Logo
Logo

एथरको सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर ‘रिज्टा एस’नेपालमा, १०० ग्राहकलाई विशेष छुट


945
Shares

काठमाडौं । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता वैद्यज् इनर्जीले नेपाली बजारमा आफ्नो सबैभन्दा सस्तो र बहुप्रतिक्षित मोडल ‘एथर रिज्टा एस’को बिक्री औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले नयाँ भेरियन्टलाई विशेष ‘इन्ट्रोडक्टरी’ मूल्यमा बजारमा उतार्दै ग्राहकहरूलाई आकर्षित गर्ने योजना  ल्याएको हो ।

वैद्यज् इनर्जीका सीईओ सूर्यांश वैद्यका अनुसार कम्पनीले  स्कुटरको आधिकारिक बजार मूल्य २ लाख ९४ हजार ९९९ रुपैयाँ तोकेको भए तापनि सुरुवाती ग्राहकका लागि भने २ लाख ७४ हजार ९९९ रुपैयाँमै उपलब्ध गराउने भएको छ ।  सुरुमा ५० जना ग्राहकलाई मात्र यो सहुलियत मूल्यमा स्कुटर दिने योजना बनाइएको भए तापनि ग्राहकको उच्च र उत्साहजनक मागका कारण अब पहिलो १०० जना भाग्यशाली ग्राहकले यो इन्ट्रोडक्टरी मूल्यमा स्कुटर खरिद गर्न पाउनेछन् । 

सीईओ वैद्यले हालसम्म रिज्टा एसको १५० युनिटभन्दा बढी बुकिङ भइसकेको जानकारी दिँदै सुरुवाती १०० जनाबाहेक अन्य ग्राहकले भने २ लाख ९५ हजार रुपैयाँ तिर्नुपर्ने बताएका छन् । 

प्राविधिक पक्षतर्फ हेर्दा एथर रिज्टा एसमा २.७ किलोवाट आवरको शक्तिशाली ब्याट्री र ४.३ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। यो स्कुटरले एकपटकको पूर्ण चार्जमा १२३ किलोमिटरसम्मको रेन्ज दिने आइडीसीबाट प्रमाणित भइसकेको छ भने यसको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ । विशेषगरी पारिवारिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको यस स्कुटरमा ३४ लिटरको विशाल अन्डर-सिट स्टोरेज उपलब्ध छ, जसले दैनिक प्रयोगमा निकै सहजता प्रदान गर्दछ ।

फिचरका हिसाबले पनि यो स्कुटर निकै सुसज्जित छ। यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, र टर्न-बाई-टर्न नेभिगेसन जस्ता आधुनिक प्रविधिहरू समावेश छन् । साथै, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्‍यापअराउन्ड टेललाइट, टीएफटी स्क्रिन र सुरक्षाका लागि डिस्क ब्रेक जस्ता सुविधाहरूले यसलाई थप प्रिमियम बनाएका छन्। यद्यपि, एथरको महँगो ‘रिज्टा जेड’ भेरियन्टमा जस्तो टच-स्क्रिन सुविधा भने यस ‘एस’ भेरियन्टमा उपलब्ध छैन ।

नेपाली सडकमा एथर रिज्टा एसले मुख्यतया बजाज चेतक र टीभीएस आइक्युब जस्ता चर्चित इलेक्ट्रिक स्कुटरहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने देखिएको छ । किफायती मूल्य र एथरको स्थापित विश्वसनीयताका कारण यो स्कुटर मध्यमवर्गीय नेपाली परिवारका लागि एक उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्