काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनले व्यावसायिक नेतृत्व तहका धेरै व्यक्तिले निर्णय लिन कृत्रिम बुद्धिमत्ता (एआई) मा बढ्दो रूपमा निर्भर हुन थालेको देखाएको छ ।

बजार अनुसन्धान संस्था ३ जेमले गरेको अध्ययनअनुसार ६२ प्रतिशत व्यावसायिक नेतृत्वकर्ताले अधिकांश निर्णयका लागि कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणाली प्रयोग गर्ने गरेका छन् ।
अध्ययनमा २०० जना व्यवसाय मालिक, संस्थापक, प्रमुख कार्यकारी तथा अन्य वरिष्ठ नेतृत्वकर्तालाई समेटिएको थियो । तीमध्ये १४० जनाले आफ्ना विचार कृत्रिम बुद्धिमत्ताले दिएको सिफारिससँग नमिलेमा आफ्नै निर्णयमाथि पुनः शङ्का गर्न थाल्ने बताएका छन् ।
त्यस्तै ४६ प्रतिशतले अब व्यावसायिक सहकर्मीभन्दा कृत्रिम बुद्धिमत्ताले दिएको सुझावमा बढी विश्वास गर्ने बताएका छन् । यसअघि सार्वजनिक अर्को अध्ययनमा ६४ प्रतिशत व्यावसायिक नेतृत्वकर्ताले कर्मचारी हटाउनेजस्ता संवेदनशील निर्णयमा पनि कृत्रिम बुद्धिमत्ताबाट सल्लाह लिने गरेको उल्लेख गरिएको थियो ।
यसैबीच कार्नेगी मेल्लोन युनिभर्सिटी र माइक्रोसफ्टले संयुक्त रूपमा गरेको अर्को अनुसन्धानले कृत्रिम बुद्धिमत्तामा अत्यधिक निर्भर हुँदा मानिसको गहिरो रूपमा सोच्ने क्षमता कमजोर हुन सक्ने देखाएको छ । विज्ञहरूका अनुसार जब कुनै काम यन्त्रले राम्रोसँग गर्न सक्छ भन्ने विश्वास बढ्छ, तब मानिसको मस्तिष्कले आफैँ प्रयास गर्ने बानी घटाउँदै लैजान्छ ।
डेनमार्कका मनोचिकित्सक सोरेन ओस्टरगार्डले कृत्रिम बुद्धिमत्तामा अत्यधिक निर्भरता बढेमा मानिसमा मानसिक सुस्ती बढ्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार मानिसले आफ्नै सोच प्रयोग नगर्दा तर्क गर्ने क्षमता क्रमशः कमजोर हुँदै जान्छ । उनले यस अवस्थालाई ‘कृत्रिम बुद्धिमत्ता मनोविकार’ जस्तो स्थिति हुन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् ।
अर्को अध्ययनले युवाहरूमा कृत्रिम बुद्धिमत्ता प्रयोग बढ्दै जाँदा आलोचनात्मक सोच कमजोर हुन सक्ने देखाएको छ । अनुसन्धानमा कृत्रिम बुद्धिमत्तामा निर्भर व्यक्तिको मस्तिष्क सक्रियता सामान्य रूपमा इन्टरनेटमार्फत जानकारी खोज्ने व्यक्तिको तुलनामा निकै कम पाइएको उल्लेख गरिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार विकासको चरणमा रहेका बालबालिकाका लागि अत्यधिक कृत्रिम बुद्धिमत्ता प्रयोग झन् जोखिमपूर्ण हुन सक्छ । यसले उनीहरूको सिकाइ क्षमता र दीर्घकालीन मानसिक विकासमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ ।











