
रीता न्यौपानेको जीवनसँग जोडिएको नाम हो हेमराज पहारी । हेमराजसरसँग मैले धेरै समय संगत गर्ने अवसर नपाए पनि छोटो समयमै म उहाँबाट प्रभावित भएको थिएँ । उहाँका सिर्जनाहरू सुन्ने अवसर पाएको थिएँ । अचानक उहाँको दुःखद खवरले मर्माहित भएको थिएँ । संसारमा जन्मसँगै मृत्यु पनि हामीले बोकेर ल्याएका हुन्छौँ, तैपनि मन न हो कहाँ मान्दो रहेछ र ? मन नमाने पनि चित्त बुझाउनुपर्ने नै रहेछ । अन्तिम सत्य भनेको आखिर मृत्यु नै रहेछ, समयभन्दा बलवान आखिर केही नहुने रहेछ र ? हो त्यो समयको घट्टमा हामी पिसिइरहेका छौँ, हरक्षण, हरबखत ।
रीता न्यौपाने पहारीको पुस्तक बेरीतका रीतहरू पढ्दै जाँदा हेमराजसरसँगको सम्झना ताजा बन्यो । हामीले अरुलाई सम्झाउँछौँ, तर आफैँलाई चोट पर्दा भने आफ्नै मनलाई सम्झाउन सक्दैनौँ । जब आलो घाउ बिस्तारै खाटा पर्दै जान्छ, अनि आफैँले आफ्नै मनलाई सम्झाएर दिन दैनिकीमा फर्कनुको विकल्प छैन । यस्तै एउटा घटनाक्रममा रीतामाथि परेको चोट पढिरहँदा आँखा ओभानो भने हुनै सक्दैन । हुनतः जीवनको रीत यस्तै हो, हामीले हाम्रो जीवनका सम्पूर्ण घटनाक्रम जन्मँदै लिएर आएका हुन्छौँ । फरक यति हो, त्यसको अग्रिम जानकारी भने हामीले प्राप्त गर्न सक्दैनौँ ।
बेरीतका रीतहरू रीताका निजात्मक निबन्ध सङ्ग्रह हो । यस सङ्ग्रहभित्र विविध शीर्षकका २० वटा निबन्धहरू रहेका छन् । रीताका जीवनमा घटेका विविध घटनासँगै समाजसँग जोडिएका विविध घटनाक्रम निबन्ध बनेर प्रस्तुत भएका छन् । रीताले जीवनका विविध परिस्थितिलाई भुलाउने प्रयत्नस्वरुप अक्षरको सहारा लिएर आफ्ना पीडासँगै समाजका विविधतालाई निबन्धमार्फत बेरीतका रीतहरूमा जोड्न सफल भएकी छिन् । यस अवधिमा आफूले भोगेका केही घटनाक्रमलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
एउटै समयमा उनलाई जस्तै धेरैलाई यस्ता पीडाहरू परेका पक्कै छन्, कोही जीवनका दुःखलाई आँसुमा बदल्छन् भने रीताले शब्दका सहाराले आफ्नो मात्र नभएर सिङ्गो समाजका पीडालाई उजागर गरेकी छिन् ।
‘जतिबेला जे होला भनेर चिताएको हुन्छ, त्यतिबेला यो नभएर अरुथोक नै हुँदा जीवनको रीत नै लयमा नहिँडेर प्रलयमा बल्ढ्याङ खान पुग्दोरहेछ । बेरीतका रीत बनेर आएका प्रलयहरूसँग पौँठेजोरी खेल्दै आफ्नो संघर्षलाई पनि अघि बढाउँदा मैले बेरीतका रीतहरू यस्तै उबडखाबड हुँदा रहेछन् भन्ने बोध गरेँ । आफूले सोचेझैँ, कहाँ बिस्तारै विकसित हुँदै जाने रीतहरूमात्र हँुदा रहेछन् र ! जीवनमा भोग्नैपर्ने र एक निमुखालाई जस्तोसुकै परिस्थितिसित समेत भिड्नसक्ने बनाइदिने बेरीतका रीतहरू बिस्तारै मनपर्न थाले । सान्निध्य तिनीहरूसितै हुँदै गयो, हरेक परिस्थितिमा स्वाभिमान कायम राखी आत्मरक्षासमेत गर्दै बाँच्नु महत्वपूर्ण रहेको ज्ञान भयो । तमासेहरूका बीचमा आफ्नो जीवन अनमोल रहेछ भन्ने पनि छर्लङ्ग भयो ।’ बेरीतका रीतहरू पुस्तकमा आफ्ना लेखकीय सन्दर्भहरूलाई केलाउने क्रममा लेखिएका यी हरफहरू वास्तवमा रीताका जीवनका नसोचिएका मोडहरू हुन् ।
हामीले कहिल्यै नसोचेका तथा कल्पना नगरेका सन्दर्भहरू जीवनमा अचानक घट्दछन्, जीवन जिउने क्रममा ती घटनाक्रमहरू आफैँ सहज बन्दा रहेछन् । बेरीतका रीतहरूका सन्दर्भहरूले हरेक मानवलाई एउटा सकारात्मक बाटोमा हिँड्न ऊर्जा प्रदान गर्छन् । हरेक मान्छेका आ–आफ्नै दुःख र सुखका पाटाहरू हुन्छन् । उनीहरूलाई आफ्ना जीवनका पाटाहरूलाई दस्ताबेज बनाउन प्रेरणा मिल्छ बेरीतका रीतहरू पढिरहँदा ।
२० वटा आत्मपरक निबन्धहरू बेरीतका रीतहरूमा समेटिएका छन् । ‘हामी, मोबाइल र फेसबुक’ शीर्षकबाट सुरु भएको छ र ‘खाँडादेवी स्कुल’ अन्तिम निबन्ध रहेको छ । पहिला हामीले भोगेका चिठ्ठीपत्रको युगको सम्झना ताजा बन्छ । हुलाकी दाइ कहिले आउँछन् भन्ने प्रतीक्षाको घडी रमाइलो लाग्दथ्यो । हाल त्यो युगलाई सामाजिक सञ्जालले लिएको छ । समयअनुसार परिवर्तन जरुरी पनि छ, प्रविधिको कारणले अहिले हामीले सम्पर्क गर्न केही समय पनि कुर्नु पर्दैन । यसको सदुपयोग गर्न जान्यो भने जीवन सहज बन्न सक्छ भन्ने मूल ध्येय यहाँ उल्लेख गर्न खोजिएको छ ।
हेमराज पहारी स्मृति पुरस्कार गुठी स्थापना गरेर सर्जकहरूलाई प्रत्येक दुई÷दुई वर्षमा पुरस्कार समर्पण गर्ने गरिएको छ । ‘न्यानो ओतलाई कदर’ शीर्षकमा यी कुराह पढ्न सकिन्छ । ‘सोच थरिथरिका’ शीर्षक निबन्धमा बौद्धिक साहित्यकारको नकारात्मक सोच उजागर भएको छ । विद्धत्ताको खोल ओढेर समाजमा अनेकन हर्कत गर्ने निच सोच भएका व्यक्तिहरूको पहिचान गरेर त्यस्ता विद्धत्त वर्गलाई समाजमा चिनाउने काम ‘बेरीतका रीतहरू’मार्फत भएका छन् । एकल महिलाका पीडाहरू लेखक आफैँले जीवनमा भाग्नुपरेको छ । तर, एकल पुरुषका पीडा पनि निबन्धमार्फत प्रस्तुत भएका छन् ।
निबन्धमार्फत बाल्यकालका सम्झना, परिवारको माया, कोरोनाका कहर, विवाह भएर पोखरा पुगेपछिको माइती सम्झना, गाउँमा धान रोप्दा गरिने बेठीका ताजा याद निबन्धका महत्वपूर्ण पक्षहरू हुन । वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको सादगीपनलाई सरल मान्छेको शीर्षकमा पढ्न सकिन्छ । समग्रमा रीता पहारीका जीवनका आरोहअवरोहलाई बेरीतका रीतहरूमार्फत बुझ्न सकिन्छ । समाजका चित्रहरू मनन गर्न सकिन्छ । नेपाली साहित्यमा रीताले गरेको कर्मको साक्षी बस्न सकिन्छ । हेमराज पहारी स्मृति प्रतिष्ठान, पोखराद्धारा प्रकाशित कृति बेरीतका रीतहरू पठनीय कृतिको रूपमा बजारमा आएको छ ।











