काठमाडौं । इरानले अमेरिकाबाट आएको ४८ घण्टे युद्धविराम (सीजफायर) प्रस्ताव अस्वीकार गरेको छ। अर्ध-सरकारी फार्स समाचार एजेन्सीका अनुसार उक्त प्रस्ताव बुधबार तेस्रो देशमार्फत तेहरान पठाइएको थियो, तर इरानले त्यसलाई स्वीकार नगरेको जनाइएको छ।

यसैबीच, इरानले शुक्रबार अमेरिकाका दुई लडाकु विमान खसालेको दाबी गरेको छ। तीमध्ये एक एफ–१५ई फाइटर जेट र अर्को ए–१० आक्रमणकारी विमान रहेको बताइएको छ।
एफ–१५ई माथि इरानभित्रै आक्रमण भएको जनाइएको छ। सो विमानका एक क्रु सदस्यको उद्धार गरिएको छ भने अर्का सदस्य अझै बेपत्ता रहेको जानकारी दिइएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार ए–१० विमान पर्सियन गल्फ क्षेत्रमा खसेको हो। यद्यपि, अमेरिकी अधिकारीहरूले भने उक्त विमान दुर्घटनाग्रस्त भएको वा खसालिएको भन्ने विषय स्पष्ट नभएको बताएका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानको आक्रमणमा दुई वटा ब्ल्याक हक हेलिकप्टर पनि क्षतिग्रस्त भएका छन्। ती हेलिकप्टर एफ–१५ई का बेपत्ता पाइलटको खोजी तथा उद्धारका लागि परिचालन गरिएका थिए।
करिब पाँच हप्तादेखि जारी संघर्षमा अमेरिकी विमान खसालिएको यो पहिलो घटना हो। यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी घटनाले इरानसँग हुने सम्भावित वार्तामा कुनै असर नपर्ने बताएका छन्।











