढाव देखिएको थियो । नयाँ दिल्लीले बङ्गलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेका आक्रमण र कानुन व्यवस्थाप्रति बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ ।

फेब्रुअरी १२ मा भएको संसदीय निर्वाचनमा तारिक रहमान नेतृत्वको बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले २९७ मध्ये २०९ सिट जितेर भारी बहुमत हासिल गरेको छ । युनुसले मंगलबार नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्