काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीच बढ्दो सैन्य सङ्घर्षमा दुवै पक्षका गरी ३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् । दुवै देशले एकअर्काविरुद्ध थप सैन्य कारबाही गर्ने चेतावनी दिँदै तनाव अझ चर्किएको छ ।

पाकिस्तानका सैन्य प्रवक्ताले देशभित्र भइरहेका आतङ्कवादी आक्रमणमा भारतको भूमिका रहेको आरोप लगाएका छन् । उनका अनुसार यस्ता गतिविधिका लागि अफगान तालिबान नियन्त्रणमा रहेको क्षेत्र प्रयोग भइरहेको छ ।
दुवै देशबीचको सङ्घर्ष बिहीबार रातिदेखि सुरु भएको थियो । अफगानिस्तानले फागुन १० गते पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफस्वरूप कारबाही गरेपछि स्थिति झनै बिग्रिएको हो । त्यसपछि पाकिस्तानले ‘अपरेशन गजब९लिल९हक’ सञ्चालन गर्दै काबुल, कन्धार, पक्तिया, नंगरहार लगायत क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफ चौधरीका अनुसार हालसम्म २७४ तालिबान लडाकु मारिएका छन् भने ४ सयभन्दा बढी घाइते भएका छन् । उनले ११५ ट्याङ्क तथा बख्तरबन्द सवारी नष्ट गरिएको, ७४ चौकी ध्वस्त पारिएको र १८ चौकी आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । पाकिस्तानले आफ्ना १२ सैनिक मारिएको र २७ जना घाइते भएको पनि स्वीकार गरेको छ ।
यता तालिबान पक्षले भने आफ्ना ८ देखि १३ लडाकु मात्र मारिएको दाबी गर्दै ५५ पाकिस्तानी सैनिक मारिएको र दुई सैन्य मुख्यालयसहित केही चौकी नियन्त्रणमा लिएको जनाएको छ । पाकिस्तानले थप आक्रमण गरे कडा जवाफ दिने चेतावनी पनि तालिबानले दिएको छ ।
अफगानिस्तानको रक्षा मन्त्रालयले ड्रोनमार्फत पाकिस्तानभित्रका सैन्य संरचनालाई निशाना बनाएको दाबी गरेको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले भने एबटाबाद, स्वाबी र नौशेरामा उडाइएका साना ड्रोन खसालिएको र ठूलो क्षति नभएको बताएका छन् । त्यसपछि पाकिस्तान सरकारले देशभर निजी ड्रोन उडाउन तत्काल प्रतिबन्ध लगाएको छ ।
पूर्व पाकिस्तानी सैनिक अधिकारी आदिल रजाले अफगानिस्तानबाट उडाइएका ड्रोनले इस्लामाबाद नजिकको आणविक ऊर्जा केन्द्रसहित केही महत्वपूर्ण सैन्य स्थानलाई निशाना बनाएको दाबी गरे पनि यसको आधिकारिक पुष्टि भएको छैन ।
यस घटनापछि पाकिस्तानको सिनेटले अफगानिस्तानविरुद्ध निन्दा प्रस्ताव पारित गरेको छ । विदेश मन्त्रालयले थप उक्साहट भए कडा जवाफ दिने चेतावनी दिएको छ । प्रधानमन्त्री शहबाज शरीफले सेना मुख्यालय पुगेर शून्य सहनशीलताको नीति दोहोर्याएका छन् ।
यसअघि पाकिस्तानले सीमावर्ती क्षेत्रमा टीटीपी र इस्लामिक स्टेटसँग सम्बन्धित समूहका ठिकानामा हवाई आक्रमण गरेको जनाएको थियो । अफगानिस्तानले भने ती आक्रमणमा सर्वसाधारण नागरिक प्रभावित भएको आरोप लगाएको थियो ।
डुरण्ड रेखालाई लिएर पाकिस्तान र अफगानिस्तानबीच लामो समयदेखि विवाद रहँदै आएको छ। सन् २०२१ मा तालिबानले अफगानिस्तानको सत्ता सम्हालेपछि दुई देशबीचको तनाव अझ बढ्दै गएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यस विषयमा अमेरिका हस्तक्षेप गर्छ कि गर्दैन भन्ने प्रश्नको जवाफमा उनले आवश्यक परे हस्तक्षेप गर्न सक्ने बताए पनि पाकिस्तानसँग आफ्नो सम्बन्ध राम्रो रहेको उल्लेख गरेका छन् ।











