
नेपालमा जेनजी आन्दोलन लगत्तै बनेको अन्तरिम सरकारले फागुन २१ गते चुनावको घोषणा गर्दा चुनाव नहुने आंशका व्याप्त थियो । सरकारबाहेक अरू कोही चुनाव हुने कुरा पत्याइरहेका थिएनन्, स्वयं चुनाव गराउने भूमिकामा रहेको निर्वाचन आयोगका समेत खुट्टा कामिरहेका थिए ।
दिनबित्तै जाँदा जेनजी आन्दोलनले भित्तामा पु¥याएका ओली–देउवाहरूको सातो फक्र्यो । उनीहरू बौरिए । देउवा चुपचाप र ओली भोकल भएरै जेनजी आन्दोलनको मानमर्दन गर्नमा मात्र लागेनन्, संसद् पुनस्र्थापना गर्नतिर लागेर त्यसको औचित्यमाथि नै प्रश्न उठाउने अभियानमा लागे ।
उता, जेनजी अभियन्ता पनि अनेक कित्तामा बाँडिए । रंगिविरंगी मागहरू लिएर भौँतारिए । कोही चुनाव भन्थे, कोही संविधान संशोधन । कोही संसद् पुनस्र्थापना भन्थे । कोही सुशीला कार्कीकै राजीनामा माग्थे ।
तर, राष्ट्रपति, प्रधानमन्त्री र नेपाली सेना भने सुरुदेखि नै चुनाव गराएरै छोड्ने मनस्थितिमा देखिए । यो उनीहरूको साँच्चैको प्रतिबद्धता मात्रै थियो वा विदेशीहरूको चाहनाको अंश पनि ? त्यसको उत्तर अहिले नै दिनसक्ने अवस्था छैन । चुनावको परिणाम र त्यसपछि विकास हुने घटनाक्रमले नै त्यसको उत्तर देला । अहिलेलाई बढीमा त्यस्तो केही थिएन भनेर शंकाको सुविधा दिनेसम्म मात्रै हो ।
यही बीचमा सहकारी प्रकरणमा थुनिएका रास्वपा सभापति रवि लामिछाने छुटेर बाहिर आए । सरकारवादी मुद्दामा सम्भावित बिगो नै बुझाएर छुटेका उनले छुटेकै साँझ सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीको स्वागत सत्कार पाए । त्यसपछि उनी प्रधानमन्त्री कार्की र चुनावको पक्षमा ठिङ्गै उभिए ।
दिन बित्दै गए । हुँदाहुँदै त यस्तो दिन पनि आयो कि जेनजीका पर्दापछाडिका नायक बालेन र पर्दा अगाडिका अनुहार सुधन गुरूङ नै रास्वपामा छिरे । एक हैन, अनेक जेनजी अभियन्ता रास्वपा पसेपछि त समस्त जेनजी आन्दोलन नै रास्वपाको कब्जामा गयो । अहिले त त्यस आन्दोलनकै सभापति भए, रवि लामिछाने ।
जेनजी आन्दोलन सुशासन र भष्टाचारविरूद्ध भनिएको थियो । त्यही मूल्यमा त्यत्रो ठूलो धनजन र राष्ट्रिय सम्पदाको क्षति भयो । तर, विडम्बना कस्तो ? त्यही आन्दोलनको नेता चाहिँ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, दोहोरो राहदानी जस्ता एक हैन, अनेक मुद्दाका दागी रवि लामिछाने भए । अझ अहिले त नयाँ र पुरानाको कित्ताकाट हुँदा उनी समस्त नयाँकै नेताजस्ता देखिए ।
अन्तर्यमा जे भए पनि देशमा चुनाव हुनुपर्ने हावा भरेर माहोल बनाउन रविले सरकारलाई सघाए, योगदान गरे लागे । यसले सरकारको चुनाव गराउने प्रतिविद्धतालाई टेको मात्र दिएन, चुनाव एक बाध्यता नै बन्यो । जेनजी आन्दोलनकै नेता भएर रवि चुनावको पक्षमा लागिपरेपछि निर्वाचन आयोग र सर्वोच्च अदालतलाई तातो लाग्यो । उनीहरूले चुनावलाई बाधा पुग्ने कुनै निर्णय गरेनन् । बरु उल्टै चुनावलाई सहज हुने एकपछि अर्को निर्णय गरी दिए ।
–निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशन र गगन थापाको नयाँ नेतृत्वलाई सदर गरिदियो । त्यसविरूद्ध देउवा कांग्रेस सर्वोच्च अदालत गयो तर सर्वोच्चले पनि विपक्षमा अन्तरिम आदेश नदिएर त्यही निर्णयलाई सदर गरिदियो ।
–रास्वपाको समानुपातिक सूची विवादमा परेर लगभग पूरै सच्याउनुपर्ने भयो । निर्वाचन आयोगले आफूले नै बनाएको नियम विपरीत पूरै सूची अदलीबदली गर्न दियो ।
–सर्वोच्च अदालतले संसद् पुनस्र्थापनासम्बन्धी मुद्दाको पहिलो सुनुवाइ नै फागुन २५ गते पु¥याइदियो । जुन चुनावको हुने निर्धारित मितिको चार दिन पछि हो ।
यी तमाम विकसित घटनाक्रमले फागुन २१ गतेको निर्वाचनमा लागेको संशयको बादल पुरै हटेर छ्याङ्गै बनाइदियो । अब चुनाव हुने कुरामा कुनै द्विविधा रहेन, छैन । तर, पनि यो चुनाव कति शान्तिपूर्ण र स्वाभाविक हुन्छ भन्ने प्रश्न भने पूरै किनारा लागिसकेको छैन । जनजनमा त यो प्रश्न छ नै, स्वयं ठूला दल र तिनका नेताहरू पनि लगभग उस्तै शब्दमा आशंका व्यक्त गरिरहेकै छन् ।
सरकार र निर्वाचन आयोग चुनाव हुने कुरामा शंका नगर्न सबैलाई आग्रह गरिरहेका छन् । उनीहरूको आग्रहले केही न केही काम पनि गरिरहेकै जस्तो पनि देखिन्छ । यद्यपि, यो सामान्य अवस्थाको चुनाव हैन । यसमा केही सामान्य घटना हुने सम्भावना पुरै टरिसकेको छैन । हिमाली क्षेत्रका केही निर्वाचन केन्द्रमा मौसमका कारण चुनाव प्रभावित हुन सक्छ । तराईका केही संवेदनशील निर्वाचन क्षेत्र र भावी प्रधानमन्त्रीका रूपमा घोषित नेताका क्षेत्रमा छिटपुट घटना नहोलान् भन्न सकिन्न ।
चुनावी इपिसेन्टरमा के भइरहेछ ?
यसपटकको चुनावको इपिसेन्टर एक हैन, दुई छन्, झापा ५ र सर्लाही ४ । यी दुई निर्वाचन क्षेत्रमा तीनजना सम्भावित प्रधानमन्त्रीका उम्मेदवार छन् । झापा ५ मा एमालेका केपी ओली र रास्वपाका बालेन शाह, अनि सर्लाही ४ मा काँग्रेसका गगन थापा । उनीहरू तिनैजना जित्नैपर्ने प्रचण्ड दबाबमा छन् । दबाबका कारण व्यक्तिगत महत्वाकांक्षा त हो नै, अन्तरपार्टी चुनौती र पार्टीको प्रतिष्ठा पनि जोडिएकै छन् ।
अहिलेको स्थिति हेर्दा बढीमा यी तीनमध्ये दुई जित्ने हुन् । झापा ५ मा बालेन र ओलीमध्ये एक त हार्छन् नै । जो हारे पनि व्यक्ति मात्र हार्ने हैनन्, सम्बन्धित पार्टीका प्रधानमन्त्रीका उम्मेदवार पनि हार्ने हुन् । ओली र बालेन हार्नै नचाहने र नसक्ने पात्र मात्र हैनन्, प्रवृत्ति नै हुन् ।
अहिलेसम्म यी दुबैलाई जित्छु भन्ने छ, त्यसैले चुनावको माहौल पनि ठिकै छ । तर, सत्य के हो भने एकै क्षेत्रमा उठेका दुवैले जित्ने हैनन् एकले जित्ने हुन् । जुन सत्य हार्छु भन्नेलाई थाहा हुन्छ, त्यसपछि झापा ५ बाटै चुनावको अशान्ति सञ्चार हुन पनि सक्छ । अझ, त्यसमा पनि ओली हार्ने स्थिति बन्यो र त्यसको अनुभूति उनलाई भयो भने उनले चुनाव हुन नदिन अनेक उपाय नगर्लान् भन्न सकिन्न ।
सुरुमा उनलाई चुनाव जित्ने लागेको थियो । तर, जब पहिलोपटक झापा पुगे, उनले सोचेभन्दा फरक स्थिति देखे । त्यसपछि मतदातामा घरदैलोमा पुगे । अहिले उनलाई जितिन्छ भन्ने लागेको छ । तर, यो माहौल कुनै पनि बेला बिग्रन सक्छ भन्ने राजनीतिका वाचाल खेलाडी ओलीलाई राम्रैसँग थाहा छ । त्यसैले उनी झोलीतुम्बी लिएरै दमकमै डेरा जमाएर बसेका छन् ।
यसको ठीक विपरीत ओलीको घरदैलोपछि बालेनलाई आफू पछि परेको लाग्यो । त्यसैले उनी बिचैमा राष्ट्रिय दौडाहा छोडेर झापा ५ फर्किएर अहिले घरदैलोमा व्यस्त छन् । उनी ओलीलाई काउन्टर दिँदै आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन् । उनलाई थाहा छ, निर्वाचन आउन बाँकी एक हप्ताभरि नै झापा ५ मा बसेपछि आफ्नो पल्ला भारी हुने छ ।
आजको दिन चुनाव भए केही छट्याकले भए पनि ओलीकै पल्ला भारी हुने हो कि जस्तो देखिन्छ । तर, यदि, रास्वपाले दाबी गरेजस्तै रास्वपाको पक्षमा हावा मात्र हैन, सुनामी नै आएको हो भने झापा ५ बाट ओली पनि बढारिन्छन् । तर, सुनामी आएन भने बालेनकै हावा टाइट हुने हो ।
यो निर्वाचनको अर्को इपिसेन्टर सर्लाही ४ हो जहाँ कांग्रेस सभापति गगन थापा काठमाडौंबाट तराई झरेर उम्मेदवार बनेका छन् । कांग्रेसको राम्रो पकड भएको यस क्षेत्रमा यसअघि अमरेश सिंहले कांग्रेस र स्वतन्त्र भएर चुनाव जितेका थिए, अहिले रास्वपा उम्मेदवार बनेर गगनलाई चुनौती दिइरहेका छन् । संसदमा नांगैसम्म हुन तयार उनले यसपटक पनि बालेन प्रधानमन्त्री भएनन् भने आत्मदाह गर्छु भनेर सार्वजनिक रूपमै बोलेका छन् ।
अमरेशले अन्टसन्ट बोलेर मधेशमा रास्वपाको हावा आएको दाबी गरे पनि आजका दिनसम्म यस क्षेत्रमा गगन सुरक्षित नै देखिन्छन् । गगन कांग्रेस सभापति भएपछि रास्वपा गएका काँग्रेसी पनि बिस्तारै पुरानै घर फर्किरहेका छन् भने युवामा पनि गगनप्रतिको विश्वास बढ्दै गएको देखिन्छ ।
तर, रास्वपाको सुनामी नै आएको हो भने त्यसले गगनलाई पनि बढार्न नसक्ने भन्ने हुँदैन । जे र जति नै भए पनि गगनका लागि रूखमै मतदान गर्नुपर्ने हुन्छ र वर्षौँदेखि प्रयोग हुँदै आएको यो निर्वाचन चिन्हमा खासै आकर्षण छैन । यो चुनावचिन्हबाट चुनाव जित्नेले देशलाई सपारेनन्, बरु उल्टै बिगारे भन्नेहरूको कमी छैन ।
निर्वाचन पछि के हुन्छ ?
नेपालको निर्वाचन प्रणाली मिश्रित छ, जनमत एक हैन, अनेक कोणबाट विभाजित छ । यस्तो अवस्थामा कुनै पनि दलको बहुमत आउने सम्भावना नै हुँदैन र छैन पनि । कहिले दुई दलीय त कहिले तीनदलीय ध्रुवीकरणमा जाने नेपाली जनमत यसपटक अरू थप ध्रुवीकरण भएको छ । यो चुनावमा कांग्रेस, एमाले र रास्वपा पहिलो तीन स्थानका लागि प्रतिस्पर्धामा छन् ।
पहिलो हुने तीन दलले सुरुमा आफ्नै बहुमत आउने दाबी गरे, अहिले झरेर ठूलो दलमा झरेका छन् । रास्वपा अझै पनि आफ्नो पक्षमा सुनामी आएको भन्दै दुई तिहाइबाट बहुमतमा मात्र झरेको छ । सार्वजनिक खपतका लागि जे भने पनि यी तीन दल कुनैको पनि बहुमत आउँदैन ।
गगन नेतृत्वमा आएपछि एमाले तेस्रो हुने स्थितिमा पुगेको जस्तो देखिन्छ । पहिलो र दोस्रोमा रास्वपा र काँग्रेसका आआफ्नै दाबी छन् । रास्वपाले दाबी गरेजस्तै उसको पक्षमा हावा चलेकै हो भने रास्वपा पहिलो हुन सक्छ । त्यसो हुन उसको पक्षमा ठूलो सङ्ख्यामा समानुपातिक मत परेको हुनुपर्छ । तर, त्यसो नभएर चुनावको पूर्वसन्ध्यामा मनमुनाव भएको कांग्रेसको मन टालियो र मतमा बदलियो कांग्रेस पहिलो हुन सक्छ । केही दिनयता ओली र बालेन+रवि अतिवादी र गगन मध्यमार्गी हुन् भन्ने विश्लेषण सुन्न थालिएको छ । यसो भन्नेहरू अहिलेको सुरक्षित राजनीतिक एक्जिट गगन हुन सक्छन् भन्ने ठान्छन् ।
यसरी संसद त जसोतसो बन्छ नै, तर प्रश्न सरकार बनाउने पनि हो, त्यो चाहिँ बन्छ कसरी ? कसरी जुट्छ, १३८ सांसदको म्याजिक नम्बर ? को को मिल्दा पुग्छ सरकार बनाउने त्यो म्याजिक नम्बर ? यसअघि जस्तै बाँडीचुँडी कि अरू कुनै सूत्र हुन्छ ? बाध्यताका नाममा बाँडीचुडी भयो भने त्यसले जनताको अपेक्षा सम्बोधन गर्ला त ?
चुनावपछिका यक्ष प्रश्नहरू हुन् । यी प्रश्नको छिनोफानो हुनु अघि अन्य केही प्रश्नको सम्भावित उत्तर कस्तो हुन्छ?, हेर्नुपर्ने हुन्छ ।
–झापा ५ मा को जित्छ– ओली कि बालेन ?
–सर्लाही ४ मा गगन जित्छन् कि जित्दैनन् ?
–रवि लामिछानेको राजनीतिक भविष्य नै सिध्याउनसक्ने संगीन मुद्दाहरूको किनारा कसरी लाग्छ ?
–कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित अदालतमा पुगेको मुद्दा कसरी टुंगिन्छ ?
–चुनावमा उम्मेदवार बनेका जेनजी अभियन्ता जित्छन् कि हार्छन् ?
–चुनावमा मधेसका मसिहाहरूको राजनीतिक भविष्य के हुन्छ ?
–चुनावको परिणामलाई नजिक छिमेकी चीन र भारत अनि टाढाको छिमेकी अमेरिकाले कसरी लिन्छ ?
–साँच्चै नै जेनजी आन्दोलनमा विदेशी षडयन्त्र नै भएको रहेछ भने त्यो स्कृप्टअनुसार चुनाव भएर परिणाम आउँछ कि आउँदैन ?
–गौरीबहादुर केसीको आयोगले तत्कालीन सरकारका मुखिया ओलीको भूमिकालाई लिएर कस्तो सिफारिस गर्छन् र त्यसलाई लागू गर्न चुनावपछिको सरकार तयार हुन्छ कि हुँदैन ?
यी तमाम प्रश्नहरूको उत्तरमै नेपालको चुनावपछिको राजनीतिक परिदृश्य र आगामी दिनहरू कसरी अगाडि बढ्छन् भन्ने दिशा र दशा तय हुन्छ ।
जे भए पनि यति चाहिँ भन्न सकिन्छ कि नेपालका आगामी दिनहरू त्यति सहज र सुखद हुने छैनन् । मुलुक लोकप्रियतावादी सुरुङ र त्यसलाई छामेको आधारमा भ्रमका पहाडहरू ठड्याउने सामाजिक सञ्जालको असामाजिक चक्रमा फसिसकेको छ । स्रोत, साधन, सपना, राष्ट्रिय नेता, एकता र संकल्प नभएको देशमा बिक्ने भनेको चर्को कुरा नै हो । अहिले ओली र रवि त्यस्तै बिकाऊ कुराहरूको पसल थापेर अधिकांश समाचारका हेडलाइन बनाइरहेका छन् ।
ती हेडलाइनको सङ्ख्या र आकार नघटेसम्म न देशको धरातलीय छाम्न र छुन सकिन्छ, न केही नै हुन्छ । हुने बढेको बढीमा कुरा हो । तर, कुराले चिउरा भिज्ने हैन ।











