काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा आफ्नो नयाँ हेड अफिस उद्घाटन गरेको छ। नेपाली परिवारलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा यसलाई महत्त्वपूर्ण उपलब्धि मानेको कम्पनीले जनाएको छ।

आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली तथा सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित तयार गरिएको यस कार्यालयले कार्य सञ्चालनलाई अझ प्रभावकारी बनाउनुका साथै ग्राहकहरूलाई छिटो, सहज र उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। यो केवल भौतिक विस्तार मात्र नभई प्रत्येक ग्राहकसँगको अन्तर्क्रियामा विश्वास, स्पष्टता र द्रुत सेवाप्रतिको संस्थागत प्रतिबद्धताको अभिव्यक्ति पनि हो।
कम्पनीले नयाँ हेड अफिसको वास्तविक मूल्य यसबाट प्रवाह हुने सेवाको गुणस्तरले निर्धारण गर्ने विश्वास व्यक्त गरेको छ। नवप्रवर्तन, पारदर्शिता र ग्राहककेन्द्रित सेवाप्रतिको प्रतिबद्धताका साथ कम्पनीले देशभरका परिवारहरूमा वित्तीय आत्मविश्वास सुदृढ बनाउँदै नेपालको बिमा क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
उद्घाटन समारोहका अवसरमा मेटलाइफ नेपालले नियामक निकाय, क्षेत्रीय नेतृत्व, साझेदार तथा कर्मचारीहरूको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेको थियो। समारोहमा संयुक्त राज्य अमेरिकाको दूतावासका चार्जे द अफेयर्स स्कट अर्बोम र नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो। साथै मेटलाइफका क्षेत्रीय नेतृत्व लिन्डन ओलिभर (एसिया क्षेत्रीय अध्यक्ष) र एलेना बुटारोभा (वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम प्रमुख) पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा बोल्दै मेटलाइफ एसियाका क्षेत्रीय अध्यक्ष लिन्डन ओलिभरले भने, ‘यो नयाँ प्रधान कार्यालयको उद्घाटन हामी सबैका लागि गर्वको क्षण हो, जसले नेपालप्रतिको मेटलाइफको दीर्घकालीन प्रतिबद्धतालाई झल्काउँछ।’











