बाल्यकालदेखि नै घरैमा आफ्नाले गरेको कलाकारिता देख्दै आएकी जेसिकालाई सिनेमाको नायिका बन्नु थियो । कलाकारले पाएको मान, सम्मान देख्दा उनलाई कलाकारिताप्रति मोह जागेको थियो । त्यसैले उनले धेरै मिहेनत गरिन् । उनले अभिनय गरेको पहिलो चलचित्र नै हिट भइदियो । त्यसले उनको चर्चा अहिले चुलिएको छ । सिनेमाका साथै म्युजिक भिडियो, नाटक र विज्ञापनमा समेत उनी काम गर्दै आएकी छिन् । उनी अहिले धेरै निर्माता, निर्देशकको रोजाइमा समेत परेकी छिन् । उनै नायिक जेसिका पोखरेलसँग रेजिना पाण्डेको जम्काभेट ।

‘झरीपछिको इन्द्रेणी’ले यस्तो सफलता पाउला भन्ने सोच्नुभएको थियो ?
राम्रो हुन्छ भनेरै काम गर्ने हो । विषयबस्तुका साथै कलाकारको टिम पनि एकदम राम्रो थियो । फिल्म सुटिङको क्रममा मनमा ‘पोजेटिभ भाइब’ आइरहेको थियो । चलचित्र सोचेजस्तै चल्यो ।
पहिलो चलचित्रले नै राम्रो सफलता दियो । तपाईंलाई भाग्यले साथ दियो कि कर्मले ?
मेरो पहिलो चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले मलाई धेरै दर्शकमाझ चिनायो । धैरैले यो चलचित्र हेरेर मेरो कामलाई मनपराउनुभयो । मेरो लागि त यो ‘ड्रिम प्रोजेक्ट’ नै थियो । आज ठुलो परीक्षामा सफल भएको महसुस भएको छ । चलचित्र हिट हुँदा म त लक्की भएँ नै, पुरै टिम सफल भएको छ । यसको पछाडिको कारण कर्म नै हो ।
यो चलचित्र चल्नुको कारण के हो जस्तो लाग्छ ?
चलचित्रको कथाबस्तु आजको रियालिटीसँग मिल्ने भएर धेरैको मन जित्न सक्यो भन्ने लाग्छ ।
यो चलचित्रमा काम गर्न कसरी पुग्नुभयो ?
मैलै म्युजिक भिडियो र बिज्ञापनहरूमा काम गर्दै आएको थिएँ । त्यहीबेला मलाई टेलिसिरियल ‘सक्किगो’ मा खेल्ने अवसर आएको थियो । तर, मलाई टेलिसिरियलभन्दा पनि ठुलो पर्दाको चलचित्रमा काम गर्ने ठूलो सपना थियो । त्यसैले उक्त टेलिसिरियलमा मैले काम गरिनँ, पछि सक्किगोका निर्देशक अर्जुन घिमिरेले चलचित्र ‘झरिपछिको इन्द्रेणी’ निर्देशन गर्ने भएपछि उहाँले मलाई बोलाउनुभयो । कथावस्तु बुझेपछि मैले चलचित्रको काम सुरू गरेकी हुँ ।
कसको प्रेरणाले कलाकारितामा लाग्नुभयो ?
मेरो परिवारमा धैरै जना कलाकारिता क्षेत्रमा हुनुहुन्छ । मेरो मामु गायिका हुुनुहुन्छ भने, ठुलोमामु दीपाश्री निरौला वरिष्ठ कलाकार हुनुहुन्छ । उहाँहरूको काम देखेर नै मलाई यो क्षेत्रमा लाग्ने प्रेरणा मिलेको हो । कलाकारको रुपमा मलाई सबैले चिनुन् । कलाकारिताबाटै नाम र दाम कमाउँ भन्ने मनमा आइरहन्थ्यो । मामु र ठुलोमामुको कारण मलाई कालकारहरूले चिन्नुहुन्थ्यो तर, सिनेमामा आउन म आफैँले मेहेनत गरेकी हुँ । थिएटरको नाटक ट्रेनिङ लिनेदेखि यहाँसम्म आउन मैले निकै संघर्ष गरेकी छु ।
तपाईंको थिएटरको अनुभव चाहिँ कस्तो रह्यो ?
मैले सुनिल पोखरेलसँग उहाँको नाटकघरमा ट्रेनिङ दिएको हुँ । नाटक ट्रेनिङ गर्दा मिठा र रमाइला अनुभवहरू धेरै छन् । त्यहाँबाटै मैले कलाकारिता र कलाकारलाई नजिकबाट बुझ्ने मौका पाएँ ।
नाटक पनि गर्नुभएको छ ?
हो, मैलै नाटकहरू पनि गरेकी छु । नाटकहरूमा पनि मैले मुख्य भूमिका नै निभाउने मौका पाएको थिएँ ।
फुसर्दमा के गर्न मनपराउनु हुन्छ ?
काम र पढाईले गर्दा खासै फुसद भने हुँदैन । मास्टर गर्ने तयारी गर्दैछु । फुसर्द भइहाल्यो भने म कलाकार भएकोले आफूलाई निखार्न ऐना हेर्छु । ऐना हेर्दै क्यामरामा कसरी हेर्ने, कसरी बोल्ने जस्ता स–साना कमजोरीहरूलाई सुधार्ने प्रयास गर्छु । आफूलाई कुन डे«स लगाउँदा राम्रो देखिन्छ, कसरी बस्दा सुहाउँछ भन्ने जस्ता कुराहरू ऐना हेरेरै सिक्ने प्रयास गर्छु ।
भर्खर मात्र भ्यालेन्टाइन डे सकियो, तपाईंको यो दिन कस्तो रह्यो ?
मेरो भ्यालेन्टाइन स्पेसल कोही छैन, यसैले खासै मेरो केही भएन ।
अन्त्यमा, एउटा राम्रो कलाकार बन्न के–के गुण चाहिने रहेछ ?
सबभन्दा पहिला जे काम गर्दा पनि आफू अनुशासित बन्न सक्नुपर्छ । कलालाई बुझेको हुनुपर्छ । यसको लागि कलाकारिताको राम्रो ट्रेनिङ र पढाइ आवश्यक छ ।











