
जेनजी आन्दोलनपछि भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ केवल एक निर्वाचन क्षेत्र मात्र थिएन, यो नेपाली राजनीतिको ‘इपिसेन्टर’ अर्थात् कम्पनको केन्द्रविन्दु बन्न पुग्यो ।
एकातिर नेकपा (एमाले)का सर्वशक्तिमान अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दशकौँदेखिको अभेद्य किल्ला, अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका युवा लहरका संवाहक बालेन शाह । यी दुई ध्रुवीय शक्तिबीचको टकरावले झापा–५ लाई राष्ट्रिय राजनीतिको कुरुक्षेत्रमा परिणत गरिदियो ।
चुनावी माहोल यस्तो थियो कि धेरैले यो भिडन्तलाई इन्डिया–पाकिस्तानबीच हुने क्रिकेट म्याचभन्दा पनि रोचक र प्रतीक्षित मानिरहेका थिए । चिया पसलका बहसदेखि सामाजिक सञ्जालका ‘टिकटक वाल’सम्म एउटै प्रश्न घुमिरहेको थियो– झापा पाँचमा कसको झण्डा गाडिएला ? तर मतगणनाको अन्तिम नतिजासँगै जनताले त्यस प्रश्नको स्पष्ट जवाफ पाइसकेका छन् । झापा पाँचमा रास्वपाले आफ्नो झण्डा गाडिसकेका छ, त्यो पनि सानदारसँग ।











