काठमाडौं । अजरबैजानले इरानबाट प्रक्षेपण गरिएका केही ड्रोन आफ्नै भूभागमा खसेको दाबी गरेको छ । अजरबैजानको विदेश मन्त्रालयका अनुसार ती ड्रोन देशका विभिन्न स्थानमा खसेका हुन् ।

मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार एउटा ड्रोन नखचिवान अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा ठोक्किएको छ भने अर्को ड्रोन शकराबाद गाउँमा रहेको एक विद्यालय नजिक खसेको बताइएको छ । यस घटनामा विमानस्थलको भवनमा क्षति पुगेको र दुई जना सर्वसाधारण घाइते भएको जनाइएको छ । अजरबैजानले इरानको भूमिबाट गरिएको यस्तो ड्रोन आक्रमणको कडा निन्दा गरेको छ ।
यस घटनापछि अजरबैजानले इरानका राजदूतलाई तलब गरेको जनाएको छ। विदेश मन्त्रालयका अनुसार उक्त घटनाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको ठहर गरिएको छ ।
अजरबैजानले इरानसँग घटनाबारे तत्काल स्पष्ट पार्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न माग गरेको छ । साथै यस विषयमा आवश्यक परे जवाफी कदम चाल्ने अधिकार आफूहरूसँग सुरक्षित रहेको पनि अजरबैजानले जनाएको छ ।











