Logo
Logo

बालुवाटार बैठक


- शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

स्थायी कमिटीका कुनै पनि निर्णय कार्यान्वयन भएनन्, बरु एकपछि अर्को प्रधानमन्त्रीका कारण समस्या थपिँदै गयो, तपाईंले औपचारिक बैठक डाकेमा पार्टी फुटाउँछु भन्दै धम्की दिनुभयो । त्यसैले अनौपचारिक बैठक डाकेर साथीहरूसँगै आएको छु ।
– पुष्पकमल दाहाल ‘प्रचण्ड’, कार्यकारी अध्यक्ष

बैठकै नबसेकोजस्तो, बैठकै नबस्ने भन्ने होइन । तर, समस्या त बैठक नबसेर होइन, तपाईंहरूको गुटबन्दीको हो । तपाईँहरु सरकारलाई असफल पार्ने, पार्टी फुटाउने काममा लाग्नुभएको छ, त्यस्ता झेली खेल नखेल्नुस् । दिनका दिन तपाईंहरू कहाँ–कहाँ बैठक बसिरहनुभएको छ, कस्ता–कस्ता गोप्य बैठक, गोप्य सर्कुलर गर्नुभएको छ, ती चिज नै समस्या हुन् ।
– केपी शर्मा ओली, अध्यक्ष तथा प्रधानमन्त्री

तपाईँ नै हो बालुवाटारको सुरक्षा घेराभित्र बसेर जालझेल गर्ने, गोप्य रूपमा गुटबन्दी गर्ने । बालुवाटारलाई तपाईंले राजनीतिक चलखेलको अखडा बनाउँदै आउनुभएको छ, अनि उल्टै गुटबन्दी गरेको दोष मलाई किन दिनुहुन्छ ?
– पुष्पकमल दाहाल ‘प्रचण्ड’, कार्यकारी अध्यक्ष

ओली कमरेड, अहिलेसम्म के कुनै कमजोरी तपाईँबाट भएको महसुस छैन ? तपाईंले कहिल्यै गल्ती गर्नुभएन ? के तपाईं सर्वगुणसम्पन्न मानिस हो ? पहिला आत्मालोचना गर्नुस्, धेरै साथीहरू किन आलोचना र विरोध गर्ने ठाउँमा पुगे होलान् सोच्ने गर्नुस् ।
– माधवकुमार नेपाल, वरिष्ठ नेता

तपाईंले दिनहुँ बालुवाटारमा बसेर छलफल गर्दा गुटबन्दी नहुने ? हामीले पार्टीभित्रका समस्याबारे कुराकानी गर्नेबित्तिकै गुटबन्दी हुने ? पार्टीले कार्यकारी अध्यक्ष भनिसकेको व्यक्तिसँग छलफल गर्दा कसरी गुटबन्दी हुन्छ ?
– वामदेव गौतम, उपाध्यक्ष

आलोचना गर्दा विरोध गरेको ठान्नु कम्युनिस्ट प्रवृत्ति होइन । मुलुक यति गम्भीर अवस्थामा फसेका वेला बैठक डाक्नै नपर्ने, बैठकबारे जवाफ नै दिन नपर्ने तपाईंहरू कस्तो नेतृत्व हो ?
– नारायणकाजी श्रेष्ठ, प्रवक्ता

पार्टीभित्र उत्पन्न समस्याको समाधान खोज्न पटक–पटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्दा पनि ओलीले अटेर गरेपछि कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले कात्तिक २१ गते शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा नेकपा सचिवालय बैठक बोलाए । अनौपचारिकरुपमा बोलाइएको उक्त बैठकमा महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित भएनन् । तै पनि कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उक्त अनौपचारिक बैठकमा सहभागी भए । बैठकमा अहिले नेकपामा देखिएको समस्याको कारण के हो ? त्यसको समाधान कसरी गर्नुपर्छ भन्ने विषयमा छलफल भयो । बैठकको निष्कर्ष सचिवालयको बैठकले गरेका निर्णय अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई लिखितरुपमा दिने र विधि, पद्धतिसम्मत पार्टीको आन्तरिक समस्या हल गर्ने निर्णय भयो । यो निर्णयपछि प्रचण्डको नेतृत्वमा शुक्रबार सचिवालयको अनौपचारिक बैठकमा सहभागी नेकपाका शीर्षनेताहरु लिखित सुझावसहित प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटा पुगे ।

उता पार्टी कार्यालयमा पार्टीको विवाद समाधान गर्न सचिवालयको अनौपचारिक बैठक, छलफल हुँदै थियो । यता बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका नेता भेला भएका थिए । बालुवाटार बैठकले ओलीमाथि घेराबन्दी गर्न प्रचण्डले यतिसम्मको हर्कत गरेपछि अब प्रचण्डसँग मिलेर जान नसकिने र हिजो प्रचण्डसँग पार्टी एकता गर्दा ओलीले गरेको सहमति नै गलत भएको निष्कर्ष निकाल्दै थिए । सबैका कुरा सुनेका ओलीले अब के गर्नुपर्ला त भन्ने जिज्ञासा आफ्नो गुटसमक्ष राखेका थिए । धुम्वाराही बैठकबाट तनावमा परेका प्रधानमन्त्री ओलीलाई उनका गुटले अब मिलेर जान सकिन्न, प्रचण्डलाई स्पष्टरुपमा यो कुरा भन्नुस् भनेपछि गत शनिबार पार्टीको बैठक बोलाउन लिखित सुझाव लिएर बालुवाटार पुगेका प्रचण्ड, माधव, वामदेव, नारायणकाजीसामु ओली सामु पड्किएका थिए । त्यो दिन धुम्वाराहीमा कसले के भने भन्ने कुराको ब्रिफिङ त्यही दिन ओलीलाई भएको थियो । आफ्नो अनुपस्थितिमा प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएर आफूमाथि दबाब बढाउन थालेपछि शुक्रबार बेलुकी ओली निकै तनावमा थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विदेश मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईले ओलीलाई ‘अब मिलेर जान सकिन्न, आ–आफ्नो बाटो लाग्नुपर्छ । बरु ढिलो गर्दा प्रचण्डले त्यसको फाइदा उठाउँछन् । संसद्को बैठक अगाडि नै हामी एउटा टुंगोमा पुग्नुपर्छ भनेर सुझाव दिएपछि प्रधानमन्त्री ओली मौन बसे, तर, मुन्टो हल्लाएर प्रचण्डलाई अलग्याउने कुरामा सहमति जनाए । त्यसपछि आइतबार वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर फकाउने प्रयास गरे ।

यो सबै घटनाक्रमलाई विश्लेषण गर्दा प्रधानमन्त्री ओली अब प्रचण्ड, माधव र वामदेवसँग मिलेर जाने पक्षमा छैनन् । न त पार्टी एकता गर्दा प्रचण्डसँग भएको सहमति कार्यान्वयन गर्ने पक्षमै छन् । यो अवस्थामा ओलीलाई उनको गुटले पु¥याएको हुँदा मंसिर १५ गतेको लागि सारिएको केन्द्रीय समितिको बैठक र चैतको अन्तिम साता गर्ने भनिएको एकता महाधिवेशन पनि टार्ने मुडमा ओली पुगेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्ति स्वयं यसरी षड्यन्त्र गर्दै हिँडेपछि नेकपाको एकता प्रक्रिया टुंगोमा कसरी पुग्ला भन्ने चिन्ता आम कार्यकर्तामा छ ।

प्रतिक्रिया दिनुहोस्