काठमाडौं । इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले उनीहरूविरुद्ध ‘इतिहासकै खतरनाक आक्रमण’ गर्ने चेतावनी दिएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले विज्ञप्ति जारी गरी भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाले कब्जा गरिएका क्षेत्र र अमेरिकी आतङ्कवादी अड्डाहरूविरुद्ध चाँडै इतिहासको सबैभन्दा खतरनाक आक्रमण सुरु गर्नेछ।’
यसैबिच त्यसो गरिए अझ कडा आक्रमण गरिने जवाफ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् । उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले भर्खरै यसअघि कहिले नगरिएको धेरै शक्तिशाली आक्रमण गर्ने भनेको छ । तर त्यसो नगर्नु उसका लागि राम्रो हुनेछ । किनकि त्यसो गर्यो भने हामी त्यस्तो भीषण आक्रमण गर्नेछौँ, जुन उसले यसअघि कहिले देखेको थिएन ।’
यसैबिच इरानको सरकारी टीभी च्यानलका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अयातोल्लाह अली खामेनी शनिवार बिहान आफ्नै कार्यालयमा काममा व्यस्त रहेका बेला मारिएको बताएको छ । इरानका सञ्चारमाध्यम तस्निम र फार्सका अनुसार आक्रमणमा इरानका सर्वोच्च नेता खामेनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएका छन्।
सर्वोच्च नेता खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ । आईआरजीसीले भनेको छ, ‘हामीले एक महान् नेता गुमाएका छौँ र सिंगो देश शोकमा छ ।’
यसैबिच वासिङ्टनस्थित इरानी मानव अधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले अमेरिका र इजरायलको आक्रमणमा इरानमा कम्तीमा १३३ जना मारिएको र २०० जना घाइते भएको जनाएको छ ।
जवाफमा शनिबार २७ अमेरिकी अड्डाका साथै तेल अभिभस्थित इजरायली सेनाको मुख्यालय र रक्षा उद्योगमा हमला गरिएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले विज्ञप्तिमार्फत जनाएको छ ।











