Logo
Logo

बोलिभियामा केन्द्रीय बैङ्कको पैसा बोकेको विमान दुर्घटना, १५ जनाको मृत्यु


630
Shares

काठमाडौं । बोलिभियाको एल आल्टो सहरमा वायुसेनाको हरक्युलिस विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

People walk on the scene where a plane crashed on a highway in El Alto, Bolivia, Friday, Feb. 27, 2026. (AP Photo/Juan Karita)

स्थानीय समयअनुसार बिहान भएको उक्त दुर्घटनामा विमान देशको केन्द्रीय बैङ्कका नयाँ नोट बोकेर गइरहेको बताइएको छ । खराब मौसमका बीच अवतरण गरेपछि विमान धावनमार्गबाट चिप्लिएर नजिकैको व्यस्त सडकमा खसेको थियो । विमान सडकमा खस्दा त्यहाँ पार्किङमा रहेका करिब १० देखि १५ वटा सवारी साधन समेत क्षतिग्रस्त भएका छन् ।

दुर्घटनापछि सडकभर विमानका भग्नावशेष, क्षतिग्रस्त सवारी साधन र मृतकका शव छरिएको अवस्थामा भेटिएको थियो । साथै बैङ्कका नोटहरू समेत सडकमा छरिएका देखिएपछि स्थानीय मानिसहरू घटनास्थलमा जम्मा भएका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा दुर्घटनापछि भीड नियन्त्रण गर्न स्थानीय सुरक्षाकर्मीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको देखिएको छ ।

दुर्घटनापछि एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । राष्ट्रिय विमान सेवा कम्पनीले दुर्घटनामा परेको विमान आफ्नो नभई वायुसेनाको भएको स्पष्ट पारेको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमान पूर्ण रूपमा क्षतिग्रस्त भई दुई टुक्रामा विभाजित भएको देखिएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको छ भने घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रशासनले जनाएको छ । मृतकहरूको पहिचान तथा क्षतिको विवरण सङ्कलन गर्ने काम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्